८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पानीमा लाग्यो कम्युनिष्ट सरकारको आँखा, २२ दिनदेखि काम ठप्प



अ+ अ-

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनीका सीईओ (प्रमुख कार्यकारी अधिकृत) पाओली पोर्सेलीसहितको टोली नेपाल आउँदैछ ।

आयोजनाको मुख्य ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सीएमसी दि रेभेन्ना) को उक्त टोली आएपछि मेलम्चीमा देखिएको समस्याको समाधानका लागि निर्णायक वार्ता हुने आयोजना स्रोतले बताएको छ ।

तर आयोजनाको काम विगत २२ दिनदेखि ठप्प रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीब्र गतिमा काम भइरहेको भनेर केही दिनअघि भाषण गरेपनि काम ठप्प अवस्थामा छ ।

आयोजनाका उच्च अधिकारीका अनुसार सोमबार फर्किने र वार्ता गरेर बाँकी रहेको मेलम्चीको काम सम्पन्न गर्ने भन्दै ती कम्पनीका कर्मचारीहरू स्वदेश फर्केका हुन् । ‘ठेकेदार कम्पनीका कर्मचारीहरु चाड मनाउन भन्दै पुस २३ मा फर्कने शर्तमा नेपाल छोडेका थिए । ‘आएपछि निर्णायक वार्ता बसेर समाधान निकालिने भनेको छ,’ आयोजना स्रोतले भन्यो ।
अब आयोजनाको काम सम्पन्न गर्न कसरी जाने, के गर्ने भन्ने विषय उक्त वार्ता नै निर्णायक हुने उनको भनाइ छ ।

खानेपानी मन्त्रालयका सहसचिव शंकर सुवेदीले सोमबारदेखि इटालिएन टोली नेपाल फर्कने कुरा भएको बताए ।
‘प्रमुख नै आउने हो कि प्रतिनिधि मात्रै आउने हो त्यो चाहिँ खुलेको छैन’, उनले भने, ‘आउने भनेको छ । आएपछि काम थप अगाडि बढ्न वार्तालाई माध्यम बनाइने छ ।’

क्रिसमस र नयाँ वर्ष मनाउने नाममा देश छाड्न लागेका सीएमसीका कर्मचारीलाई पुस १ गते बेलुका त्रिभुवन विमानस्थलमा पक्राउ गरी राहदानी जफत गरेको थियो । पुस २३ मा फर्केर आउने र आयोजनाको बाँकी काम सम्पन्न गर्ने सहमतिमा इटालियन दूतावासको रोहबरमा उनीहरुलाई आफ्नो देश फर्कन दिइएको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

ठेकेदारले साइट छोडेपछि मेलम्चीको काम २२ दिनेदेखि ठप्प भई अलपत्र अवस्थामा पुगेको छ । मेलम्चीको सुरुङ ढलान एक किलोमिटर बाँकी छ । कंक्रिट लाइनिङको काम (६) मिटर बाँकी छ । इन्टेकको काम पनि पूरा भएको छैन ।

हाइड्रो मेकानिकल गेट बन्द गर्ने काम भइसकेको छैन। ३ ओटा भेन्टिलेसन साफ्टको काम बाँकी नै छ भने पर्मानेन्ट हेडवोक्र्स बनाउँनै बाँकी छ ।

सरकार र सीएमसीबीच लामो समयदेखि क्षतिपूर्ति विवाद चल्दै आएको छ । ठेकेदार कम्पनी सीएमसीले भूकम्प, नाकाबन्दीलगायतका बेला काम हुन नसकेको भन्दै आयोजनासँग ठूलो रकम क्षतिपूर्ति माग्दै आएको थियो ।

सरकार, आयोजना र ठेकेदारका प्रतिनिधि सम्मिलित डिस्प्युट बोर्ड ९विवाद समाधान समिति० ले झन्डै महिना दिनअघि सीएससीलाई मर्का परेको ठहर गर्दै मागदाबी गरेको रकममध्ये ३५ करोड रुपैयाँ क्षतिपूर्ति दिन सुझाएको थियो ।

तीन वर्षभित्र सम्पन्न गरिसक्ने गरी ७ अर्ब ७२ करोडमा लागतमा २०७० असार ३१ गते सम्झौता भएको थियो । तर तोकिएको समयभित्र बन्नुको साटो पटकपटक आयोजना सम्पन्न भएर पानी काठमाडौं आइपुग्ने भाका तोकिएपनि त्यो भाकामै सीमित छ ।

पछिल्लो विवादसँगै मेलम्ची आयोजना अन्योलमै छ । अहिले लागत रकम बढेर ११ अर्ब पुगिसकेको छ भने ठेकेदार कम्पनीले मात्रै ९ अर्ब रुपियाँ लगिसकेको आयोजनाले जनाएको छ ।

सन् २०१३ मा चिनियाँ कम्पनीले मेलम्ची खानेपानी आयोजना निर्माणको ठेक्का लिए पनि चिनियाँ कम्पनीले समयमा काम गर्न नसकेको भन्दै सरकारले इटालियन कम्पनी सीएमसीलाई ठेक्का दिएको थियो ।