• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

बुर्टोनको पोष्टमा म्यान्चेस्टर सिटीको गोलको बर्षा, जेसुसले गरे चार गोल



काठमाडौं । म्यान्चेस्टर सिटीले काराबाओ कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा बुर्टोन बिरुद्द गोलको बर्षा गरेको छ । आफ्नै घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले बुर्टोनको पोष्टमा गोलको वर्षा गर्दै ९–० गोलअन्तरले जित हात पारेको हो ।

फराकिलो गोलअन्तरले बुर्टोनलाई पराजित गर्ने क्रममा सिटीका गाब्रियल जेसुसले हृयाट्रिकसँगै चार गोल गरे । त्यस्तै, केभिन डे ब्रुयन, एलेक्जेन्डर जिन्चेन्को, फिल फोडेन, कायल वाल्कर र रियाड महरेजले गोल गरे ।

खेलको पाँचौ मिनेटमा नै ब्रुयनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सुरुवातीमै आक्रामक खेल खेल्दै अग्रता बनाएको सिटीका लागि खेलको ३०औं र ३४औं मिनेटमा जेसुसले गोल गर्दा ३७औं मिनेटमा जिन्चेन्कोले गोल गर्दै ४–० गोलको अग्रतामा पुर्‍याएका थिए ।

पहिलो हाफमा ४–० गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप पाँच गोल गर्न सफल भयो । खेलको ५७औं मिनेटमा जेसुसले अर्को गोल गर्दै हृयाट्रिक पूरा गरेका थिए । उनको हृयाट्रिकसँगै सिटीले भने ५–० गोलको अग्रता बनाएको थियो ।

६२औं मिनेटमा फोडेनले गोल गर्दा ६५औं मिनेटमा जेसुसले व्यक्तिगत चौथो गोल गर्दै सिटीलाई ७–० गोलको अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने क्रममा सिटीका लागि वाल्करले ७०औं र महरेजले ८३औं मिनेटमा गोल गर्दै बुर्टोनमाथि ९० गोलको जित दिलाए ।