१५ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन प्रवद्र्धन कोष सञ्चालन कार्यविधि स्वीकृत गर्दै काठमाडौँ महानगरको ७१ औँ कार्यपालिका बैठक सम्पन्न



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘पर्यटन प्रवद्र्धन कोष सञ्चालन कार्यविधि ०७८’ स्वीकृत गरेको छ । मंगलबार राष्ट्रिय सभागृहमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७१ औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो । 

आर्थिक वर्ष ०७५/०७६ मा होटल व्यवसायीहरुले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको हो । त्यो वर्ष कोभिडका कारण होटल व्यवसायमा समस्या थियो । त्यसैले महानगरले आर्थिक ऐनमार्फत उनीहरुलाई ६५ प्रतिशत कर छुट दिएको थियो । बाँकी ३५ प्रतिशत दाखिला भएको करको ६५ प्रतिशत रकम कोषमा जम्मा हुनेछ । 

कोष सञ्चालनका लागि काठमाडौँ महानगरका प्रमुखको अध्यक्षतामा महानगरका तर्फबाट ५ र होटल संघ, नेपालका ४ गरी ९ जनाको निर्देशक समिति हुनेछ । वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नु र नीतिगत प्रबन्ध गर्नु समितिको मुख्य काम हुनेछ । त्यस्तै राजस्व विभागका प्रमुखको संयोजकत्वमा संघको प्रतिनिधि भएको कार्यान्वयन समिति गठन गरिनेछ । 
कोषबाट पर्यटन क्षेत्रको प्रवद्र्धन हुने र व्यवसायीको सामूहिक हित हुने कार्यक्रम सञ्चालन गरिनेछन् । 

बैठकमा अध्यक्ष शाक्यले भन्नुभयो, ‘करदाताले तिरेको कर, करदाताकै सेवाका लागि खर्च गर्ने नीतिअनुरुप कोष बनाएका हौँ । यसबाट करको दायरामा आउन बाँकी करदाताहरु पनि दायरामा आउनुहुन्छ र साझा हितको काममा लाग्नुहुन्छ भन्ने अपेक्षा गरेका छौँ ।’

बैठकले प्रमुख शाक्यको संयोजकत्वमा २७ औँ महानगर दिवस मूल समारोह समिति गठन गरेको छ । समितिको सदस्यहरुमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरु हुनुहुन्छ । त्यस्तै पुरस्कार छनोट र अन्य कार्यक्रमका लागि क्षेत्रगत उपसमितिहरु समेत गठन गरिएका छन् ।

बैठकले डाउन सिन्ड्रोम समाज, अटिजम केयर सोसाइटी नेपाल, विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र नेपाल र मस्तिष्क पक्षघात स्वाबलम्बन समूह नेपाल गरी ४ वटा संस्थालाई आर्थिक अनुदान दिने निर्णय स्वीकृत गरेको छ ।