१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली रसुवा बाढीबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक विदुर–चोगटे–सरमथली–जिरोकिलो हुँदै रसुवा जोड्ने सडक स्तरोन्नति रसुवा बाढी प्रकरणः ‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’ सेनाद्वारा सात सयभन्दा बढी तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

समन्वय गर्न नसक्दा सभामुखको रातो मुख



अ+ अ-

काठमाडौँ — प्रधानमन्त्रीले सार्वजनिक महत्त्वका विषयमा एक घण्टा लिखित सम्बोधन गरेर रोस्ट्रमबाट ओर्लिएपछि प्रमुख प्रतिपक्षी सांसदहरूले हात उठाए । सभामुख कृष्णबहादुर महराले नेपाली कांग्रेस सांसदहरू उभिएका सिटमा माइक खोलिदिएनन्, किन उठ्नुभयो भनेर पनि सोधेनन् । उल्टै आज प्रश्नोत्तर छैन भनेर टार्न खोजे । 

माइक नखोलिए पनि प्रतिपक्षी सांसदहरूले चर्को आवाज गर्दै प्रश्न गर्न पाउनुपर्ने माग गरिरहे । प्रधानमन्त्रीको महत्त्वपूर्ण सम्बोधनपछि प्रतिपक्षलाई प्रश्न गर्न समय दिनु सभामुखको स्वाभाविक भूमिका हुने थियो । हड्बड गर्न थालेपछि उनले सचिवालयका कर्मचारीलाई के गरौँ भन्ने सोध्न थाले । सोध्न दिए हुन्छ भन्ने उपाय सुनेपछि पनि उनले मौका चुकाए । एकजनाको नाममात्र लिइदिए । प्रतिपक्षी सांसदहरू सबैले सोध्न पाउनुपर्छ भन्न थालेपछि रातो मुख लाउँदै प्रश्नोत्तर नै हटाइदिए ।
सभामुखको अनपेक्षित भूमिकाबाट आक्रोशित प्रतिपक्षी सांसदहरूले रोस्ट्रम घेरे । अन्तत: पन्ध्र मिनेटका लागि सदन स्थगित गर्नुपर्‍यो जुन खुल्न सकेन नै, प्रतिनिधिसभा बैठक तीन दिनपछि धकेलियो । यसबाट न प्रधानमन्त्रीलाई त्यति लामो सम्बोधन गरेकामा सन्तोष भयो, न प्रतिपक्षीहरूले जिज्ञासा शान्त गर्न पाए, न सभामुख स्वयंले सन्तोषको सास फेर्न सके ।
हिउँदे अधिवेशन भर्खर–भर्खर सुरु भएकै बेला तल्लो सदनमा यसरी हठात तापक्रम बढ्नु बेमोज हो । प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीवा मन्त्रीहरूले सार्वजनिक महत्त्वका विषयमा बोलेपछि सांसदले प्रश्नगर्न पाउने र त्यसका लागि सभामुखले अनमुति दिनुपर्ने व्यवस्था छ । सभामुखको असावधानीवश प्रतिपक्षलाई प्रश्न गर्ने अधिकारबाट कुण्ठित गर्दा सदनकै मान रहेन ।
संसद्‌मा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम छुट्टै पनि हुन सक्ने भएकाले प्रतिपक्षले यसमै अत्तो नथापेको भए पनि हुन्थ्यो । सार्वजनिक महत्त्वका विषयमै पनि हरेकपल्ट बोल्नैपर्छ भन्ने छैन । सभामुख चिप्लिँदा सदनको प्रतिष्ठाका लागि कांग्रेसले संयम अपनाएको भए पनि भवितव्य परिहाल्ने केही थिएन । अर्कोपल्ट यस्तै व्यवहार नगर्नुहोला भनेर कार्य व्यवस्था समितिमा सम्झाउन सकिन्थ्यो । आफ्नो उपस्थिति जनाउन र प्रधानमन्त्रीलाई तत्काल जवाफदेही बनाउन चाहनु भने प्रतिपक्षको अपेक्षित भूमिकै हो ।
सभामुखको तयारी पुगेन । सावधानी पनि अपनाएनन् । पहिला कसैलाई सोध्न दिएनन् । चर्को माग भएपछि सीमित माननीयहरूलाई बोल्न दिन्छु भने । केही दिनअघि कांग्रेसका गगन थापालाई पूरा बोल्न पनि दिएनन् । व्यवस्थापन कमजोर भएको भनियो । यस्ता घटना घरिघरि भइरहँदा सभामुखको ओज घट्दै जान्छ । सभामुख व्यवस्थापकीय व्यवहारमा निपुण हुन सक्नुपर्छ ।
संसद् बैठक सञ्चालन हुनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसाल्ने गरे यस्ता दुर्घटनाबाट सदनलाई बचाउन सकिन्छ । सके पूर्ण बैठक, नभए लघु । लघुमा पनि सभामुख, दलका सचेतकहरू र सचिवालय प्रतिनिधि रहन्छन् । यसले कार्यसूची के राख्ने, के नराख्ने, को बोल्ने, को नबोल्ने पहिल्यै निश्चित हुन्छ । संसद्भित्र आउन सक्ने व्यवधान रोक्न सकिन्छ । आइतबार यस्तो बैठक नबस्नु नै समस्याको अवश्यम्भावी स्रोत थियो ।
यसबाट सभामुखले शिक्षा लिएको हुनुपर्छ । सांसदहरूले रोस्ट्रम घेरेपछि सदन सञ्चालन गरिरहनु हुँदैन, स्थगित गर्नुपर्छ । यसमा पनि उनी चुके । जबर्जस्ती सञ्चालन गर्न खोज्दा समस्या थप जटिल बन्छ । सभामुख पद दबाबले होइन, विवेकले, बलले होइन कानुनले चल्ने पद हो भन्ने बिर्सिइयो भने संसदीय पद्धतिमै प्रश्न उब्जन्छ । प्रतिपक्षले संसद्‌मा मुखर हुन पाएन भने आफू प्रकट हुने विकल्प खोज्न थाल्छ । त्यसले संसदीय विधिलाई नै क्षति पुर्‍याउँछ ।
सत्ता र प्रतिपक्षबीच जीवन्त र ज्वलन्त संवाद हुने थलोका रूपमा सदनलाई स्थापित गर्नैपर्छ । सांसदहरूले सवाल उठाउने र सरकारी पक्षले जवाफ फर्काउने पारदर्शी र जवाफदेही परिपाटी विकास गर्दै लैजान सके सदनको आस्था र राजनीतिक प्रणालीको आकर्षण पनि बढ्छ । संसद् सर्वोच्च संवादस्थल हो भन्ने पुष्टि गर्न सभामुखले पहल गर्नुपर्छ, यसमा सत्ता र प्रतिपक्षी नेताहरूले सहयोग पुर्‍याउनुपर्छ । सदनको मर्यादाबाट दुवै पक्षको सम्मान हुन्छ ।

(साभार सम्पादकीय कान्तिपुर)