७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी

अराजक प्रधानमन्त्री

अराजक प्रधानमन्त्री
अ+ अ-

किशाेर नेपाल

प्रधानमन्त्री केपी शर्मा ओलीका विगत केही दिनका गतिविधि निकै अराजक प्रकृतिका देखिएका छन् । पहिलो त सामाजिक सुरक्षाको छाता ओढेर जे–जसरी उनका तस्बिर छापिएका पोस्टर सडकछेउका पोलपोलमा झुन्ड्याइयो, त्यो आफैँमा अर्घेलो थियो । यो कदाचित् सही काम थिएन । प्रधानमन्त्रीको पूर्ण जानकारीमा भएको यस घटनालाई प्रम ओलीले रोक्न नसक्ने अवरोध कतै थिएन ।

उनका पक्षमा भएको यो कृत्य जनताका आँखामा नराम्रोसँग बिझायो । जनता तर्सिए । किनभने, उनी जुन शासन व्यवस्थाअन्तर्गत प्रधानमन्त्री बनेका छन्, त्यसले अधिनायकवादका सबै प्रकारका प्रवृत्तिलाई निषेध गर्छ । आगामी चुनावसम्म एमाले र माओवादीकोे राजनीतिक संयोजन कायम रहेमा नेपाल कम्युनिस्ट पार्टीले संसद्का सबै स्थानमा विजय हासिल गरेर संविधान उल्ट्याउन सक्छ ।

यो निकै रोचक कुरा हो, भर्खरै नेपाल टेलिभिजनबाट प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रम ओलीले नेपालका ‘बुद्धिजीवीहरूले’ आफूप्रति प्रति प्रकट गरेका अत्यन्त तल्लो स्तरका असभ्य टिप्पणीबारे चर्चा गरेका छन् । उनी त्यस्ता बुद्धिजीवीलाई सञ्चारमाध्यममा आउनुभन्दा पहिले आपूmसँग छलफल गर्न निम्ता दिएका छन् । किनभने, ती विषयमा प्रधानमन्त्रीले जवाफ दिँदा ती बुद्धिजीवी थला पर्ने सम्भावना हुन्छ ।

प्रम ओली उनीहरूलाई थला पार्न चाहँदैनन् । जनतासँग प्रधानमन्त्री कार्यक्रममा आफ्ना कुरा जनतालाई सुनाउँदै प्रम ओलीले भनेका छन्, ‘उहाँहरूले मसँग एकपटक वादविवाद गर्न अथवा सत्यहरूको सम्बन्धमा बहस गर्न इच्छा गर्नुभएको हो  कि होइन ? उहाँहरूका असलियत मैले बाहिर ल्याएँ भने के हुन्छ ? अलिक विचार गरे हुने हो । मलाई कति मात्र भन्न मन छ भने सरकारकै भत्ता खाने, पेन्सन खाने, सुविधा लिने, अनि जथाभावी गैरजिम्मेवार ढंगले बोल्ने प्रवृत्ति एउटा, अत्यन्त अनुत्तरदायी र झुटो प्रचार गर्ने अर्को ।’

यसै पनि, प्रम ओलीको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा एकजना पनि जनता भेटिँदैनन् । कार्यक्रममा प्रम ओलीको उपस्थितिले आल्हादित भएका प्रस्तोता प्रमलाई जनताका कुरा सुन्ने अवसर नै दिँदैनन् । उनी विभिन्न सन्दर्भ निकालेर प्रधानमन्त्रीसँगआफूलाई जोडिरहेका हुन्छन् । सरकारी टेलिभिजनबाट प्रसारित हुने यो मात्रै यस्तो कार्यक्रम होला, जहाँ प्रधानमन्त्री बोलिरहन्छन् र जनता सुनिरहन बाध्य छन् ।

यो प्रसंग सकिँदा–नसकिँदै उठेको अर्को प्रसंग नेपालमा भएको एउटा अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी छाया सरकार प्रमुख आङ सान सुकीको सहभागिता थियो । यो सम्मेलन यस्तो थियो, जसमा अधिकांश नेपालीले नामै नसुनेका, बढीमा दुई लाख जनसंख्या भएका मुलुक सहभागी थिए । कोरियाको प्रोटेस्टेन्ट चर्चको भ्रातृ संगठनको आयोजनामा भएको यो सम्मेलन, प्रकटमा आर्थिक सामाजिक विषयमा केन्द्रित भए पनि, इभयान्जलिस्ट क्रिस्चियन धर्मको धार्मिक सभा थियो ।

सम्मेलनलाई सफल रूपमा सम्पन्न गराउन प्रम ओली सामान्य मानिससरह अहोरात्र सोल्टी होटेलमा खटिएका समाचार प्रकाशित भएका थिए । उनको स्वास्थ्य जुन संवेदनशील अवस्थामा रहेको छ, त्यसमा यस प्रकारका गतिविधि वर्जित हुन्छन् । यो हामीले भनिरहनुपर्ने कुरा होइन । प्रधानमन्त्रीको सुस्वास्थ्यका लागि सरकारी संयन्त्रहरू आवश्यकताअनुसार खटिएका छन् । अहिलेका लागि प्रधानमन्त्रीलाई बिरामी हुने सुविधा प्राप्त छैन । दसैँ–तिहारको धपेडीका कारण बिरामी भएपछि अस्पताल बसेर भर्खर मात्र तंग्रिएका प्रम ओलीले देशप्रतिका आफ्ना दायित्व सम्झिएका होलान् । त्यो उनैले सम्झिने कुरा हो ।

सम्मेलनबाट प्रम ओलीलाई अमेरिकी डलर एक लाख अर्थात् नगद नेरु एक करोडको आर्थिक लाभ भएको छ । व्यक्तिगत हिसाबले यो प्रम ओलीका लागि ठूलै उपलब्धि हो । यो उपलब्धि मात्रै हो, प्रतिष्ठा होइन । किनभने, प्रम ओलीलाई यो पुरस्कार उनले नगरेको काम– विकास र सुशासनका लागि दिइएको छ ।

प्रम ओलीले यी दुवै कामको उल्लेख सबैतिर गरेका छन् । तर, विकासको काम एक पाइला अघि बढ्न सकेको छैन । प्रम ओलीको नेतृत्वमा समृद्धिको उचाइ नाघ्न हिँडेका हामी नेपालीको अवस्था यतिवेला थापाथलीको ट्राफिकमा अलमलिएको भिखारीको जस्तो भएको छ । चारैतिर समृद्धिको छाना टल्किरहेका छन् । त्यसले धर्तीको तातो मात्र बढाएको छ । चारैतिरबाट समृद्धिले घेरिएको भिखारी डराएको छ । ऊ कहालिएको छ ।

विकासकै कुरा गर्ने हो भने देशमा विकास आयोजना पिछडिएका छन् । सरकारले जतिसुकै आश्वस्त गराउन खोजे पनि काठमाडौं उपत्यकामा पानी आपूर्ति सहज बनाउने भनिएको मेलम्ची अर्को दसैँसम्म सुचारु हुन सके धन्य होला । ठूलो उत्साह र तामझामसाथ अघि बढिरहेको तामाकोसी अचानक सुस्त भएको छ । यसको मूल्य मात्र बढेको छैन, सबै कुरा अस्तव्यस्त भएको छ । नेपालले आफैँ बनाउने बुढिगण्डकीको भविष्य निश्चित छैन ।

भारतको जयनगर रेलवे स्टेसनबाट जनकपुरको कुर्थासम्म लिक बिछ्याइएको रेल आगामी विवाहपञ्चमीमा पनि चल्ने सम्भावना देखिँदैन । कुर्थाबाट पर बिजलपुरा कहिले पुग्ने हो, त्योचाहिँ माता जानकीलाई मात्र जानकारी छ । प्रम ओलीका अत्यन्त प्राथमिकतामा परेका केरुङ–काठमाडौं रेलमार्ग र चिनियाँ बन्दरगाहबाट चन्द्रसूर्य अंकित नेपाली झन्डा फहराउँदै कलकत्ता र कोयम्बटुर आउने पानीजहाजको त कुरै नगरे भयो ।

प्रम ओली नेतृत्वको वर्तमान सरकारका अतिरिक्त भार उठाउने काम कर्मचारीतन्त्रले गरेको छ । देशमा अजंगका घटना भएका छन् वा हुने सम्भावना बढेका छन् । निर्मला त ढिलोचाँडो सरकारको विस्मृतिमा पर्ने नै हुन् । सरकारका आर्थिक कारोबारहरू विवादमा पर्न थालेका छन् । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका वेला ‘लाउडा’ सानो काण्ड थियो । पछि यो काण्ड संग्रालियो ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा नेवानिका तत्कालीन सर्वेसर्वा सुगतरत्न कंसाकार वाइडबडीमा ‘झेलको खेल’ नभएको बताइरहेका छन् । तर, उनीहरूको कुरा पत्याउने प्रकारको छैन ।
खरिद–बिक्रीमा कमिसन खुला बजार आर्थिक व्यवस्थाको विशेषता हो । राजनीतिक दलहरूले यसलाई विशेष सुविधाका रूपमा लिएका छन् ।

गरिब र निमुखा सामान्य जनताका लागि भने यो कलविष हो, तीतो र प्राणघातक । तेत्तीस किलो सुनको खेल जारी रहेको छ । वैदेशिक रोजगारीमा जानेका लागि सरकारले जे–जे आश्वासन दिए पनि समस्या यथावत् छन् । बजारमा महँगी बढेको छ । ०४७ को अन्तरिम सरकारका अर्थमन्त्रीबाहेक नेपालका कुनै पनि अर्थमन्त्रीले अहिलेसम्म साँचो बोलेको थाहा पाइएको छैन । यो अवस्थामा देश कसरी चलिरहेको छ ? कसले भन्न सक्छ ?

फुट्न खोजेको ज्वालामुखीमाथि बसेका प्रम ओली चियोचर्चोको राजनीति गर्न थालेका छन् । प्रम ओलीले सोझै भनून्, यी बुद्धिजीवीले मेरा विरुद्ध अपमानजनक कुरा गरेका छन् । उनलाई थाहा छ, उनको शौर्य र प्रत्युत्पन्नमतिको तारिफ गरेर नथाक्ने बुद्धिजीवी उनीविरुद्ध बोल्न थालेका छन् । नेकपाभित्रै पनि उनको राप र ताप मलीन हुँदै छ । प्रम ओली अहिले एउटा यस्ता सरकार प्रमुख भएका छन्, जो अराजक छन् । प्रधानमन्त्रीलाई अराजक बन्ने सुविधा हुन्छ कि हुँदैन ? यसको निक्र्योल बुद्धिजीवीले नै गरून् ।

(साभार नयाँ पत्रिका दैनिक)