१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य नीति यही महिनाभित्रै आउँछ: उपप्रधानमन्त्री यादव



अ+ अ-

काठमाडौं : उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले यही महिनाभित्र स्वास्थ्य नीति ल्याउने जानकारी दिनुभएकाे छ । उहाँले सबै तयारी भैसकेको जानकारी दिँदै भन्नुभयाे, ‘हामी यही महिनामा स्वास्थ्य नीति ल्याउँछौं । अब आउने स्वास्थ्य नीतिले शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई बराबरी प्राथमिकता दिन्छ ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा मन्त्री यादवले मानसिक र शारीरीक दुवै स्वास्थ्य महत्वपूर्ण पक्ष भएको बताउँदै भन्नुभयाे, ‘शारीरिक स्वास्थ्यबारे धेरै अस्पताल छन् । डाक्टरहरु पनि छन् । सहयोग गर्ने संघसंस्थाहरु पनि छन् । तर, मानसिक स्वास्थ्यबारे हामी धेरै पछाडि छौं ।’

उहाँले किशोर किशोरीहरु खासगरी युवाहरुमा मानसिक राेग बढी देखा पर्न थालेकाे भन्दै चिन्ता व्यक्त गर्नुभयाे । यादवले भन्नुभयाे, ‘गरिबी, बेरोजगारी, राजनैतिक अस्थिरता, राम्रो स्वास्थ्य अभाव, शिक्षाको अभाव र भोजनको अभावका कारण मानसिक स्वास्थ्यको समस्या देखिएको छ ।’

नेपालमा भविष्यप्रतिको अनिश्चितताको कारणलेपनि मानसिक स्वास्थ्यको समस्या देखा पर्ने गरेको र विकसित मुलुकमा भने पारिवारिक असन्तुष्टिका कारण देखिने गरेको बताउँदै मन्त्री यादवले मानसिक स्वास्थ्यको क्षेत्रमा सुधार गर्नको लागि ठूलै लगानी गर्नुपर्ने अावश्यकता रहेकाे बताउनुभयाे ।

सरकारी स्वास्थ्य क्षेत्रमा अहिले दर्दनाक अवस्था रहेको जानकारी दिँदै उहाँले भन्नुभयाे, ‘अस्पतालहरु छन्, तर डाक्टहरु छैनन् । ६ वर्षअघि करोडौं लगानी गरेर रौतहटमा अस्पताल बनाइएको रहेछ, पाँच वर्षदेखि छाना चुहिरहेको छ । सिरहाको अस्पतालको पनि त्यस्तै अवस्था छ ।’

जिल्ला र क्षेत्रीय अस्पतालहरुलाई सुधार र स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेकाे बताउँदै उहाँलेभ भन्नुभयाे, ‘राम्रो उपकरण र दक्ष जनशक्ति राख्नुपर्छ । यो तत्काल गर्नुपर्ने आवश्यकता छ ।’

कार्यक्रममा कोशिश नेपालका संस्थापक अध्यक्ष मातृका देवकोटाले मानसिक स्वास्थ्यप्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभएकाे थियाे । उहाँले पछिल्लो समय आत्महत्या गर्नेहरुको संख्या ह्वात्तै बढिरहेकाले यसको रोकथामका लागि सरकारले बेलैमा उपयुक्त कदम चाल्नुपर्ने अावश्यकता अाैंल्याउनुभयाे ।

प्रहरीबाट प्राप्त विवरण सुनाउँदै उहाँले भन्नुभयाे, ‘गत आर्थिक वर्षमा मात्रै पाँच हजारले आत्महत्या गरेका छन् । दिनमा १५ जनाले आत्महत्या गरिरहेका छन् । आत्महत्या महामारीझैं देखिएको छ । सरकारले अब समन्वय गरेर प्रभावकारी कदम चाल्नुपर्छ ।’