२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ महिना नपुग्दै २१ गैँडा प्राकृतिक कारणले मरे



अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा चालू आर्थिक वर्षको हालसम्म २१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्ज विभागले प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि अनुसन्धानका लागि समिति नै गठन गरेको छ ।

यस आर्थिक वर्षमा प्राकृतिक कारणले मरेकामध्ये नौ वटा २५ वर्षभन्दा तलका छन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार प्राकृतिक कारणले मरेकामध्ये निकुञ्जभित्रका २० वटा र जिल्ला वन कार्यालयअन्तर्गत एउटा रहेको छ । निकुञ्जभित्र प्राकृतिक कारणले मरेकामा भाले–भाले जुधेर पाँच, ढिस्कोबाट लडेर एउटा, बच्चा पाउन नसकेर एउटा, दलदलमा फँसेर दुई र बूढो भएर कालगतिबाट ११ वटा रहेका छन् । जिल्ला वनअन्तर्गतको पञ्चकन्या सामुदायिक वनमा जुधेर एउटा गैँडा मरेको छ ।

कालगतिले बाहेक निकुञ्जमा मरेका गैँडा १५ देखि २५ वर्षभित्रका रहेको घिमिरेले बताउनुभयो । गैँडाको औसत आयु ६० वर्ष हुन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले सङ्ख्या बढ्दै गएपछि प्राकृतिक कारणले मर्नेको सङ्ख्या पनि बढ्दै गएको बताउनुभयो । एउटा गैँडाको शवपरीक्षण गर्दा मुटु र कलेजोमा समस्या देखिएको भए पनि अन्यमा कुनै समस्या नदेखिएको उहाँले बताउनुभयो । यद्यपि प्राकृतिक कारणले मर्ने सङ्ख्या बढिरहेकाले यसको खोजी गर्ने काम पनि भइरहेको उहाँले बताउनुभयो । अघिल्लो वर्षको बाढीले गैँडाको समूहलाई तितर बितर बनाएपछि प्राकृतिक कारणले बढी गैँडा मरेको ढकाल बताउनुहुन्छ । गत वर्ष प्राकृतिक कारणले २५ गैँडा मरेका थिए ।

निकुञ्जको तथ्याङ्कअनुसार सन् २०१४ मा आठ, २०१५ मा १५ , २०१६ मा १४ र सन् २०१७ मा २४ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । यसअघि चोरी–शिकारीबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ वटा गैँडा मारिएका थिए । २०७३ साल चैत २५ गतेपछि चोरी–शिकारीबाट भने गैँडा मर्न पाएका छैनन् । चोरी–शिकारीबाट गैँडा नमरे पनि प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढेपछि चिन्ता व्यक्त गरिएको छ । झण्डै दुई वर्षयता चोरी–शिकारीबाट भने गैँडा मारिएका छैनन् । निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा धेरै गैँडा चोरी–शिकारीबाट मारिएका थिए । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा छन् । यसै आर्थिक वर्षमा पुनः गैँडाको गणना हुँदैछ ।