२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षमा न्याय फर्केन



अ+ अ-

काठमाडौँ — शान्ति तथा पुन:स्थापना मन्त्रालयले २०६५ सालमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सम्बन्धी ऐनको मस्यौदा र्‍याडिसन होटलमा कार्यक्रम गरेर सार्वजनिक गर्‍यो । प्रत्यक्ष सरोकारवाला द्वन्द्वपीडित समुदायसँंग मस्यौदाका क्रममा परामर्श गरिएन, सार्वजनिक गर्ने कार्यक्रममा समेत बोलाइएन ।

व्यवस्थापिका संसदमा पेस भएको उक्त मस्यौदा विधेयकमाथि राजनीतिक नेतृत्व एवं संसदीय समितिमा पटक–पटक छलफल भयो । त्यस्ता छलफललाई पछ्याउँदै पीडित समुदाय कहिले पार्टी कार्यालय, कहिले नेताका निवास, कहिले सिंहदरबार गेट त कहिले व्यवस्थापिका संसद बाहिर नेता भेट्न, ज्ञापनपत्र बुझाउन, धर्ना दिन धाउँथे । २०६९ मा अध्यादेश जारी भयो । अध्यादेश विरुद्ध द्वन्द्व पीडितले सर्वोच्च अदालतमा रिट दर्ता गरे । अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भयो र २०७० पुस १८ मा फैसला आयो ।

सर्वोच्च अदालतको फैसला बमोजिम सरकारले २०७० चैतमा १० दिनको म्याद दिएर पीडित समेतको सहभागितामा विशेषज्ञ कार्यदल बनायो । कार्यदलले काम अगाडि बढायो, तर म्याद सकिनु ३ दिन अगावै सरकारले प्रतिवेदन बुझाउन भन्यो । कार्यदलले आठौं दिन सुझाव सहितको प्रतिवेदन बुझायो । प्रतिवेदन सरकारले लत्यायो । तीनदलीय कार्यदलबाट बनाइएको मस्यौदा चैत २६ मा व्यवस्थापिका संसदमा दर्ता भयो ।

सर्वोच्च अदालतले बदर गरेका अभियोजन सम्बन्धी निर्णय गर्ने महान्यायाधिवक्ताको अधिकार मन्त्रालयले हस्तक्षेप गर्ने, पीडितको असहमतिमा समेत आयोगले पीडकलाई क्षमादानका लागि सिफारिस गर्नसक्ने लगायतका अध्यादेशका प्रावधान हुबहु विधेयकमा राखियो ।

सर्वोच्च अदालतको फैसला बमोजिम विधेयकलाई परिमाजर्नन गर्न पीडित समुदायले २०७१ वैशाख ६ गते सभामुख लगायत ६०१ सांसदलाई ज्ञापनपत्र बुझाए । सुनुवाइ भएन । वैशाख १२ मा ऐन पारित भयो । ४४ जिल्लाका २ सय ३४ पीडितले ऐनका केही प्रावधान विरुद्ध २०७१ जेठ २० गते सर्वोच्च अदालतमा रिट दर्ता गरे, सरकारले २०७१ असार २ मा दुवै आयोगमा पदाधिकारी सिफारिसगर्नका लागि सिफारिस समिति बनायो ।

राजनीतिक दलसँगको परामर्शमा सिफारिस समितिले गरेको सिफारिसका आधारमा सरकारले २०७१ माघ २६ मा दुई आयोग गठन गर्‍यो । २०७१ फागुन १४ गते सर्वोच्च अदालतले पीडितको सहमति वा असहमतिमा समेत पीडकलाई मेलमिलापका लागि सिफारिस गर्नसक्ने आयोगको अधिकार, मुद्दा चलाउने सम्बन्धी महान्यायाधिवक्ताको अधिकार कटौती गर्ने लगायतका प्रावधान बदर गर्‍यो ।

सर्वोच्चले हालसम्म गरेका संक्रमणकालीन न्याय सम्बन्धी फैसलाहरूलाई मार्गदर्शक सिद्धान्तका रूपमा अवलम्बन गर्न आदेश दियो । लामो समयदेखि आयोगको माग गर्दै आएका प्रमुख सरोकारवाला द्वन्द्वपीडित समुदायले पीडितका पक्षमा काम गरोस् भन्ने मनसायले आयोगलाई शंकाको सुविधा दिए, आयोगको कामको अनुगमन एवं खबरदारी गर्दै आए । २ वर्षको कार्यकाल ४ वर्षसम्म लम्बिँदासमेत आयोगहरूले पीडितले महसुस गर्ने कुनै काम गर्न सकेनन्, नत पीडित लगायतका सरोकारवालाको विश्वास जित्नसके । यथास्थितिमा आयोगको औचित्य छैन ।

द्वन्द्वरत पक्षहरू सत्ताका साझेदार भए । न्याय माग्ने पीडितचाहिँ प्रतिपक्षीजस्ता भएका छन् ।

स्थापित मूल्य र मान्यता एवं सरोकारवालाको सहकार्यका आधारमा समाधान खोज्नेभन्दा सरकार र राजनीतिक दललेआफ्नो अनुकूलतामा कानुन र आयोग बनाए । समाधानको निश्चित समयसीमा र योजना बनाइएन । सक्रमणकालीन न्याय प्रक्रियामा पीडित लगायतका सरोकारवालाको विश्वास र अपनत्व भएन, प्रक्रिया मानव अधिकार तथा संक्रमणकालीन न्याय मान्यतासम्मत र पीडित केन्द्रित हुन सकेन ।

पीडित समुदायलाई संक्रमणकालीन न्याय प्रक्रियाको सरोकारवालाका रूपमा नभएर सेवाग्राहीका रूपमा हेरियो । माफीको मनसायले बनेको कानुन र आयोगले द्वन्द्वकालीन घटनाहरूको सत्य उजागर गर्न, गम्भीर मानव अधिकार उल्लंघनकर्तालाई दण्डित गर्न, पीडितलाई परिपूरण प्रदान गर्न एवं व्याप्त दण्डहीनता अन्त्य गर्न नसक्ने ठम्याई पीडित लगायतका सरोकारवालाको थियो ।

द्वन्द्वकालमा भएका र द्वन्द्वबाट प्रेरित अपराधलाई संँगै राखेर हेरियो । संक्रमणकालीन न्यायका सम्बन्धमा सरोकारवालाको आ–आफ्नै ढंगका बुझाइ, व्याख्या र अपेक्षा रहे ।

हजारौंको रगत, आँसु र पीडाको जगमा बनेको संविधान अन्तर्गत स्थापित गणतन्त्र अन्तर्गत पटक–पटक राष्ट्रपति, प्रधानमन्त्री फेरिए । तर द्वन्द्व पीडितका समस्या समाधान भएनन् । कतिपय स्थानीय सरकारले पीडितका पक्षमा राम्रो काम गरेका छन् भने कैयौं स्थानीय सरकारले द्वन्द्व पीडितका सवाल आफूहरूको नभएको भनेर बेवास्ता गरेका छन् ।

पीडितहरू सत्य, न्याय, परिपूरण, पहिचानबाट वञ्चित भएका छन् । द्वन्द्वकालीन ज्यादतीबाट नागरिकले भोग्नुपरेको पीडा एवं क्षतिप्रति राज्यबाट क्षमायाचना एवं स्वीकारोक्ति समेत हुन सकेन । विस्तृत शान्ति सम्झौता भएको १२ वर्षमा पनि यौनजन्य हिंसा तथा बलात्कारबाट पीडित नागरिकले प्रारम्भिक उपचारसमेत पाएनन्, कैयौं पीडित औषधोपचारका लागि भौंतारिरहेका छन् ।

६० दिनभित्र गर्ने भनिएको बेपत्ता पारिएका नागरिकको अवस्था सार्वजनिक १२ वर्षमा पनि भएन । द्वन्द्वकालमा कति नागरिक बेपत्ता पारिए, हत्या गरिए, अङ्गभङ्ग भए भन्ने भन्ने यकिन विवरणसमेत राज्यसँंग छैन । आफ्नो स्पष्ट पहिचान खुल्ने परिचयपत्र समेत द्वन्द्वका पीडितले पाउन सकेनन् ।

२००७ सालदेखि नै जनतामाथि ज्यादती तथा गम्भीर मानव अधिकार उल्लंघन गर्ने व्यक्तिहरूलाई जवाफदेही बनाउने काम कहिल्यै भएन । सामन्तवादको अन्त्य र कानुनका अगाडि सबै समान हुने लोकतान्त्रिक व्यवस्था भनिए पनि ज्यादती गर्नेहरू सत्ताको आडमा कानुनमाथि नरहने तर दण्डित हुनु नपर्ने प्रवृत्ति छँदैछ । संक्रमणकालीन न्याय प्रक्रियालाई के घटना घट्यो भन्नेतर्फ मात्र सीमित गर्न खोजियो ।

द्वन्द्वका कारण एवं गम्भीर मानव अधिकार उल्लंघनका घटनाको सम्बोधन एवं फेरि त्यस प्रकारका ज्यादती नदोहोरिने सुनिश्चितताका लागि संरचनागत, कानुनी एवंभेटिङका उपाय अवलम्बन गरिएन । युद्धकालीन मानव अधिकार उल्लंघनका घटनाको सम्बोधन गर्नु साटो संघीयता, गणतन्त्रजस्ता भिन्न विषय–वस्तुलाई संक्रमणकालीन न्यायको पर्यायका रूपमा समेत

चर्चा गरियो ।

नेपालको संक्रमणकालीन न्याय प्रक्रियाले एक चरण पार गरेको छ । तर द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटना एवं प्रवृत्तिको सम्बोधन हुन सकेन । द्वन्द्वका घाउ सम्बोधन नभए पटक–पटक बल्झिइरहन्छन् । विद्यमान प्रक्रिया, ऐन र आयोगले समाधान ननिस्कने स्पष्ट भइसकेको छ । विगतका कमी–कमजोरी एवं मनसायबाट पाठ सिकेर संक्रमणकालीन न्याय प्रक्रियाको अविलम्ब पुनरावलोकन गर्नु आवश्यक छ ।

संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार र राजनीतिक दलहरूमा दृढ इच्छाशक्ति चाहिन्छ । उनीहरूले विश्वसनीय वातावरण निर्माण गर्नुपर्छ । यस प्रक्रियाको सफलताका लागि द्वन्द्वपीडित लगायतका सबै सरोकारवालाको सहभागिता र अपनत्व सुनिश्चित हुनुपर्छ । सबै सरोकारवालाको आपसी सहभागितामा संक्रमणकालीन न्यायका असल अभ्यास, स्थापित सिद्धान्त अनुशरण गर्नुपर्छ ।

यसका विभिन्न पक्षबीच भएका सन्धि–सम्झौता, सर्वोच्च अदालतका फैसला एवं मान्यताका आधारमा सत्य उजागर, विस्तृत परिपूरण नीति, संस्मरण, पुन:स्थापना, मेलमिलाप, अभियोजन, फेरि नदोहोरिने सुनिश्चितताका सम्बन्धमा समान बुझाइ र संक्रमणकालीन न्यायको समग्र मार्गचित्र निर्माण गर्नुपर्छ । त्यही मार्गचित्रका आधारमा समयसीमा सहितको स्पष्ट कार्ययोजना बनाउनुपर्छ । सबै सरोकारवालाको सहमतिमा आवश्यक ऐन–कानुन निर्माण गर्नुपर्छ । संक्रमणकालीन न्यायको अवधारणा अनुसार काम गर्नसक्ने विश्वसनीय, सक्षम, स्वायत्त, निष्पक्ष, पारदर्शी आयोग बनाउनुपर्छ । (साभार कान्तिपुर दैनिक)

लेखक द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष हुन् ।