४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सङ्कटमा बोटे जातिको पेशा

सङ्कटमा बोटे जातिको पेशा
अ+ अ-


दमौली । तनहुँको व्यास नगरपालिका–१० बोटेटारका स्थानीय बोटे जातिको पेशा सङ्कटमा पर्दै गएको छ । नदीको पानीलाई जीविकोपार्जनको प्रमुख माध्यमका रूपमा प्रयोग गर्दै आएका बोटे जाति अहिले पेशा नै सङ्कटमा परेपछि रनभुल्ल अवस्थामा छ ।

समयको विकास क्रमअनुसार नदीमा पुल बनेपछि यो जातिले डुङ्गा चलाउने पेशाबाट अलग्गिनुप¥यो । सुन छान्ने काममा लाग्ने समय र त्यसबाट प्राप्त हुने प्रतिफलबीच निकै अन्तर पर्न थालेपछि उनीहरुलाई गुजारा चलाउन गाह्रो परेको हो ।

जीविकोपार्जनका लागि अपनाइएको माछा मार्ने काम पनि नदीमा विष हाल्ने, करेन्ट लगाउने र प्राकृतिक स्रोतहरूको अव्यवस्थित रुपमा ठेक्का लगाउने गर्दा पेशा नै सङ्कटमा पर्न थालेको बताउनुहुन्छ स्थानीय सोमबहादुर बोटे ।

पानीमै संसार देख्ने र पानीमै रमाउने यो जाति यही कारण यतिबेला जीविकोपार्जनकै लागि नजानेका वा थाहा नपाएका पेशामा होमिन बाध्य भएका छन् । कोही बालुवा सङ्कलन गर्ने, कोही इँटाभट्टामा काम गर्ने गर्छन् भने केही महिलाचाहीँ सामूहिक रूपमा कुखुरापालनमा पनि लागेका भेटिन्छन् । उहाँ भन्नुहुन्छ – “बोटे जातिको मुख्य पेशा सङ्कटमा पर्न थालेपछि कतिपयले वैकल्पिक पेशा अपनाएका छन् ।”

यस ठाउँका तीनजना वैदेशिक रोजगारीमा छन् । अरु तीनजना नेपाल प्रहरी र एकजना सरकारी सेवामा छन् । यस गाउँका नौजनाले एसएलसी उत्तीर्ण गरेका छन् । तर पनि स्थानीय विद्यालयमा उनीहरूलाई रोजगारीको अवसर भने छैन ।

बोटेटारमा बस्दै आएका बोटेको पुख्र्यौली थलो तनहुँ सदरमुकाम दमौली हो । यस जिल्लाको सदरमुकाम २०२५ सालमा बन्दीपुरबाट दमौली सर्ने भएपछि सरकारले यो जातिलाई अन्यत्र सारेको ६५ वर्षीय सोमबहादुरले बताउनुभयो । दमौली छाड्दा १६ घर थिए । यतिबेला भने बोटेटारमा मात्र ३२ घर पुगेका छन् ।

यी घरमा करीब १५० जना छन् । दमौली छाड्ने बेला तत्कालीन जिल्ला विकास समितिले उनीहरूलाई बस्ने ठाउँ रोज्न आग्रह गरेको थियो । सधैँ पानीसँग खेल्ने जाति भएको हुँदा उनीहरूले नदी किनारको समथर टार रोजे । त्यही टार उनीहरू बसेपछि बोटेटार भयो । दमौली छाड्दा सरकारले उनीहरूलाई क्षतिपूर्ति स्वरूप प्रतिपरिवार १३ रोपनी जग्गा उपलब्ध गराएको थियो । विडम्बना, आज यो बस्तीमा ३/४ रोपनीभन्दा बढी जग्गा भएका कुनै बोटे पाइन्न ।

उहाँ भन्नुहुन्छ – “नदीमा माछा कम हुँदै गए । सुन पनि पहिले जस्तो पाइन छाड्यो । त्यसैले खानकै लागि जग्गा बेच्नुको विकल्प हामीसँग रहेन । त्यतिमात्र होइन, दमौली छाड्ने बेला सरकारले तत्काल खर्चस्वरूप उपलब्ध गराएको प्रतिघर ६०० रुपियाँ पनि घर खर्चमै सकियो ।”

दमौलीलाई सदरमुकामका लागि खाली गर्न बोटे समुदायलाई नदीको किनारमा सारियो । प्रत्येक घरलाई जीविकाका लागि जग्गा पनि दिइयो । तर, भौतिक पूर्वाधार, खानेपानी, विद्युत्, सिँचाइलगायत सेवा उपलब्ध गराइएन । आखिर जग्गाले मात्र खान दिने त थिएन । त्यसैले जीविकोपार्जनका लागि बाध्य भएर यो समुदायका धेरैले आफूलाई दिइएको जग्गा नै बिक्री गरे ।

स्थानीयवासी जितबहादुर बोटेले घरव्यवहार चलाउन आफूहरूले पहिला निकै सस्तो मूल्यमा जग्गा बेच्नुपरेको तर, अहिले नगरपालिकाले सडक, विद्युत्, खानेपानी जस्ता पूर्वाधारको व्यवस्था गरेपछि भने त्यस्ता जग्गा घडेरी बन्दा आफूहरूलाई निकै घाटा पर्न गएको बताउनुभयो ।

बोटे जातिको मुख्य पेशा माछा मार्ने र नदीमा बालुवा चालेर सुन खोजी त्यसैको भरमा जीविकोपार्जन गर्नु हो । यो जातिको काम नै त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी र कालीगण्डकी नदीको किनारामा बालुवा चालेर सुुन निकाल्नु हो । त्यसबाहेक घर नजीकको मादी नदीमा माछा मार्नु दोस्रो प्राथमिकताको काम हो ।

स्थानीयवासी सुकबहादुर बोटेले नदीमा करेन्ट लगाइदिने र विष हालिदिने गर्नाले माछा पाइन छाडेको बताउनुहुन्छ । त्यसका साथै बाटोघाटो र पुल निर्माण भएसँगै डुङ्गा खियाउने पेशासमेत लोप हुन पुगेको उहाँ बताउनुहुन्छ । उहाँले थप्नुभयो – “विगतमा मानिसलाई नदी वारपार गराए बापत राम्रै आम्दानी हुन्थ्यो । जब मोटर चल्ने बाटो र झोलुङ्गे पुल बने, यससँगै यो पेशा पनि लोप भयो ।”

विसं २०६८ को जनगणनाअनुसार देशभर यो जातिको जनसङ्ख्या १० हजार छ । तनहुँमा चाहीँ २९६ परिवारका १ हजार ७१७ सदस्य बसोबास गर्छन् । त्यसमध्ये महिलाको सङ्ख्या ८२२ छ भने पुरुषको ८८९ छ ।

तनहुँमा बोटे दुईथरी छन् – पानी बोटे र पाखे बोटे । व्यास नगरपालिका–५ को कुमालटारीस्थित बोटेटारमा बस्नेहरू आफूलाई पानी बोटे भन्न रुचाउँछन् । तनहुँबाहेक चितवन, मकवानपुर, उदयपुर, पाल्पालगायत जिल्लामा पनि यो जातिको बसोबास पाइन्छ ।

बोटेहरू आफूलाई पानीसँगै खेल्न जन्मिएको ठान्छन् । पानीसँग नजीकको सम्बन्ध भएको, नदीको किनारमा बस्ने, फरक पहिचान, फरक भाषा भएको जनजातिका रूपमा यिनीहरू परिचित छन् ।

अन्य जनजाति समुदायका झैं यिनीहरूको पनि आफ्नै छुट्टै मातृ भाषा छ । आफ्नो भाषालाई बोटे भाषा नै भन्छन् । तर, हाल आएर भने यिनीहरूको भाषा पनि सङ्कटमा परेको छ । पछिल्लो समयमा यस समुदायका अग्रजहरूले आफ्नो भाषा बोले पनि बालबालिका भने बोल्दैनन् ।

मातृ भाषामा अध्ययन गराउने विद्यालय नभएको र केही बालबालिका नजीकैको बोर्डिङ स्कुलमा समेत अध्ययन गर्न थालेका कारण यो भाषा अङ्गाल्ने क्रम घटेको हो । यद्यपि, यो जातिका पुरुष किरिया बस्दा भने आफ्नो भाषा अनिवार्य बोल्नैपर्ने संस्कारचाहीँ जीवितै देखिन्छ ।

लोपोन्मुख हुने क्रममा रहे पनि भाषा र संस्कृति संरक्षणका लागि कुनै पहल भने भएको छैन । न यो समुदायबाट न त सरकारी तवरबाटै, जसले यो समुदायका अगुवालाई चिन्तित बनाएको कुराकानीका क्रममा प्रस्टिन्छ ।

यो जातिको आफ्नै मुख्य पर्व छैन । हिन्दु धर्मावलम्बीले मान्ने दशैँ, तिहार र तीज नै उनीहरूको पनि मुख्य चाड हो । हिन्दु धर्मावलम्बीका अन्य समुदायले झैं यिनीहरू यी चाड एकापसमा शुभकामना आदानप्रदान गरी रमाइलोसँग मनाउँछन् । त्यसबाहेक उनीहरू चण्डी पूर्णिमा (वैशाख पूर्णिमा) बली दिएर मनाउँछन् । उनीहरूको आफ्नै कूल पूजा पनि हुने गर्छ । यस्तो पूजामा आफ्नो कूल देवतालाई सेतो भाले चढाउँछन् । ठूलो रुखको फेदमा ढुङ्गा राखेर त्यसैलाई देवता मानी पूजा गर्छन् । त्यस्तै वैशाखमा झाँक्री पूजा गर्छन् भने भदौमा वाई पूजा पनि गर्छन् । रासस