९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

समन्वय गर्न नसक्दा सभामुखको रातो मुख

समन्वय गर्न नसक्दा सभामुखको रातो मुख
अ अ+ अ-

काठमाडौँ — प्रधानमन्त्रीले सार्वजनिक महत्त्वका विषयमा एक घण्टा लिखित सम्बोधन गरेर रोस्ट्रमबाट ओर्लिएपछि प्रमुख प्रतिपक्षी सांसदहरूले हात उठाए । सभामुख कृष्णबहादुर महराले नेपाली कांग्रेस सांसदहरू उभिएका सिटमा माइक खोलिदिएनन्, किन उठ्नुभयो भनेर पनि सोधेनन् । उल्टै आज प्रश्नोत्तर छैन भनेर टार्न खोजे । 

माइक नखोलिए पनि प्रतिपक्षी सांसदहरूले चर्को आवाज गर्दै प्रश्न गर्न पाउनुपर्ने माग गरिरहे । प्रधानमन्त्रीको महत्त्वपूर्ण सम्बोधनपछि प्रतिपक्षलाई प्रश्न गर्न समय दिनु सभामुखको स्वाभाविक भूमिका हुने थियो । हड्बड गर्न थालेपछि उनले सचिवालयका कर्मचारीलाई के गरौँ भन्ने सोध्न थाले । सोध्न दिए हुन्छ भन्ने उपाय सुनेपछि पनि उनले मौका चुकाए । एकजनाको नाममात्र लिइदिए । प्रतिपक्षी सांसदहरू सबैले सोध्न पाउनुपर्छ भन्न थालेपछि रातो मुख लाउँदै प्रश्नोत्तर नै हटाइदिए ।
सभामुखको अनपेक्षित भूमिकाबाट आक्रोशित प्रतिपक्षी सांसदहरूले रोस्ट्रम घेरे । अन्तत: पन्ध्र मिनेटका लागि सदन स्थगित गर्नुपर्‍यो जुन खुल्न सकेन नै, प्रतिनिधिसभा बैठक तीन दिनपछि धकेलियो । यसबाट न प्रधानमन्त्रीलाई त्यति लामो सम्बोधन गरेकामा सन्तोष भयो, न प्रतिपक्षीहरूले जिज्ञासा शान्त गर्न पाए, न सभामुख स्वयंले सन्तोषको सास फेर्न सके ।
हिउँदे अधिवेशन भर्खर–भर्खर सुरु भएकै बेला तल्लो सदनमा यसरी हठात तापक्रम बढ्नु बेमोज हो । प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीवा मन्त्रीहरूले सार्वजनिक महत्त्वका विषयमा बोलेपछि सांसदले प्रश्नगर्न पाउने र त्यसका लागि सभामुखले अनमुति दिनुपर्ने व्यवस्था छ । सभामुखको असावधानीवश प्रतिपक्षलाई प्रश्न गर्ने अधिकारबाट कुण्ठित गर्दा सदनकै मान रहेन ।
संसद्‌मा प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम छुट्टै पनि हुन सक्ने भएकाले प्रतिपक्षले यसमै अत्तो नथापेको भए पनि हुन्थ्यो । सार्वजनिक महत्त्वका विषयमै पनि हरेकपल्ट बोल्नैपर्छ भन्ने छैन । सभामुख चिप्लिँदा सदनको प्रतिष्ठाका लागि कांग्रेसले संयम अपनाएको भए पनि भवितव्य परिहाल्ने केही थिएन । अर्कोपल्ट यस्तै व्यवहार नगर्नुहोला भनेर कार्य व्यवस्था समितिमा सम्झाउन सकिन्थ्यो । आफ्नो उपस्थिति जनाउन र प्रधानमन्त्रीलाई तत्काल जवाफदेही बनाउन चाहनु भने प्रतिपक्षको अपेक्षित भूमिकै हो ।
सभामुखको तयारी पुगेन । सावधानी पनि अपनाएनन् । पहिला कसैलाई सोध्न दिएनन् । चर्को माग भएपछि सीमित माननीयहरूलाई बोल्न दिन्छु भने । केही दिनअघि कांग्रेसका गगन थापालाई पूरा बोल्न पनि दिएनन् । व्यवस्थापन कमजोर भएको भनियो । यस्ता घटना घरिघरि भइरहँदा सभामुखको ओज घट्दै जान्छ । सभामुख व्यवस्थापकीय व्यवहारमा निपुण हुन सक्नुपर्छ ।
संसद् बैठक सञ्चालन हुनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसाल्ने गरे यस्ता दुर्घटनाबाट सदनलाई बचाउन सकिन्छ । सके पूर्ण बैठक, नभए लघु । लघुमा पनि सभामुख, दलका सचेतकहरू र सचिवालय प्रतिनिधि रहन्छन् । यसले कार्यसूची के राख्ने, के नराख्ने, को बोल्ने, को नबोल्ने पहिल्यै निश्चित हुन्छ । संसद्भित्र आउन सक्ने व्यवधान रोक्न सकिन्छ । आइतबार यस्तो बैठक नबस्नु नै समस्याको अवश्यम्भावी स्रोत थियो ।
यसबाट सभामुखले शिक्षा लिएको हुनुपर्छ । सांसदहरूले रोस्ट्रम घेरेपछि सदन सञ्चालन गरिरहनु हुँदैन, स्थगित गर्नुपर्छ । यसमा पनि उनी चुके । जबर्जस्ती सञ्चालन गर्न खोज्दा समस्या थप जटिल बन्छ । सभामुख पद दबाबले होइन, विवेकले, बलले होइन कानुनले चल्ने पद हो भन्ने बिर्सिइयो भने संसदीय पद्धतिमै प्रश्न उब्जन्छ । प्रतिपक्षले संसद्‌मा मुखर हुन पाएन भने आफू प्रकट हुने विकल्प खोज्न थाल्छ । त्यसले संसदीय विधिलाई नै क्षति पुर्‍याउँछ ।
सत्ता र प्रतिपक्षबीच जीवन्त र ज्वलन्त संवाद हुने थलोका रूपमा सदनलाई स्थापित गर्नैपर्छ । सांसदहरूले सवाल उठाउने र सरकारी पक्षले जवाफ फर्काउने पारदर्शी र जवाफदेही परिपाटी विकास गर्दै लैजान सके सदनको आस्था र राजनीतिक प्रणालीको आकर्षण पनि बढ्छ । संसद् सर्वोच्च संवादस्थल हो भन्ने पुष्टि गर्न सभामुखले पहल गर्नुपर्छ, यसमा सत्ता र प्रतिपक्षी नेताहरूले सहयोग पुर्‍याउनुपर्छ । सदनको मर्यादाबाट दुवै पक्षको सम्मान हुन्छ ।

(साभार सम्पादकीय कान्तिपुर)