![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
हेटौंडा । प्रदेश ३ सरकारले स्थानीय तहका कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने निर्णय गरेको छ ।
![](https://newspolar.com/wp-content/uploads/2019/01/chief-minister-office-in-hetauda.jpg)
बिहीबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो ।
अब महानगर कार्यपालिका सदस्यले मासिक १५ हजार, उपमहानगरकाले १३ हजार, नगरपालिकाकाले ११ हजार र गाउँपालिकाकाले ७ हजार रुपैयाँ पाउने भएका छन् । यसअघि महानगरका कार्यपालिका सदस्यले ८ हजार, उपमहानगरकाले ७ हजार ५ सय, नगरपालिकाकाले ७ हजार र गाउँपालिकाकाले ६ हजार रुपैयाँ पाउँदै आएका थिए ।
बैठकले नुवाकोटमा भएको सवारी दुर्घटनामा मृत्यू भएका परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट १/१ लाख रुपैयाँ दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
बैठकले कृषिक्षेत्रको विकासका लागि ७ वटा कार्यविधि पारित गरेको मन्त्री ढुंगेलले बताए । कार्यविधि प्रदेशको भौगोलिक बनावट अनुसार भैंसीपालन, सामूहिक खेती, गाइपालन, चौरी पालन र बोका बाख्रा पालनका लागि बनाइएको प्रवक्ता ढुङ्गेलले बताए ।