१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पराजित



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आजको अन्तिम खेलमा नेपाल युएईसँग पराजित भएको छ । टस जितेर पहिले बलिङ रोजेको नेपाल युएईसँग ४८ रनले पराजित भएको हो । 

दुबईको आइसीसी एकेडेमी मैदानमा युएईले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १२७ रन बनाएको थियो । युएईका लागि चानभी सेनेविरत्नाले सर्वाधिक ५२ रन बनाइन् । छत्तीस बल खेलेकी उनले सात चौकाको मद्दतमा उक्त रन बनाएकी हुन् । उनलाई २० औँ ओभरको चौथो बलमा नेपालकी कविता कुँवरले बोल्ड गरेकी हुन् । यस्तै अन्य ब्याटरमा तीर्था सतीशले ४७ तथा केभिस इगोडागेले २२ रन बनाइन् । 

नेपालका लागि कविता कुँवरले २ तथा सबनम राई, सीता रानामगर र सङ्गीता राईले समान १ विकेट लिए । जवाफी ब्याटिङ गर्न आएको नेपालले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । नेपालका लागि इन्दु बर्मा (१५) र सीता रानामगर (१३) बाहेक कसैले पनि दोहोरो अङ्क बनाउन सकेनन् । 

युएईका लागि समाइरा धरणीधर्काले ४ तथा खुशी शर्मा र कामिनी सेनेभिरत्नाले २/२ विकेट लिए । 
कुल ६ राष्ट्र सम्मिलित छनोट खेलमा नेपाल ६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ । युएईले सबै खेल जित्दै १० अङ्क बटुलेको छ । छनोट खेलमा नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र माल्दिभ्स सहभागी थिए ।