५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान खरिदमा एक रुपैयाँ पनि भ्रष्टाचार भएको छैन : कंशकार



अ+ अ-

काठमाडौं । नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारले वाईडबडी जहाज खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार नभएको दाबी गरेका छन् । खरिद प्रक्रिया प्राविधिक विषय भएकोले शीर्ष नेताहरुले नबुझीकन किन प्रतिक्रिया दिएको भन्दै उनले प्रश्न पनि गरे ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महाप्रबन्धक कंशकारले भने,‘यो त प्राविधिक विषय हो । शेरबहादुरजी र बाबुरामजीले किन कुरा उठाउनुभयो ? मलाई आश्चर्य लागेको छ । म यो विषयमा भेटेरै देउवाजीसँग कुरा गर्छु । उहाँले नबुझीकन कसरी बोल्नुभयो ?’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘त्यो त उहाँहरुको कुरा हो । उहाँहरुको कुरा सुन्दा मलाई पनि अचम्म लाग्यो । सर्वोच्च अदालतले एउटा निर्णय दिईसकेको अवस्थामा, उहाँहरुले के कति कारणले त्यसो भन्या होला ? यसमा राजनीतिक कारणपनि हुनसक्छ ।’
लेखा समितिबाट एउटा निचोड आएपछि नेताहरुले पनि ठीकै छ भनेर प्रतिक्रिया दिने उनले दाबी गरे । उनले भने,‘हामी त त्यही आश गरेर बस्ने हो ।’ उनले वाईडबडी खरिद प्रक्रियामा सर्वोच्च अदालतले खरिद प्रक्रिया नियम, कानुनअनुसार नै रहेको भनेर फैसला गरेको स्पष्ट पारे । उनले भने,‘सर्वोच्च अदालतले हामीले सबै प्रक्रिया पूरा गरेर नियम र ऐनअनुसार नै जहाज खरिद भएको हो भनेर २०७४ मंसिरमा निर्णय गरिसकेको छ ।’
२ वटा वाईडबडी खरिदको लागि पहिलो किस्ता पठाउनुअघि संसदको अन्तर्राष्ट्रिय समितिले मन्त्रीसहित आफूहरुलाई बोलाएको कुरा उल्लेख गर्दै उनले भने,‘त्यसपछि एकपटक सार्वजनिक लेखा समितिले पनि हामीलाई बोलायो । त्यतिनै बेला अख्तियारबाट १७ वटा प्रश्न राखेर पत्र आएको थियो । त्यसको पनि हामीले सम्पूर्ण जवाफ पठायौं । त्यसपछि हामीलाई तीन वटा निकायबाट यसो नगर, उसो नगर भनेर पत्र पनि आएन । त्यही भएर हामीले खुरुखुरु काम गर्यौं । विमान खरिद प्रक्रियापनि विकास निर्माणको काम हो ।’

कंशाकारले वाईडबडी जहाज खरिदमा भ्रष्टाचार नभएको दावी गर्दै आफूले पदबाट राजिनामा नगर्ने पनि दाबी गरे । इतिहासमै सबैभन्दा कम मुल्यमा जहाज खरिद गरेको दावी गर्दै उनले बिरोध गर्नेहरुले कुरै नबुझेको बताएका छन् । कंशाकारले प्राबिधिक कुरा नबुझि हल्लाको पछि नलाग्न नेताहरुलाई सुझाव दिएका छन् ।

सर्बोच्च अदालतको आदेशभित्र रहेर बिमान खरिद गरिएको दावी गर्दै उनले संसदको लेखा समितीले पनि ‘क्लिन–चिट’ दिने विश्वास दिलाए । पत्रकारहरुको जिज्ञासामा कंशाकारले घुमाउरो पारामा बिरोध गर्नेहरुको वास्तविकता आफुलाई थाहा भएको भन्दै समय आएपछि भित्रि कुरा बाहिरीने संकेत गरे ।
उनले निगमले १ हजार घण्टा उडान भरेको जहाज भित्र्याएको स्विकार गरेका थिए । यद्धपी उनले उक्त जहाज ‘ब्राण्ड–न्यू’ भएको पनि दाबी गरे । उनले बिमानको भारहन क्षमता २४२ टनको भएपनि हाल २३० टन मात्रै रहेको पनि स्विकार गरेका छन् ।
वाईडबडी खरिद प्रक्रियाबारे अहिले विभिन्न टिकाटिप्पणी भैरहेको उल्लेख गर्दै उनले यो लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भएको दाबी गरे । उनले भने,‘विमान खरिदको बोलपत्र प्रक्रिया ठिक छ भनेर सर्वोच्च अदालतले भनिसकेको छ ।’ अदालतको लिखित फैसला नै पत्रकारहरुसमक्ष पढेर उनले सुनाएका थिए ।

रविन्द्र अधिकारी मन्त्री भएर आएपछि १६ अर्ब रुपैयाँ पठाएको उनले दाबी गरे । उनले भने,‘२०७५ साल असार १३ गते ८ अर्ब र २०७५ साल साउन ९ गते ८ अर्ब गरी १६ अर्ब रकम गयो ।’

भुक्तानीको सवालमा महालेखापरीक्षकले आफूहरुसँग यो विषयमा अहिलेसम्म कुनै छलफल नै नभएको भनेर बोलिसक्नुभएको छ, यो विषयमा स्पष्ट पारिदिनुहोस त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘मन्त्रीज्यूले चाहीँ यो विषयमा अस्ति बोल्नुभएको रैछ, मैले सुनेअनुसार होईन अब सरसल्लाहमा भुक्तानी भएको छ भनेर भनेजस्तो लाग्यो मलाई, तर त्यसमा के हो ? उहाँहरु दुई जनाको कुराको मैले यहाँ जवाफ दिन मिल्दैन । यो त ठूलो मान्छेहरुको विवाद हो । म त सानो मान्छे हुँ ।’

उनले भुक्तानी गर्नुअघि नेपाल वायु सेवा निगमले महालेखापरीक्षकलाई जानकारी भने नगराएको स्पष्ट पारे । उनले भने,‘जानकारी गराएको थिएनौं । तर, महालेखापरीक्षकले सोधेको दुई चार वटा प्रश्नमा हामीले जवाफ दिएका थियौं । तर, भुक्तानी दिने बेलामा महालेखालाई सोध्नुपर्छ भन्ने त छैन । सोध्न जरुरीपनि छैन ।’

वाईड बडी असफल बनाउने तत्वहरु रहेको र त्यसप्रति आफू जानकार रहेको पनि उनले स्पष्ट पारे । यद्धपी उनले कुन–कुन तत्व लागेको हो भनेर नाम भन्न नमिल्ने बताए । आफूलाई विमान खरिद प्रकरणमा ६ अर्बको भ्रष्टाचारको आरोप लागेपनि यसमा कुनै सत्यता नभएको पनि उनले जिकिर गरे । उनले भने,‘यो खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन । शुन्य कमिशनमा खरिद गरिएको हो ।’