१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काेशी अस्तालबाट रेबिजविरुद्धको खोप निःशुल्क उपलब्ध गराउन शुरू



अ+ अ-

विराटनगरः कोसी अस्पताल विराटनगरमा कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको खोप निःशुल्क लगाउने भएको छ ।

सरकारले कुकुरलगायत जनावरको टोकाइबाट हुने रेबिजविरुद्धको ‘इम्युनोग्लोबुलिन’ खोप निःशुल्क लगाउन भनेपछि आइतबारदेखि सुरु गरिएको अस्पतालका प्रमुख चुमनलाल दासले जानकारी दिनुभयो । हाल यो सेवा काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र निःशुल्क उपलब्ध छ । राजधानीबाहिरका निजी अस्पतालमा उपलब्ध भए पनि त्यसका लागि चर्को शुल्क तिर्नुपर्ने अवस्था छ । यसका लागि अस्पतालबाहिर रु १२ हजारसम्म शुल्क तिर्नुपर्ने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार आयोजित नियमित कार्यालय प्रमुखको बैठकमा डा दासले अस्पतालमा अहिले २४९ जनाको दरबन्दी मात्र रहेको तर नियमित आउने बिरामीको चापले गर्दा उपलब्ध जनशक्तिले सर्वसुलभ सेवा प्रदान गर्न समस्या देखिएको बताउनुभयो । उहाँले अस्पतालमा नियमित एक हजार हाराहारीमा बिरामी आउने गरेका छन् । उपयुक्त दरबन्दी बिना कसरी सेवा प्रदान गर्नु अस्पतालको ठूलो समस्या रहेको उहाँले बताउनुभयो । उहाँले पूर्व क्षेत्रको पहिलो ठूलो यो अस्पताललाई स्तरोत्रति गर्ने कार्य सुरु भएको भए पनि निर्माण कम्पनीले धिमा गतिमा काम गरिरहेको बताउँदै अस्पतालभित्र छिर्न चौतर्फी बाटोहरु रहेकाले यसभित्रको सामान उपकरणको सुरक्षामा पनि समस्या देखिएको छ भत्रुभयो ।

नियमति बैठकमा कार्यालय प्रमुखहरुले आ–आफ्ना समस्या राखिरहँदा जिल्लामा बाटो निर्माण गर्दा बिजुलीको पोल सार्नु पर्ने, जिल्लामा भइरहेको निर्माणका कार्यमा निर्माण कम्पनीले समयमा काम सम्पत्र नगर्ने समस्या रहेको र विराटनगर महानगरपालिकाभित्र फोहोरको समस्या रहेको बताएका थिए । विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत उमेश बस्नेतले विराटनगरको विकास खासै उत्साहजनक नरहेको बताउँदै महेन्द्र चोकदेखि ट्राफिक चोकसम्म भारतको सिक्किमस्थित एमजी रोडजस्तै निर्माण गर्ने कार्य सुरु भइसकेको जानकारी दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जनतालाई केन्द्रविन्दु मानेर दत्तचित भई काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले प्रत्येक कार्यालयले सूचनालाई व्यवस्थित गर्न निर्देशन दिँदै राष्ट्रसेवक कर्मचारीप्रति जनताको नकारात्मक सोचलाई सकारात्मकमा बदल्न सबैले आ–आफ्नो तहबाट राम्रो काम गर्नुपर्ने सुझाव दिनुभयो ।