१३ भाद्र २०८३, शनिबार
,
Latest
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय शिक्षकको हत्या गरेको आरोपमा ११ जना प्रहरीको नियन्त्रणमा आयोजनाको सुरुङबाट विदेशीसहित २०८को उद्धार बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

अझै ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर



अ+ अ-

रोल्पा । भौगोलिक विकटता र जनचेतनाको अभावमा रोल्पामा अझै पनि ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रोल्पामा संस्थागत प्रसूति दर ५४ प्रतिशत मात्र रहेको देखिएको छ ।

जिल्लामा अझै ठूलो सङ्ख्यामा घरमै सुत्केरी हुने देखिएको छ । जिल्लाका सबै वडामा स्वास्थ्य संस्था नहुँदा गर्भवती घरमै प्रसूति गर्न बाध्य हुने गरेको बताइएको छ । ७२ वटा वडा रहेको रोल्पाका २२ वटा वडा अझै पनि स्वास्थ्य संस्थाविहीन छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाको विशेष परिचालन गरी शतप्रतिशत प्रसूतिलाई संस्थागत गर्ने गरी पहल थालेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य प्रमुख डा सुशील आचार्यले जानकारी दिनुभयो ।

जटिल प्रसूतिका लागि जिल्लामा शल्यक्रिया सेवासमेत सञ्चालन गरिएको छ । जटिल प्रसूति सेवा लिनेको सङ्ख्यासमेत बढ्न थालेको छ । अघिल्लो आर्थिक वर्षमा ४१ जटिल प्रसूति सेवा लिएकामा चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्म यो सङ्ख्या २० पुगेको जिल्ला जनस्वास्थ्य प्रमुख डा आचार्यले जानकारी दिनुभयो ।

जटिल प्रसूतिको शल्यक्रिया गरेका सुत्केरी महिलालाई अनुकूल हुने कोठाको अभाव रहेका कारण केही समस्या देखिने गरेको बताइन्छ । “एकैपटक धेरै शल्यक्रिया गर्नुपर्दा समस्या आउने गरे पनि आन्तरिक स्रोत परिचालन गरेर व्यवस्थापन गरेका छौँ”, डा आचार्यले भन्नुभयो ।

‘‘आमाका लागि खासै समस्या नभए पनि एसएनसियु स्थापना नहुँदा नवजात शिशुलाई असामान्य अवस्था आए उपचार गर्न समस्या हुने गरेको छ’’ डा आचार्यले भन्नुभयो । “एसएनसियु स्थापनाको पहल गरिरहेका छौँ”, डा आचार्यले भन्नुभयो । “केही पूर्वाधार थप तथा एसएनसियुको स्थापना भए जिल्ला अस्पतालबाटै जटिल प्रसूतिको सबै काम हुन्छ”, डा आचार्यले भन्नुभयो ।

जिल्लामा प्रोटोकलअनुसार आर्थिक वर्ष २०७४/७५ मा चारपटक गर्भवती जाँच गर्ने गर्भवतीको सङ्ख्या ४८ प्रतिशत रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा यो सङ्ख्या ४४ प्रतिशत मात्र रहेको थियो । गर्भवती भएको कुनै पनि समयमा स्वास्थ्य संस्थामा भेट गर्ने गर्भवतीको सङ्ख्या भने शतप्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यो सङ्ख्या ९० प्रतिशत थियो ।