१८ माघ २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठेक्कामा लापरवाहीः ढाँटिरहने ठेकेदारलाई कारबाही खोइ ?



अ+ अ-

काठमाडौँ — थापाथली–बबरमहल खण्डमा दुई ठूला अस्पताल छन्– प्रसूतिगृह र नर्भिक अस्पताल । संवेदनशील मानिने अस्पताल क्षेत्रको सडक भने एक वर्षदेखि लथालिंग छ । एम्बुलेन्सलगायत सवारी साधनको आउजाउ मात्रै होइन, पैदल यात्रुलाई पनि उस्तै सकस छ । धूलो र हिलोको मारमा आसपासका फार्मेसी, होटल, रेस्टुरेन्ट, पसलसमेत परेका छन् ।

काठमाडौं महानगरपालिकाले १० महिनाभित्र काम सक्ने गरी २०७७ भदौमा जयधनञ्जय–कँडेल जेभीसँग निर्माण सम्झौता गरेको थियो । बबरमहलदेखि थापाथली चोकसम्म र माइतीघर मण्डलदेखि सेन्ट जेभियर्स कलेज हुँदै प्रसूति गृहसम्मको करिब ३ किलोमिटर सडक कालोपत्र गर्न ४ करोड २२ लाख रुपैयाँ लागत तोकिएको थियो । निर्धारित समयमा काम नसकिएपछि महानगरले ३ महिना म्याद थपेको छ । तर थपिएको म्याद सकिए पनि काम ४० प्रतिशत मात्रै सकिएको छ । ७० लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

सम्झौताअनुसार दुई खण्डको सडक कालोपत्र, दुवैतर्फ कर्ब स्टोन राख्ने, नर्भिक अस्पतालअघि ढल व्यवस्थापन र दुवैतर्फ साइड ड्रेन बनाउनुपर्नेछ । ‘जोइन्ट भेन्चर’ मा ठेक्का भए पनि निर्माणको सबै काम कँडेल निर्माण सेवाले लिएको छ । सेवाका प्रोप्राइटर अर्जुन कँडेलले यसअघि कान्तिपुरसँगको कुराकानीमा असोजभित्र सबै काम सक्ने दाबी गरेका थिए । तर मंसिर पहिलो साता बिते पनि काममा कुनै प्रगति भएको छैन । अस्पताल क्षेत्रमा यात्रुले बढी सास्ती खेप्नुपरेकाले उक्त स्थानमा कालोपत्र गर्ने तयारीमा रहेको कँडेल बताउँछन् । ‘नर्भिक अस्पतालअघि ग्रेडिङ गरेर कालोपत्र गर्न ठिक्क पारिएको छ । फेरि मेलम्चीको पाइप फुटेकाले समस्या भएको हो,’ उनले भने, ‘त्यसैले समस्या भइरहेको छ । यसबारे मेलम्ची खानेपानी आयोजना र वडाध्यक्षलाई जानकारी गराइसकेका छौं ।’

तत्काल करिब २ सय मिटर सडक कालोपत्र गरिने उनले जानकारी दिए । ‘मेलम्ची आयोजनाले पाइप व्यवस्थापन गर्नासाथ बाँकी भागमा पनि कालोपत्र गर्न सुरु भइहाल्छ,’ उनले भने, ‘पाइप लिकेज भइरहेको स्थानमा कालोपत्र गरे टिक्दैन, बदनाम पनि भइन्छ । यो समस्या समाधान भए अबको एक साताभित्र अस्पतालअघिको भाग कालोपत्र गर्न कुनै समस्या छैन ।’ अब भने कुनै विलम्ब नहुने उनको दाबी छ ।

काठमाडौं उपत्यकाभित्र विस्तार थालिएका सडकमा ठेकेदारकै लापरबाहीका कारण निर्माणमा ढिलाइ भइरहेको छ । ठेकेदारले सम्बन्धित निकायलाई ढाँट्दै काम अलपत्र पार्दै आएका छन् । अलपत्र छाडिएका सडकका कारण धूलो र हिलोको मारमा यात्रु र स्थानीय छन् । सबैभन्दा बढी समस्या ललितपुरको ढोलाहिटी–सुनाकोठी–चापागाउँ–प्यागाउँ–लेले–तिलेश्वर–सरस्वतीकुण्ड पुग्ने ९ किलोमिटर सडक खण्डमा छ । यो सडकलाई तीन खण्डमा विभाजन गरी ठेक्का दिइएकोमा दुई खण्ड निर्माणको जिम्मा पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीलाई छ । २०७४ साउन १६ मा ठेक्का सम्झौता भए पनि म्याद सकिइसकेको छ । पहिलो खण्ड सुनाकोठीसम्मको दूरी ३।२ किलोमिटर छ । यसमध्ये २।५ किमि खण्ड ललितपुर–२७ मा र बाँकी गोदावरी नगरपालिका–१२ मा पर्छ ।

अहिले समस्या यही २।५ किमि खण्डमा छ । जसको ठेक्का २०७५ कात्तिक २६ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ जेठ २६ मा दिवा–शैलुङ जेभीले पाएको थियो । शैलुङ सत्तारूढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीको कम्पनी हो । उक्त कम्पनीले गत माघमा गरेको कालोपत्र ४ महिनामै उप्किएको थियो । निर्माण सुरु गर्दा सडक जस्तो थियो, अहिले उस्तै छ । शैलुङ कन्स्ट्रक्सन प्रमुख अधिकारीले गत असोजमा वर्षा रोकिनासाथ काम थाल्ने बताएका थिए । तर अहिलेसम्म अवस्थामा केही सुधार छैन । निर्माणमा कुनै बाधा नहुँदा पनि काम अघि बढेको छैन ।

असोजमै काम थाल्ने भने पनि अहिलेसम्म सुरु नभएको ललितपुर–२७ का अध्यक्ष बाबुराज महर्जन गुनासो गर्छन् । ‘कराउँदा–कराउँदा सोमबारबाट बल्ल गिट्टी ल्याउन सुरु गरेका छन्,’ उनले भने, ‘पटक–पटक ढाँटेकाले अहिले पनि काम सकिएला भन्ने विश्वास त लागेको छैन । बेस हाल्न सुरु गरेकाले काम अघि बढ्छ कि भन्ने झिनो आशा भने छ ।’ दसैंअघि एक–दुई दिन काम गरेजस्तो गरेर निर्माण कम्पनी सम्पर्कविहीन बनेको उनले सुनाए । ‘ठेकेदारले जहिल्यै झुक्याउने काम मात्रै गर्छन् । उनीहरूलाई काम गर्ने यो अन्तिम मौका हो,’ उनले भने, ‘अब पनि काम नगरे विकल्प खोज्छौं भन्दिसकेका छौं ।’

यस्तै समस्या नख्खुखोला–भैंसेपाटी–बुङमती खण्डमा पनि छ । आशिष–बिरुवा–सीएम जेभीले निर्माणको ठेक्का लिए पनि सबै काम बिरुवा कन्स्ट्रक्सनले गरिरहेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७३ असार ३० मा ठेक्का दिएको नख्खुखोला पुलदेखि सोह्रखुट्टेसम्मको ३।५२ किलोमिटर सडक विस्तार २०७५ कात्तिक ३० सम्म सकिनुपर्ने हो । तर अहिलेसम्म ६५ प्रतिशत मात्र काम भएको छ । लागत रकम पनि २८ करोड ६२ लाख ५० हजारबाट बढेर ३० करोड ५ हजार रुपैयाँ पुगिसकेको छ ।

भैंसेपाटी सडकको हालतमा कुनै सुधार नआएको ललितपुर–२५ का अध्यक्ष विष्णुकुमार कार्की बताउँछन् । बरु झन् बिग्रिएको उनले सुनाए । ‘स्थानीयको गाली खाँदै बस्नुपरेको छ । सानो पदको सानो मान्छे परें । जति कराए पनि, जति गरे पनि ठेकेदारलाई तह लगाएर काम लगाउन सकिएन,’ उनले हार मान्दै भने, ‘हाम्रो कुरा बिक्दैन । सबै माथिल्लो निकायबाटै निर्णय हुन्छ ।’ दसैंपछि काम अघि बढाउने कम्पनीले बताउँदै आएका थिए । तर अहिलेसम्म त्यसको छाँटकाँट छैन । सोह्रखुट्टेदेखि बुङमतीसम्मको सडक पनि अझै कालोपत्र भएको छैन । यो सडकको ठेक्का २०७४ साउन ११ मा पप्पु–महालक्ष्मी–वर्ल्डवाइड जेभीले लिएको हो । तर काम भने वर्ल्डवाइडले गरिरहेको छ । हालसम्मको भौतिक प्रगति ७० प्रतिशत मात्रै छ । साँध सिमाना प्रस्ट नहुँदा सडक निर्माणमा समस्या भएको वर्ल्डवाइडको दाबी छ ।

चाबहिल–जोरपाटी–साँखुअन्तर्गत थलीमा पनि उस्तै समस्या छ । जसको ठेक्का बज्रगुरु–बिरुवा–खानी जेभीले लिएको हो । बिरुवा कन्स्ट्रक्सनले मात्र काम गरिरहेको यो खण्डमा हालसम्म ६८ प्रतिशत मात्र प्रगति छ । २०७२ असोज १३ मा सम्झौता भएको यो खण्डको म्याद तेस्रो पटक थपिएको छ । अब थपिने म्याद आगामी चैतसम्म हुनेछ । सुरुमा ४५ करोड ६९ लाख २ हजारमा गरिएको ठेक्काको संशोधित रकम ५० करोड ७१ लाख ४४ हजार रुपैयाँ पुगेको छ । बढी समस्या थली खण्डको ७ सय मिटर सडकमा छ । बिरुवा कन्स्ट्रक्सनले स्थानीयकै अवरोधका कारण काममा ढिलाइ भएको तर्क गर्दै आएको थियो । अहिले जोइन्ट भेन्चरका कम्पनीमध्ये कसले काम गर्ने भन्ने विषयमा प्रश्न उठेपछि काम सुरु हुन सकेको छैन ।

दसैंअघि सडकको जस्तो हालत थियो, अहिले पनि उस्तै रहेको कागेश्वरी मनोहरा नगरपालिका–५ का अध्यक्ष राजाराम पुडासैनीले बताए । ‘निर्माण व्यवसायीको व्यवस्थापन नै परिवर्तन भयो भनेर जानकारी आयो,’ उनले भने, ‘त्यसपछि काम गर्न कोही आएका छैनन् ।’ यो खण्डमा धूलोले गर्दा आवतजावत, व्यापार व्यवसाय गर्नेलाई सास्ती छ । धूलोकै कारण स्थानीयमा घाँटी दुख्ने, रुघाखोकी लाग्ने, छातीमा संक्रमण हुने समस्या देखिएको उनको भनाइ छ ।

पेप्सीकोला–सल्लाघारी सडकको काम पनि ६५ प्रतिशत मात्रै सकिएको छ । उमा एन्ड कम्पनीले निर्माणको जिम्मा लिएकोमा ३ पटक म्याद थपिइसकेको छ । २०७६ पुस २९ मा सक्ने गरी २०७४ असार ३० मा ठेक्का लागेको थियो । ४।५ किमिमध्ये अहिलेसम्म २।५ किमि मात्रै कालोपत्र भएको छ ।

यी सबै सडकमा ठेक्का लगाउने काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी महानन्द जोशी प्रायः खण्डमा काम भइरहेको, केहीमा मात्रै समस्या रहेको दाबी गर्छन् । ‘सबैतिर ठेक्का लिएका निर्माण व्यवसायी हाम्रो सम्पर्कमा छन् । केही खण्डमा जोइन्टमा काम गरिरहेको कन्स्ट्रक्सनमध्यकै अर्कोले काम सुरु गर्न लागेको कुरा पनि आएको छ,’ उनले भने, ‘कोरोना महामारीका काम प्रभावित सबै आयोजनाको चैत मसान्तसम्म सरकारले म्याद थप गरेको छ । त्यो अवधिभित्र पनि काम नसके ठेक्का तोड्नुको विकल्प छैन ।’ यथास्थितिमै काम सम्पन्न गर्ने निर्णय भएकाले अब निर्माण कम्पनीले बहाना बनाउने ठाउँ नरहेको उनको भनाइ छ ।

(कान्तिपुर दैनिकमा समाचार छ)