३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

नेपालमा महिला शिक्षाको नालीबेली

नेपालमा महिला शिक्षाको नालीबेली
अ+ अ-

तारा गड्तौला

नेपालमा महिला शिक्षाको चर्चा गर्दा प्राचिनकालमा आमा र सासुले छोरी र बुहारीलाई घर व्यवहारका महिलाले गर्नु पर्ने घर गृहस्थीका लागि आवश्यक कुरा, कुलाचार, सामाजिक रीति तथा कर्तव्यका विषयमा सिकाउँदै जाने प्रक्रियाबाट महिला शिक्षाको सुरुवात भएको पाइन्छ । त्यसपछि शिक्षामा वर्णाश्रम व्यवस्थाको प्रादुर्भाव भयो जसअन्तर्गत वैदिक शिक्षा प्रणाली प्रचलित थियो । वैदिक कालमा नेपाली महिलाको अवस्था निकै उच्च रहेको तथ्य ऐतिहासिक ग्रन्थमा उल्लेखित छ किनकि वैदिक कालमा स्त्रीहरु पनि वेदाध्ययनबाट वर्जित थिएनन् । उनीहरु पनि व्रह्मचारिणी भई वेदाध्ययनबाट ब्रम्हवादिनी भएर बस्न सक्दथे । छात्राबासमा अलग व्यवस्था हुन्थ्यो । अध्ययन समाप्त गरी गृहस्थाश्रममा प्रवेश गर्ने महिलालाई सदोवधु र सन्यास लिने महिलालाई ब्रह्वादिनी भनिन्थ्यो । गाग्री, मैत्रेयी यिनै खालका विदुषी थिए । वौद्व शिक्षा प्रणालीमा पनि पारिवारिक बन्धन तोडेर भिक्षु बनेपछि महिला शिक्षा ग्रहण गर्न योग्य हुन्थे ।

उत्तरवैदिक कालमा आइपुग्दा बालविवाहको प्रचलन बढ्नुका साथै महिला शिक्षामा ह्रास आएको पाइन्छ । स्मृतिकालमा महिलाको अवस्थालाई केलाउँदा त्यस समयमा लैङ्गिक विभेदको स्थिति सुरु भएको कुरा मनुको उक्तिबाट थाहा हुन्छ । मनुले तत्कालीन समयमा नारीको हैसियत बारे चर्चा गर्दै भनेका छन ‘‘महिला अविवाहित अवस्थामा बाबु र दाजुभाइको नियन्त्रणमा रहनु पर्दछ । विवाहपछि लोग्नेको र विधवा भएपछि छोराको नियन्त्रणमा रहनु पर्दछ ।’’ किराँत काललाई नेपाली संस्कृतिको उत्पतिकाल मानिन्छ तथापि त्यस कालको शिक्षा बारे यकिन गर्न सकिएको छैन । लिच्छविकालमा शिक्षालाई राज्यको ऐच्छिक दायित्वका रुपमा लिइएको थियो ।

त्यसैले सर्वसाधारण जनता कमै मात्र शिक्षित हुन्थे । भृकुटी तिब्बत जाँदा उनले बुद्वका मुर्तिका साथै वौद्व दर्शनका विद्वान शीलमञ्जुलाई लगेकी थिइन् । भृकुटीको तिब्बत प्रस्थानबाट भोटमा वौद्व साहित्य र वौद्व शिक्षाको प्रचार प्रसारमा यथेष्ट विकास भएको कुरा इतिहासमा उल्लेखित छ । मल्लकालमा सबैले सर्वसाधारण जनतालाई शिक्षा प्रदान गर्नु राज्यको कर्तव्य हो भन्ने ठानेका थिएनन् तर पनि त्यसकालमा शिक्षा विकासमा केही सहयोग पुगेको पाइन्छ तथापि महिला शिक्षा ओझेलमै थियो ।

मध्यकालीन नेपाल (वि.सं. ९३६ देखि १८२५ सम्म) मा महिला शिक्षा, वैवाहिक स्वतन्त्रता तथा आर्थिक स्तन्त्रता सबै क्षेत्रमा महिलालाई बन्देज गरियो । यसै समयमा ‘सती’ प्रथाले चरम सीमा नाघेको थियो । राजा महाराजदेखि रैतीसम्मका श्रीमती, रखौटी तथा दासहरु पनि सती जानु पर्ने प्रथाको विकास गरियो जसको पुष्टी योगनरेन्द्र मल्लको मृत्युमा ३१ जना रानी सती गएको घटनाले गर्दछ । अनमेल विवाहको प्रचलन पनि त्यसताका कायमै थियो जसका कारण महिला शिक्षाको कुनै गुन्जायसै थिएन ।

वि.सं. १८२५ मा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने कार्यको सुरुवात गरेबाट नेपालमा आधुनिककालको सुरुवात भएको मानिन्छ तथापि त्यस समयमा राज्य एकीकरणतर्फ मात्र शासक वर्गको ध्यान गएको हुँदा शिक्षा विकासतर्फ खासै ध्यान पुग्न सकेन । वि.सं. १९०३ साल असोज २ गते कोतपर्वका कारण जङ्गबहादुर राणा नेपालको प्रधानमन्त्री बनेपछि नेपालमा राणाकालको सुरुवात भयो । जङ्गबहादरले वि.सं. १९१० साल असोज २७ गते थापाथली दरवारको दाखचोकको भूइँतलामा अंग्रेजी प्रारम्भिक स्कुल स्थापना गरे जसबाट नेपालमा औपचारिक शिक्षाको सुरुवात भएको पाइन्छ तथापि महिला शिक्षाको औपचारिक सुरुवात भने विरशमशेरको पालामा (वि.सं. १९४२–१९५८) भारतबाट ठमेल आई बसेकी गङगावाईको ‘BASIC PRIMARY EDUCATION’बाट भएको मानिन्छ ।

यद्यपि दरवार स्कुलको खोजीनीति गर्दैजाँदा थापाथली दरवारमा रानी साहेव तथा मैया साहेवहरुलाई पढाउने व्यवस्था भएको र सो व्यवस्था पछिसम्म कायम रहेको पाइन्छ तर सर्वसाधारण महिलाको लागि शिक्षाको श्रीगणेश गर्ने श्रेय वीरशमशेरलाई जान्छ । त्यसपछि देवशमशेरको पालामा १९५८ साल बैशाख ३० गते ठाउँठाउँमा कन्या पाठशाला खोली उनले महिला शिक्षाको प्रवद्धनमा ठूलो भूमिका निर्वाह गरे । चन्द्रशमशेर प्रभानमन्त्री भएपछि संवत १९८० साल असार २२ गते चार श्रेणी सम्म पढाउने कन्या पाठशाला काठमाडौं, पाटन र भक्तपुरमा खोलेका थिए । ती विद्यालयमा १र१ जना शिक्षिकाको दरबन्दी थियो । ती विद्यालयमा बुनाइ, कताइ र कटाइ आदि सिकाइन्थ्यो भन्ने कुरा ललितपुर कन्या पाठशालामा शिल्प विद्या सिकाउने शिक्षिका ललित कुमारीको नाम निजामती किताबखानामा भेटिएको छ ।

जुद्धशमशेरको पालामा (वि.सं. १९८९–२००२) वि.सं. १९९० सालमा S.L.C. परीक्षा वोर्डको गठन भयो । यस अन्तर्गत पहिलो S.L.C. परीक्षा १९९० साल पौष महिनाको अन्तिम हप्तादेखि सुरु भएको थियो जसमा ३३ छात्र र १ छात्रा सविना कुमारी देवीले फारम भरेको थिइन तर उनी परीक्षामा अनुपस्थित भइन् । संवत २००३ सालको वार्षिक प्रवेशिका परीक्षामा जनरल व्रह्मशमशेरकी सुपुत्री लेखराज्यलक्ष्मीले सर्वप्रथम नेपालको S.L.C. पास गर्ने महिला भनी गोरखापत्रले २००३ साल वैशाख १८ गतेको सम्पादकीय समेत लेखेको थियो । यद्यपि २००२ सालमा प्रभाराज्यलक्ष्मीदेवी राणाले S.L.C. पास गरेकी र उनी S.L.C. पास गर्ने प्रथम महिला हो भनी कतिपय पुस्तकमा उल्लेखित छ ।

वि.सं. २००४ सालमा प्रधानमन्त्री पद्मशमशेरले पद्मकन्या विद्याश्रम खोलिदिएर महिलालाई अंग्रेजी शिक्षाको ढोका खुला गरिदिएका थिए । संवत २००७ साल भाद्र १६ गते पश्चिम फाँटको पहिलो मोहन कन्या मिडिल स्कुल उद्घाटन भएको थियो । स्कुलको प्रधानाध्यापक मल्लिका भट्टराई थिइन् । उद्घाटन समारोहमा महिलाहरुलाई हौसला दिन प्रत्येक वर्ष रु १० पुरस्कार दिने कुरा एक स्थानीय महिलाले सुनाएकी थिइन् । जनस्तरमा कन्या मन्दिर र सहशिक्षाको प्रथम स्कुल शान्तिनिकुञ्ज विद्यालय पनि २००४ सालमा खुलेको थियो । बिस्तारै बिस्तारै सहशिक्षाको प्रचलन बढ्दै गयो । यद्यपि वि.सं. १९९५ मा विराटनगरको आदर्श विद्यालयमा सहशिक्षा चलेको कुरा वि.सं. १९९५ साल कार्तिक २६ गतेको गोरखापत्रको छात्रछात्रा भन्ने शब्दबाट प्रष्ट हुन्छ ।

२००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्रको स्थापना भयो । त्यसताका नेपालको कुल साक्षरता प्रतिशत २५ थियो भने महिलाको साक्षरताको स्थिति गणना गर्ने अवस्थामै थिएन । २००७ साल पछि देशभर विद्यालय खोल्ने लहर चल्यो । २०११ साल जेठ १ गते शुक्रवार प्रकाशित नेपाल अधिराज्यका डिभिजनल इन्सपेक्टर अन्तर्गतका स्कुलको तालिकामा ६५ वटा हाइस्कुल पुगेको देखिन्छ (२००७ साल अघि २२ वटा अङ्ग्रेजी हाइस्कुल थिए) । ती मध्ये निम्न चार वटा महिलाहरुका लागि मात्र खोलिएका थिए ।
१. कान्तिइश्वरी राज्यलक्ष्मी हाइस्कुल
२. मदन मेमोरियल गल्स हाइस्कुल
३. शारदा बालिका विद्यालय, धरान
४. कन्या हाइस्कुल, धरान

२००७ सालपछि नेपालमा शिक्षा विकासका लागि योजनावद्ध प्रयासको थालनी भयो । वि.सं. २००९ सालमा सरदार रुद्रराज पाण्डेको अध्यक्षतामा ४६ सदस्यीय ‘नेपाल राष्ट्रिय शिक्षा योजना आयोग’ गठन भयो, जसले वि.सं. २०११ मा ‘नेपालमा शिक्षा’ नामक प्रतिवेदन नेपाल सरकार समक्ष पेश ग¥यो । उक्त प्रतिवेदनमा शिक्षाका राष्ट्रिय उद्देश्य अन्तर्गत शिक्षा देशव्यापी हुनुपर्ने, शिक्षा निशुल्क हुनु पर्ने, शिक्षा राष्ट्रिय हुनु पर्ने, प्रौढ शिक्षा सबैलाई प्राप्य हुनुपर्ने लगायत १४ वटा राष्ट्रिय उद्देश्य तय गरिएको थियो । जसले गर्दा देशमा शिक्षामा व्यापकता ल्याउन मद्धत गरी प्रत्यक्ष अप्रत्यक्ष रुपमा महिला शिक्षाको प्रवद्र्धनमा मद्धत पुग्यो

वि.सं. २०२८ सालमा ‘राष्ट्रिय शिक्षा पद्धतिको योजना’ लागु भयो । उक्त योजनालाई शिक्षा सम्बन्धी क्रान्तिकारी योजनाका रुपमा लिइन्छ । उक्त योजनालाई तिन चरणमा गरेर ७५ वटै जिल्लामा लागु गरिएको थियो, जसले शिक्षामा महिलाको पहुँच बढाई महिला शिक्षाको विकासमा ठूलो मद्दत पु¥यायो । २०२९ सालमा शिक्षा तथा समाज कल्याण मन्त्रालय अन्तर्गत महिला शिक्षा परियोजना एकाइको स्थापना भयो । त्यसलाई २०५० सालमा महिला विकास शाखामा परिणत गरियो । २०५२ साल असोज ६ गते महिला तथा समाज कल्याण मन्त्रालयको स्थापना भयो र २०५७ मा बालवालिका थप भई हाल मन्त्रालयको नाम महिला बालवालिका तथा समाज कल्याण मन्त्रालय रहेको छ, जसले पनि महिला तथा वालवालिका विभाग (स्थापना २०५७ असार २६) र प्त्येक जिल्लामा रहेका महिला तथा वालवालिका कार्यालय मार्फत महिला विकार तथा चेतना अभिवृद्धिका विविध कार्यक्रम सन्चालन गरी महिला शिक्षा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पाइन्छ ।

वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना भयो । त्यसपछि वि.सं. २०४७ फागुन १४ गते राष्ट्रिय शिक्षा आयोग गठन गरियो । उक्त आयोगले तत्कालीन शिक्षा प्रणालीको विस्तृत अध्ययन गरी भावि शिक्षा प्रणालीको स्वरुप तय गरी २०४९ असार १३ गते सरकार समक्ष प्रतिवेदन बुझायो । उक्त प्रतिवेदनले शिक्षाका राष्ट्रिय उद्देश्य, संरचना, संगठन लगायतका अन्य धेरै विषयमा सिफारिस तथा सुझावहरु प्रस्तुत गरेको थियो, जसले प्रजातान्त्रिक प्रणाली अन्तर्गत शिक्षा व्यक्तिको अधिकारका रुपमा रहने मान्यता स्थापित गरी महिला शिक्षाको विकासमा ठूलो फड्को मार्न मद्धत ग-यो ।

त्यस्तै वि.सं. २०५५ सालमा एक उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भयो । यसले पूर्वप्राथमिक, प्राथमिक र माध्यमिक विद्यालयमा कम्तिमा १ जना महिला शिक्षक अनिवार्य रुपमा नियुक्त गरिने र माथिल्ला तहमा शिक्षक भर्ना गर्दा महिलालाई प्राथमिकता दिने प्रतिवद्धता ग-यो ।

वि.सं. २०५६ सालमा अनौपचारिक शिक्षा केन्द्रको स्थापना भयो, जसले अनौपचारिक ढंगबाट महिला शिक्षाको विकासमा ठूलो टेवा पु¥याउँदै आएको छ । यस केन्द्रले १५–४५ वर्षका निरक्षर पौढ महिलालाई महिला शिक्षा प्रथम र दा्स्रो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सन् १९९० मा थाइल्याण्डको जोमतिन सहरमा भएको विश्व सम्मेलनले ‘सबैका लागि शिक्षा’ नामक नारालाई अघि सारेको थियो, जसमा नेपालले पनि प्रतिवद्धता जनाई सबैका लागि शिक्षा कार्यक्रम अन्तर्गत विविध कार्यक्रमहरु सञ्चालित छन् जसले पनि महिला शिक्षा विकासमा टेवा पु¥याएको पाइन्छ । यिनै र अन्य विविध औपचारिक तथा अनौपचारिक प्रयासका कारण आज नेपाली महिलाहरुको शैक्षिक स्थिति क्रमिक रुपमा सुदृढ हुँदै आएको कुरा निम्न तथ्यबाट प्रष्ट हुन्छ ।

वि.सं. २०३८ – १२५
वि.सं. २०४८ – २४.७५
वि.सं. २०५८ – ४२.८५
वि.सं. २०६८ – ५७.४५
माथिको तथ्याङ्कलाई विश्लेषण गर्दा नेपालमा महिला शिक्षाको क्रमिक विकास भएको देखिए तापनि हामीले यतिमै सन्तोष मान्ने अवस्था छैन किन कि आधा आकाश ढाक्ने महिलाहरु जवसम्म शिक्षित र चेतनशील हुन सक्दैनन तबसम्म परिवार समाज र राष्ट्रको चौतर्फी विकास सम्भव हुँदैन र हामीले परिकल्पना गरेको सम्मुन्नत नेपालको लक्ष्य पुरा हुन सक्दैन । त्यसैले महिला शिक्षा तथा साक्षरताको अवस्थालाई शतप्रतिशत पु¥याइ राष्ट्रको चौतर्फी विकासको मार्ग प्रसस्त गर्नका लागि सम्पूर्ण सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्था नागरिक समाज, समुदाय, घरपरिवार र व्यक्ति स्वयम् समेतले प्रायास गर्नु पर्ने टड्कारो आवश्यकता रहेको छ ।

(लेक्चरर ग्रामीण आदर्श बहुमुखी क्याम्पस, नेपालटार)