१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्टावक्रगीताको व्याख्यासहितको नेपाली अनुवाद सार्वजनिक



अ+ अ-


काठमाडौँ, १० मङ्सिर (रासस) – संस्कृत र नेपाली साहित्यका अध्येता प्राध्यापक शिवगोपाल रिसालद्धारा विशेष विवरणसहित नेपाली भाषामा अनुवाद र व्याख्या गरिएको ‘अष्टावक्रगीता’ पुस्तक सार्वजनिक भएको छ ।
पशुपतिनाथ क्षेत्रमा आइतबार आयोजित एक विषेश समारोहमा महेश सन्यास आश्रम, देवघाटका स्वामी मधुसुधनानन्द गिरीले सो पुस्तक सार्वजनिक गर्नुभएको हो ।
संस्कृत भाषामा रहेको राजा जनक र ब्रह्मर्षि अष्टाबक्रको सम्वादलाई प्राध्यापक रिसालले नेपाली भाषामा अनुवाद गरी त्यसमाथि विशेष टिप्पणीसहितको व्याख्या गर्नुभएको छ । उक्त पुस्तक महेश सन्यास आश्रम, देवघाटले प्रकाशन गरेको हो ।
सो पुस्तकमा मिथिलाका राजा जनक र ब्रह्मर्षि अष्टाबक्रबीचको सम्वाद समेटिएको छ । अष्टाबक्रले राजा जनकको राजसभामा आफ्नो अनुपम विद्धता प्रदर्शन गरेर सो सभामा उपस्थित सबै विद्धानहरुलाई चकित पार्नुभएको थियो ।
यो अष्टाबक्रगीता अरु गीताजस्तो साधनाको क्षेत्रमा भन्दा पनि चिन्तनको दृष्टिले गहकिलो मानिन्छ । मानिसले ज्ञान, सिद्दी र मोक्ष कसरी प्राप्त गर्नसक्छ भन्ने बारेमा ब्रह्मर्षि अष्टाबक्रले सजिलोसँग बाटो देखाउने प्रयत्न गर्नुभएको विद्धतापूर्ण बहसलाई यस पुस्तकमा समेटिएको छ ।
स्वामी मधुसुधनानन्दले सो पुस्तक नेपालीमा अनुवाद गरेर प्राध्यापक रिसालले वैदिक सनातन धर्म तथा संस्कृत वाङ्मयको संरक्षण र सम्बर्धनमा ठूलो गुन लगाउनुभएको बताउनुभयो ।
प्राध्यापक रिसालले आफूले नेपाली भाषी नागरिकलाई पाठ पढाउन नभई ज्ञानी बनाउने उद्देश्यका साथ अष्टाबक्रगीताको नेपाली भाषामा अनुवाद गरी त्यस कृतिको महत्वको विशेष विवरण र व्याख्या समेत गरेको बताउनुभयो ।
यत्रो ठूलो र महत्वको ग्रन्थ नेपाली भाषामा अनुवाद उपलब्ध नभएकोले निकै लामो समयको साधनासहित यो पुस्तक तयार पारेको प्राध्यापक रिसालले बताउनुभयो ।
प्राध्यापक रिसालले नेपाली र संस्कृत वाङ्मयका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएको छ । उहाँले यो सहित ६३ ओटा कृति प्रकाशन गरिसक्नुभएको छ ।