४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष

प्रेस स्वतन्त्रताका लागि सन् २०१८ अँध्यारो वर्ष
अ+ अ-

काठमाडौं । साउदी राजपरिवारको आलोचना गरेका कारण असुरक्षित महसुस गरी संयुक्तराज्य अमेरिका निर्वासित साउदी पत्रकार जमाल खशोग्जीको टर्कीको इस्तानबुलमा साउदी राजघरानाकोे उच्चतहको आदेशमै अक्टोबर २ मा विभत्स हत्या भयो । अमेरिकी अखबार दी वासिङटन पोस्टका स्तम्भकार समेत रहेका खशोग्जीको शव तीन महिना बितिसक्दा समेत पत्ता लाग्न सकेको छैन । खशोग्जीको निर्मम हत्यामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन साउदी अरबले अटेर गरिरहेकै छ । हत्याको विरोधमा सबैजसो प्रजातान्त्रिक मुलुकले विरोध गरेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी राजपरिवारमाथिको अनपेक्षित नरम दृष्टिले विश्वभर प्रेस एवं अभिव्यक्ति स्वतन्त्रतामा सङ्कट आउने खतरा रहेको भन्दै राष्ट्रपति ट्रम्पमाथि आक्रोश पोखेका छन् । स्वयम् अमेरिकामै पनि साउदी सरकारसँगको सम्बन्धमै पुनर्विचार गर्नुपर्ने गरी दबाब बढ्दै गएको छ । विश्वभर प्रेसको पहरेदार ठानिएको अमेरिकाकै राष्ट्रपति ट्रम्पले “फेक न्यूज” को कुरा अझै उठाइरहनु भएको छ ।

अमेरिकामै मुख्यालय रहेको कमिटी टू प्रोटेक्ट जर्नालिस्ट (सीपीजे)ले प्रदर्शनका क्रममा पत्रकारलाई गिरफ्तारी र आक्रमण हुने गरेको, सत्तासीनहरुले प्रेसलाई त्रसित पार्ने किसिमका शब्दाडम्बर प्रयोग गरिरहेको तथा सूचनाको पहुँचमा जानीबुझी अबरुद्ध पारिएको भन्दै चिन्ता व्यक्त गरेको छ । अमेरिकी इतिहासमै पहिलोपटक सीपीजेले अमेरिकामा मिडिया मिसन पठाएर प्रेसको अवस्थाबारे जानकारी लिएको छ । अमेरिकी सिनेटर रोबर्ट मेनेन्डेजले सिनेटको विदेश सम्बन्ध समितिको बैठकमा भन्नुभयो, “म छक्कै परेको छु । अमेरिकामा समेत सीपीजेले प्रेसको बारेमा चासो देखाएर मिसन पठाउनुले हामीलाई लज्जित बनाएको छ ।”

लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण औजारका रुपमा प्रेस स्वतन्त्रता रहेपनि पछिल्लो समय प्रेसमाथिको आक्रमण र दबाब घट्नुको साटो अझ बढ्दै गएको छ । अन्तर्राष्ट्रिय प्रेसको अवस्थाबारे सूक्ष्म अध्ययन र वकालत गर्ने संस्थाहरुले सन् २०१८ प्रेस स्वतन्त्रताका दृष्टिबाट अँध्यारो वर्ष रहेको बताएका छन् । “लोकतन्त्रको स्तम्भ” का रुपमा रहेको प्रेसलाई ध्वस्त पार्ने अभियान नै सञ्चालन हुन थालेको भन्दै अन्तर्राष्ट्रिय प्रेस इन्स्टिच्यूट (आइपीआई)ले चिन्ता व्यक्त गरेको छ । सन् २०१८ मा विश्वभर नै प्रेसमाथि शृङ्खलाबद्ध आक्रमण भएको इन्स्टिच्यूटको भनाइ छ । आलोचनात्मक पत्रकारलाई थुन्ने, कानुनी कारबाही गर्ने वा विश्वसनीयतालाई अवमूल्यन गर्ने कार्य भएका छन् । सन् २०१८ मा झण्डै ७८ जना पत्रकार मारिएका छन् । अघिल्लो वर्ष मारिएका पत्रकारका बारेमा पर्याप्त छानबिन र कारबाही भएकै छैन भने दण्डहीनता अझ मौलाएको छ ।

अर्कोतर्फ, फ्रान्समा मुख्यालय रहेको रिपोर्टर्स विदाउट बोर्डर्स ९आरएसएफ० ले सन् २०१८ मा ८० जना पत्रकार मारिएका र ३४८ जना थुनामा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । जेलमा रहेकामध्ये चीनमा ६० जना, इरानमा २८ जना, साउदी अरेबियामा २८ जना, इजिप्टमा ३८ जना र टर्कीमा ३३ जना छन् । सन् २०१८ मा विश्वभर ६० जना पत्रकार विभिन्न समूहको कब्जामा छन् र खासगरी यी घटना सिरिया, यमन, इराक समेतका मध्यपूर्वका देशमा बढी पाइएको छ । कमिटी टू प्रोटेक्ट जर्नालिस्ट ९सीपीजे० का अनुसार विश्वभर अझै ६१ जना पत्रकारको अवस्था अज्ञात छ । दक्षिण एसियाली मुलुकमध्ये भारतमा पाँचजना, अफगानिस्तानमा १३ जना र पाकिस्तानमा १ जना पत्रकारको हत्या भएको छ ।

“मौलिक हकको संरक्षकका रुपमा देखिएका मुलुकहरु समेत लोकतन्त्रको अभिन्न अङ्गका रुपमा रहेको प्रेसलाई क्षति पु–याउन उद्यत रहेको पाइएको छ,” आइपीआईकी कार्यकारी निर्देशक बारबरा ट्रिओन्फी भन्नुहुन्छ, “स्वतन्त्र पत्रकारितामाथिको यस्तो असहिष्णु वातावरणले पत्रकारको जीवन र स्वतन्त्रतालाई जोखिममा मात्र पारेको छैन थाहा पाउने आमजनताको हकलाई समेत कुण्ठित बनाएको छ ।”

प्रेसमाथि भएका आक्रमणका बारेमा आइपीआईको अनुसन्धानबाट के देखिएको छ भने २८ जना कार्यक्षेत्रमा खटिएका संवाददाताहरुको हत्या भएको छ । सशस्त्र द्वन्द्वमा परेर ११ जनाको मृत्यु भएको छ । मेक्सिको र अफगानिस्तानमा पत्रकारमाथि यसवर्ष सबैभन्दा बढी आक्रमण भएको छ । यी दुबै मुलुकमा समान १३–१३ जना पत्रकार मारिएका थिए । सिरियामा ११ जना पत्रकारको हत्या भएको थियो । मेक्सिकोमा ९ जना पत्रकार मारिए । यसवर्ष संयुक्तराज्य अमेरिकाको मेरिल्यान्ड राज्यको स्थानीय “क्यापिटल गजेट” अखबारको कार्यालयमा सन् २०१८ जुन २८ तारिखमा भएको आक्रमणमा चारजना अमेरिकी पत्रकार मारिएका थिए भने दुईजना घाइते भएका थिए ।

पत्रकारमाथि भएका आक्रमणकारीमाथि कानुनी कारबाही पनि यसवर्ष फितलो देखिएको छ । फेब्रुअरीमा स्लोभाकियामा मारिएकी खोज पत्रकार जाँ कुसिआकको हत्याका योजनाकार अझै पत्ता लाग्न सकेको छैन । सन् २०१७ को तुलनामा यस वर्ष पत्रकार हत्याको संख्यामा केही कमी आएको देखिए पनि समग्रमा विश्वभर प्रेस स्वतन्त्रताको अवस्था कमजोर भएको आइपीआईको निष्कर्ष छ । खासगरी, पत्रकारमाथि उत्पीडनमा राख्ने र धम्क्याउने प्रवृत्ति बढ्नुका साथै स्वतन्त्र मिडियामाथि आक्रमणका घटना बढेका छन् । टर्कीमा पत्रकारको अवस्था दुरुह छ । विश्वकै जेलको रुपमा देखिएको टर्कीमा अहिले १५९ जना पत्रकार थुनामा छन् । टर्कीमा सन् २०१८ मा मात्र ४६ जना संवाददाता गिरफ्तारीमा परेका छन्, र अधिकांशमाथि आतङ्कवादसँग सम्बन्धित मुद्दाहरु लगाइएको छ । हङ्गेरीमा स्वतन्त्र मिडियालाई सरकारी सञ्चार माध्यमको प्रभावभित्र पारिएको छ र निजी मिडियालाई सरकारी विज्ञापनबाट बन्चित गरिएको छ ।

म्यान्मारमा रोयटर्स समाचार समितिसँग आबद्ध दुईजना पत्रकारलाई सरकारी गोपनीयता कानुन उल्लङ्घनको आरोपमा दोषी ठहर गरी जेलमा हालिएको छ । बंगलादेश, रसिया र कम्बोडियाले “झुठो समाचार (फेक न्यूज)” सम्बन्धी विवादास्पद कानुन ल्याएर प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने प्रयत्न भएको छ । अफ्रिकी महादेशका उगान्डा र जिम्बाबेमा सुरक्षाफौजले पत्रकारमाथि आक्रमण गरेको पाइएको छ । तान्जानीयामा सम्पादक र अरु पत्रकारलाई स्व–सेन्सरसीप अपनाउन बाध्य पारिएको छ । इजिप्ट सरकारले अदालतको आदेशविपरीत फोटो पत्रकार शकनलाई रिहा गर्न अस्वीकार गरेको छ । यहाँ अल जजीराका मोहमुद हुस्सेनको थुनालाई अकारण थप गरिएको छ । अर्का पत्रकार इस्माइल अलेक्सान्ड्रानीको अवस्था अज्ञात छ ।

आरएसएफका अनुसार विगत दश वर्षको अवधिमा ७०२ जना पत्रकारको हत्या भइसकेको छ । विश्वमा सबैभन्दा खतरनाक मुलुकहरुमा अफगानिस्तान, भारत, सिरिया, मेक्सिको, यमन र संयुक्तराज्य अमेरिका देखिएका छन् । राज्यको चौथो अङ्गका रुपमा लिइने सञ्चार क्षेत्रलाई अझ व्यवस्थित, सुरक्षित र जनउत्तरदायी बनाउन राज्य, सरकार, नागरिक संस्था तथा स्वयं पत्रकारको भूमिका महत्वपूर्ण हुन्छ जसले स्वस्थ जनमत निर्माण गर्न मद्दत गर्नेछ । आगामी वर्ष सन् २०१९ ले प्रेस स्वतन्त्रतामा विश्वभर नै नयाँ बिहानी लिएर आउनेछ ।