३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित) एमाले महाधिवेशन: अध्यक्षमा ओलीको दोब्बरभन्दा बढीको अग्रता जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनःनिर्माणको बाटोमा आशा जगायोः मन्त्री खनाल शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारको दम्भ: सभामुख महरा र अध्यक्षलाई गाडीको लस्कर



अ+ अ-

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहितका पदाधिकारीले तोकिएभन्दा बढी सवारीसाधन प्रयोग गरिरहेका छन् ।
सभामुख कृष्णबहादुर महरा र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ४/४ वटा गाडी प्रयोग गरिरहेका छन् । त्यस्तै उपसभामुख शिवमाया तुम्बाहाम्फे र महासचिव मनोहरप्रसाद भट्टराईले २/२ वटा गाडी चढिरहेका छन् । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको
ऐनको दफा ७ मा संसद्का पदाधिकारीले एउटा मात्रै सवारी प्रयोग गर्न पाउने व्यवस्था छ ।

सचिवालयका अनुसार सभामुख महराले बा१झ १२६८ जिप, बा१झ ८८८२ स्कोर्पियो (नयाँ), बा२झ २८६३ नं।को कार (गृहबाट प्राप्त) र बा१झ ८४८४ नम्बरको स्कोर्पियो लिएका छन् । सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले संसद् सचिवालयबाट चारवटा गाडी लिएको भए पनि सभामुखले एउटा मात्रै गाडी प्रयोग गरेको बताए । ‘सभामुखज्यूले नियमअनुसार एउटा मात्रै गाडी प्रयोग गर्नुहुन्छ,’ उनले भने ।

सहसचिवस्तरका स्वकीय सचिवले सचिवालयको नियमअनुसार एउटा, निजी सचिवालयमा एउटा र औपचारिक कार्यक्रममा जान गृहले दिएको कालो गाडी प्रयोग हुने गरेको उनले जानकारी दिए ।
त्यस्तै, अध्यक्ष तिमल्सिनाले बा२झ ७८९४ जिप, बा २झ २८७० नयाँ स्कोर्पियो, गृहले उपलब्ध गराएको बा १झ ८२२९ कार र बा२झ १६९१ किया कम्पनीको कार सचिवालयबाट लिएका छन् ।

अध्यक्षका प्रेस सल्लाहकार अशोक पौडेलले चारवटा गाडी लिए पनि अध्यक्षले दुईवटा मात्रै प्रयोग गरेको बताए । उनका अनुसार गृह मन्त्रालयले दिएको कालो गाडी औपचारिक कार्यक्रममा प्रयोग गर्ने, एउटा निजी सचिवालयले प्रयोग गर्ने र दुईमध्ये एउटा अध्यक्षले नियमित प्रयोग गरेको उनले बताए ।

‘अध्यक्षज्यूले चढ्ने एउटा गाडी सर्भिसिङमा पठाउँदा र बिग्रँदा प्रयोग गर्नुहुन्छ,’ उनले भने ।
उपसभामुख शिवमाया तुम्बाहाम्फेले बा२झ १६९० कार र बा२झ २८७३ नयाँ स्कोर्पियो लिएकी छन् । महासचिव मनोहरप्रसाद भट्टराईले ५ वटा गाडी लिएको कर्मचारीको आरोप छ ।

सचिवालयको रेकर्डमा भने उनले बा१झ ८२०६ र बा२झ १६८६ नम्बरको कार लिएका छन् । रेकर्डमा भएका दुईभन्दा अरू गाडी आफूले नलिएको भट्टराईले बताए । ‘मैले दुईवटा गाडी मात्रै लिएको छु,’ उनले भने । पदाधिकारीमध्ये राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले बा२झ २८७४ स्कोर्पियो लिएकी छन् । ‘मलाई एउटा भए पुगिहाल्छ । थप गाडी माग्न गइनँ, हामीसँग छ, लैजानुस् भनेर कसैले दिएका पनि छैनन्,’ उनले भनिन् । अरू पदाधिकारीको जस्तै उनले पनि चार जना रहेको निजी सचिवालय बनाएकी छन् ।

सचिवालयले सभामुख, अध्यक्षसहित पदाधिकारीका लागि थप सवारीसाधन खरिद गर्न २० करोड ३२ लाख रुपैयाँ अर्थ मन्त्रालयसँग मागेको थियो । अर्थले ५ वटा गाडी किन्न ३ करोड रुपैयाँ खर्च गर्न सैद्धान्तिक सहमति दिएको छ ।

अन्य पदाधिकारीलाई आउँदो आर्थिक वर्षको बजेटमा प्रस्ताव गर्न अर्थले सचिवालयलाई पत्र पठाएको छ । ‘पदाधिकारीले अहिल्यै ४/४ वटा गाडी प्रयोग गरिरहेका छन् भने थप गाडी किन किन्नुपर्‍यो ?’ संसदीय समितिका एक सभापतिले भने, ‘हामीले चढ्ने गाडी धकेलेर हिँड्नुपर्ने अवस्थाका छन्, सभामुख र अध्यक्षले चाहिँ गाडीको लस्कर लगाउनुपर्ने ?’

ऐनमा भनिएको छ, ‘सवारीसाधन एक, इन्धन र मोबिल उपलब्ध गराइनेछ ।’ ऐनअनुसार पदाधिकारीले प्राप्त गरेको इन्धन र मोबिलको बिल भौचर बुझाउनु पर्दैन । संसद् सचिवालयले एउटा मात्रै गाडीको मोबिल, पेट्रोलखर्च पदाधिकारीको तलबभत्तामै पठाइदिने गरेको छ । ‘अरू गाडीको तेल खर्च भ्रमण जाँदाको खर्चमा गाभेर लिने गरेको पाइएको छ,’ सचिवालय स्रोतले भन्यो ।

पूर्वकार्यवाहक महालेखा परीक्षक सुकदेव खत्रीले ऐनअनुसार निर्धारण गरिएको र अर्थ मन्त्रालयले बनाएको मापदण्डभन्दा बढी सवारीसाधन प्रयोग गर्नु अनयिमितता भएको बताए । ‘कानुनले तोकेको भन्दा बढी गाडी प्रयोग गर्नु अनियमितता हो । राष्ट्रिय स्रोतसाधनको दुरुपयोग पनि हो,’ उनले भने, ‘कानुन बनाउनेले पालना नगर्नु त भएन । परिवारलाई पनि पुग्ने गरी सवारी लिनु भनेको ठूलो अनियमितता हो ।’ कान्तीपुर दैनीकमा खबर छ ।