९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित News Polar वर्षाका कारण चितवनका सबै विद्यालय बन्द News Polar च्यासलमा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङद्वारा स्थलगत अवलोकन News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ

वृद्धाश्रमका आमालाई तीजले झन बढाउँछ घर–माइतीको सम्झना

वृद्धाश्रमका आमालाई तीजले झन बढाउँछ घर–माइतीको सम्झना
अ अ+ अ-

चितवन । तीज आउन एक महिनाअघिदेखि गाउँघरदेखि सहरसम्म दर खाँदै रमाइलो गरिरहेका छन् आमा दिदी बहिनी । नारायगढ बजार आसपासका सहरी क्षेत्रका होटल रेष्टुरेन्टमा तीजका कार्यक्रम धुमधाम चलिरहेका बेला नजिकै रहेको देवघाटधामको वृद्धाश्रममा रहेका आमा भने तीज सम्झेर मात्रै बसिरहनुभएको छ ।

अरु समयमा भन्दा ती आमाहरुलाई तीजले निरास बनाउने गर्छ । तीजमा घरमा चेलिबेटी बोलाएर रमाइलो गरेको र आफैँ पनि माइत गएको स्मरण उहाँहरुलाई भईनै रहन्छ । आज दरखाने दिन विगत सम्झँदै उहाँहरुलाई थप भावुक बनाउने गर्दछ ।

देवघाट क्षेत्र विकास समितिले सञ्चालन गरेको देवघाट समाजकल्याण केन्द्र (वृद्धाश्रम) मा आश्रित भइरहनुभएकी मकवानपुर भीमफेदीकी ८८ वर्षीया सुभद्रा पुडासैनीले अरु बेलाभन्दा चाडपर्वका बेला बढी पोल्ने गरेको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “दुःख पर्दा र चाडपर्व आउँदा आफन्त कोही हुँदैन । सम्झेर मात्रै बस्ने हो”, पहिले पहिले छोरी र इष्टमित्रलाई बोलाएर दर खुवाएको सम्झँदै उहाँले भन्नुभयो, “अहिले त मलाई तीज सुन्दा पनि नरमाइलो लाग्छ ।”

कान सुने पनि आँखा नदेख्ने भएकाले संसार अँध्यारो भए जस्तै लाग्ने उहाँको भनाइ छ । दुखेसो गर्दै पुडासैनीले भन्नुभयो, “अब मैले जे भोगिरहेको छु, मेरा सन्तानले यस्तो भोग्न नपरोस् ।” एक छोरी मात्रै भएकी पुडासैनीका श्रीमान् पहिल्यै बितेपछि रेखदेख नपाएर उहाँ वृद्धाश्रममा आइपुग्नुभएको हो । छोरी र नातिनातिनाले भेट्ने त कुरै छोडौँ फोनसमेत नगर्ने दुखेसो उहाँको छ ।

सोही वृद्धाश्रममा रहनुभएकी सिन्धुलीकी ७२ वर्षीया लक्ष्मीमाया श्रेष्ठ विगत नौ वर्षदेखि चाडपर्व आउँदा निरास भएर यही बसिरहनुभएको छ । उहाँले विगतको स्मरण गर्दै भन्नुभयो, “हाम्रो जातिले तीज नमनाउने भए पनि रमाइलो हेर्न गइन्थ्यो ।” खानपिनमा रमाउने गरेको विगतलाई सम्झँदै उहाँले अहिले कारागारमा बसेजस्तै भएको गुनासो गर्नुभयो । उहाँले थप्नुभयो, “अरु बेला जेनतेन ठिकै हुन्छ, चाडपर्वमा निकै नरमाइलो लाग्छ ।”

श्रीमान् सानैमा बितेपछि दाजुभाउजुले नहेरेर विरक्तिँदै वृद्धाश्रम आइपुग्नुभएकी श्रेष्ठ तीजसँगै पर्व आउने भएकाले अबका दिनले घर सम्झाउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ जे छ, त्यसैमा रमाउनुबाहेक केही छैन ।”

लमजुङकी ७१ वर्षीया शान्ति घिमिरे श्रीमान्सँगै आश्रममा बस्दै आउनुभएको छ । सन्तान नभएका उहाँहरुको बुढेसकालसँगै वृद्धाश्रममा बितिरहेको छ । उहाँले भन्नुभयो, “हरेराम भन्दै भगवान्को नाम जपेर चाडपर्व मनाउँछौँ । आफन्त कोही छैनन्”, उहाँले थप्नुभयो, “तीजमा रमाइलो गर्ने र रमाइलो हेर्ने हाम्रा दिन गए ।”

पाल्ने मान्छे नभएर वृद्धाश्रम आएका आफूहरुलाई पर्वको खासै मतलब नहुने गरेको उहाँको भनाइ छ । सँगसँगै रहेका एकअर्काले विगतका पीडालाई साटासाट गरेर चित्त बुझाउने गरेको उहाँ बताउनुहुन्छ ।

पोखराकी दुर्गा लामिछाने अहिले ७३ वर्षमा हिँडिरहनुभएको छ । परिवारमा कोही नभएपछि आठ वर्षदेखि उहाँ यहाँ हुनुहुन्छ । अविवाहित लामिछानेको बुबाआमा बितेपछि साहाराविहीन भएर यहाँ आइपुग्नुभएको हो । उहाँले गहँभरि आँसु पारेर भन्नुभयो, “तीज भन्नेबित्तिकै आमा, आफन्तलाई सम्झना हुन्छ”, उहाँले थप्नुभयो “अब त मीठोचोखो खान पनि स्वास्थ्यले साथ दिदैन, चाडपर्व नआइदिए हुन्थ्यो भन्ने लाग्छ ।”

वृद्धाश्रममा ३३ वृद्धवृद्धा छन् । सरकारले सञ्चालन गरेको भए पनि वृद्धाश्रममा रहेकालाई वर्षभरि नै दाताहरुले विभिन्न अवसरमा सहयोग गर्ने गरेका छन् । जन्मदिन, विवाहको दिन, पुण्य तिथि पारेर खान खुवाउने, कपडा दिने गरेका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरे पर्वका अवसरमा घर सम्झना नआउने गरी विशेष खानपानको व्यवस्था गर्ने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वृद्धवृद्धाको स्वास्थ्यलाई हेरेर पर्वमा विशेष खानाको व्यवस्था गर्दछौँ ।” यहाँ जतिसुकै राम्रो गरे पनि तीजमा आमाहरुलाई घर र माइतीको सम्झना भने आई नै रहने गरेको उहाँको भनाइ छ ।