९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

सर्पदंश, ‘मेडिको’ र मोफसल

सर्पदंश, ‘मेडिको’ र मोफसल
अ अ+ अ-

अभि सुवेदी (समयरेखा)

मेडिकल शिक्षा दिने र यसलाई धनको निम्तिमात्रै प्रयोग गर्ने होडमा शाश्वत द्वन्द्व हावी भएको टड्कारोसँग देखिँदै छ नेपालमा । सामाजिक अभियन्ताले लड्ने यसैको प्रतिरोधको निम्ति हो ।

काठमाडौँ — ‘सर्पदंश’ शब्द पहिले नेपालमा औषधि र अभियानबाट भन्दा तारिणीप्रसाद कोइरालाले लेखेको यही शीर्षकको कथाबाट धेरै चलेको हो । बीपी कोइरालाका भाइ र प्रख्यात लेखक तारिणीको कथाको यो ‘सर्पदंश’ शीर्षकले यसपालि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मलाई अर्कै किसिमले समात्यो । तर यो साहित्यको सहज र निष्पृह अर्थमा थिएन, त्यहाँ ।

तारिणीको कथामा कम्मु भन्ने पात्रको प्वालमा हात हाल्ने मोहले गर्दा सर्पदंशको प्रहार भएको कुरा थियो भने यो प्रतिष्ठानमा राखिएका न्यारेटिभहरूमा विषालु सर्पहरूले गाउँघरमा डसिएका अकिञ्चन नरनारीको विषय थियो । एकजना प्रख्यात र समर्पित डा. सञ्जीव शर्माको संरचनामा भेटिएको ‘सर्पदंश’को उपचारको अभियान थियो, यो जुन मेरानिम्ति चुनौती र भावातित बनाउने मानवतावादी विषय थियो ।
विषालु सर्पले डसेका मानिसका औषधि नपाई अनि कहीं जाने ठाउँ नपाई पीडाले मृत्यु भएका दारुण कथा अनि त्यस्ता मनुवाहरूलाई मद्दत गर्नलागेका मेडिकोहरूका अभियानसँग जोडिएको थियो, यो विषय । सर्पदंश मात्रै होइन, नेपालको राजधानी केन्द्रित मेडिकल अभ्यास र शक्तिका खेलले मोफसलको विषयमा बोकेका र प्रयोग गरेका धारणाको विसंगतिले पनि मलाई चिन्तनशील बनाएको थियो । यहाँ ठाउँ पुगेसम्म ती केही धारणा राख्न चाहन्छु । तर पहिला यसको पृष्ठभूमिबारे केही लेख्छु ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मेरानिम्ति एउटा परिचित तर राम्ररी थाहा नपाएको संस्था थियो । मलाई भेट्न यो प्रतिष्ठान केही वर्षअघि युवा विद्यार्थी भएर आएको थियो, काठमाडौंमा । यसमा अध्ययनरत केही युवा एकाध प्रस्ताव लिएर मसँग छलफल गर्न आएका थिए । परिक्रमा नामको यहाँका विद्यार्थीहरूको गतिशील संस्था रहेछ । नेपालयका प्रमुख कार्यकारी अधिकृत र मेरा भूतपूर्व विद्यार्थी किरण श्रेष्ठबाट पनि यिनको जानकारी पाएको थिएँ ।
साना काँटीका, खर्र हाँस्ने अनि तेजिला नेत्रज्योति भएका युवाहरू थिए, ती । सागर पन्थी, सुरेश दाहाल र अमृत जैशी नाम भएका ती यो संस्थाको जिम्मा लिएकाहरू र पहिलेका भरोसा भट्टराई र नवीन भट्टसँग कुरा गर्दा मलाई सुखद आश्चर्य भएको हो । ती मेडिको मात्र थिएनन्, त्योसँग जोडिएका दर्शन, देह र उपचार अनि साहित्यसँग पनि गाँसिएका थिए ।
यसपालि सागर, सुरेश र अमृतको कार्यकाल सकेको उपलक्ष्यमा परिक्रमाको बाइसौं स्थुल पत्रिका विमोचनको सन्दर्भमा गएको थिएँ । पहिले डिस्कोर्स प्रस्तुत गरेको हुँ । एकजना पहिले पनि नाम सुनेका प्रतिभाशाली डाक्टर स्वतन्त्र गौतमसँग परिचय हुनुले मेरा केही दृष्टिपरिवर्तन गरिदियो । स्वतन्त्रले मलाई डा. सञ्जीवशर्मा र उनको कामसँग परिचित गराइदिए । स्वतन्त्र आपैंm शर्मासँग नजिकै भएर काम गर्ने नाम कमाएकायुवा डाक्टर रहेछन् ।
डा. सञ्जीव शर्मालाई भेट्न किरण श्रेष्ठ, म रडा. स्वतन्त्र उनको अरण्यभित्रको अमूक शान्त र साधारण कुटीजस्तो घरमा गयौं । डा. सञ्जीवकी पत्नी र माइक्रोबायोलोजी विभागकी प्रमुख डा. वसुधा खनाललाई देखेपछि लाग्यो, मैले पहिले नै चिनेको हुँ । खनालको व्यक्तित्व र डा. सञ्जीवको व्यक्तित्वमा सरलताले बनेको सौम्य थियो, तर डा. वसुधाको समय र समस्या चेतना अनि त्यसलाई आफूले भोगेको जीवनको कलाको रूपमा लिएर संलग्न तर असंलग्न रूपमा बनाएको व्यक्तित्व डा. सञ्जीवको भन्दा केही अलग थियो ।
दुबै सञ्जीव र वसुधा नेपालको मेडिकल सुधारको लागि सत्याग्रह गर्ने कर्मयोगी गोविन्द केसीको धेरै सम्मान गर्ने रहेछन् ।डा. सञ्जीवलाई आफ्नो कामको मिसन अनि उनका काममा कि प्रशासन, कित राजनीतिले किञ्चित नबुझेको कारणले चिन्तित र मौन विद्रोह गरिरहेको अवस्थामा देख्यौं । उनले आफ्नो कथा सुनाए । ती धन होइन, यो मोफसल मानिएको क्षेत्रमा सेवा गर्न चाहन्छन् र लाखौंलाखको महिनावारी तलब दिएर बोलाउनेहरूकोमा जान मान्दैनन् ।
अस्पतालका देखावटी र ल्याङ–फ्याङ अवस्थालाई राजधानी केन्द्रित ‘एलिट’ अहम्ले चलाउने व्यवस्थापक र राजनीतिज्ञहरू डा. सञ्जीवको काम देखेर प्रशंसा गर्दैनन्, तर्सिन्छन् । मोफसलको कर्म भनेर संरचनाका कवच बनाउँछन् । शान्त, सौम्य र स्निग्ध त्यो प्रतिष्ठानको परिवेश, पढ्ने र पास गर्दै गरेका ग्रयाजुयटहरूको ऐक्य र सपनाको सम्मान देखेर यहाँ आएकै राति टिभीमा राजधानीका अनेकौं ठूला अस्पतालले मानिसका अपरेसन गरेका अङ्ग र फोहोर यसै बाहिर फालेका खबर देख्दा केन्द्र र मोफसलको भेद झेल हो र यो विनिर्माण गरिनैपर्छ भन्ने लागेको हो ।
डा. सञ्जीव नर्भिकमा काम गर्थे, तर सेवाभावले गर्दा बीपी कोइरालामा गए । नेफ्रोलोजी वा किड्नी रोग सम्बन्धी रोगमा जापानमा फेलोसिप पाएर पनि पढे, तिनले । प्रतिष्ठानले विदा दिएन, तर आफैं गए । पीडा हुन्छ, यस्तोमा । मैले ब्रिटेनमा पढ्दा त्यही भोगेको हुँ । रोयल लन्डन अस्पतालमा छोटो कोर्स गरेको बेलाडा. सञ्जीवको कामले खुसी भएकाहरूलाई एचडीमेसिन दिनोस् भनेर अनुरोध गरे । उनीहरूले स्पेयर पार्टससहित दिए ।
मृगौला रोगको डाइलासिसको स्थापना वीर अस्पतालमा भएको थियो, अस्सीको दशकको अन्तिमतिर । सन् १९९८ देखि डा. सञ्जीवले त्यो सेवा बीपीकेमा पनि चलाए । डा. सञ्जीवले ३ वटा उपकरणबाट चलाए । बेलायतबाट दिएका अनि कतार एयरलाइन्सले ल्यादिएका ती ११ वटा डाइलासिस मेसिन राख्न बीपी कोइराला प्रतिष्ठान प्रशासनले नदिने भयो । धरानका जनताले थाहा पाएर विरोध उरालेपछि दियो । डा. सञ्जीवले भने, ‘बीपीके ननप्राक्टिसिङ इन्स्टिच्युट’ हो । बिरामीको सेवा मूलमन्त्र हो, यसको । नेपालका हृदयरोग केन्द्रहरू सहभागी छन्, एउटा नेटवर्क छ ।’
डा. सञ्जीव भन्छन्, ‘समाज रोग जन्मिने भूमि हो । मेडिको अभियन्ताहरूले यहीं काम गर्नुपर्छ ।’ सञ्जीवलाई विश्व स्वास्थ्य संगठनले सर्पदंशको विज्ञ टोलीमा नियुक्त गरेको छ । पहिचान र औषधिको उचित प्रयोगका कारण मृत्युदर घट्दै गएको उनी बताउँछन् । डसाइको एक थोपा रगत जाँचेर कुन सर्पले डसेको हो, पत्ता लाउने पद्धति बनेको रहेछ ।
एउटा सानो चिस्याएको कोठामा सर्पदंशले प्रताडितले ल्याएका सर्पहरूमा यो क्षेत्रमा युगौंदेखि सर्पले डसेको मौन कथा देख्यौं । सर्पदंशको प्रहारले ८० प्रतिशत अस्पताल नपुगी मर्ने स्थिति छ । त्यसैले मोटरसाइकललाई एम्बुलेन्सको रूपमा पूर्वी तराईमा प्रयोग गरेर बिरामी ल्याउन गरिएको कथा सुनाउँछन्, डा. स्वतन्त्र ।
डा. सञ्जीव भन्छन्, ‘मेडिकल सेवा अलिक व्यापारीकरण भएको छ । सरकारको जिम्मा हो उपचार गर्ने, यो नि:शुल्क हुनुपर्छ ।’ मलाई लाग्यो, काठमाडौंमा भएको भए यो कर्म सबैको आँखामा पथ्र्यो होला भन्ने उनीहरूलाई लाग्नु मोफसलको पीडा हो । तर यो संस्थानमा पनि राजनीति पसेकोले प्रतिष्ठान भत्किने क्रम चलेको छ कि भन्ने लाग्छ उनलाई ।
मेडिकोहरूको कर्म मानिस र विज्ञानको दोभान हो । देह विज्ञान, अङ्ग अवयव अथवा एनाटोमी, वंश पहिचान र विज्ञानले भेटेका अन्य विषयका ती वैज्ञानिक पद्धतिको ज्ञान राख्छन्, अनि तिनको प्रयोग गर्छन् । त्यस अर्थमा ती वैज्ञानिक हुन् । तर मेडिकोहरू विज्ञानका सीमान्तकृत प्राणी होइनन् । किनभने ती मानिसको देह र मानिसका भावनासँग पनि सोझै सम्बन्ध राख्ने मनुवा भएकाले मानवताको घर–आँगनमा तिनका चेतनाको बास हुन्छ ।
एउटा गतिलो डाक्टर भेट्नुभयो भने र केही छिन अन्तरङ्ग कुरा गर्नुभयो भने उसबाट यस्ता कथाहरू विस्तारै झर्छन्, जसले तपाईंलाई चकितमात्र होइन, द्रवित गर्छ । केही सहारा नभएर बिमारीको सयनमा पल्टेको बिमारीको अगाडि डाक्टर उभिन्छ र सोध्छ, ‘आज कस्तो छ ?’ त्यो वाणी आकाशमा उठ्छ, बिमारीको भित्रसम्म पुग्छ । डाक्टर हिंँडेपछि अस्पतालको शैयामाथिको सानो बन्द आकाशमा बिमारीले ती बोली लेखिएको देख्छ । यस्ता मानव डाक्टरका न्यारेटिभहरू अनेकौं सुनेको छु ।
साहित्य पढ्दा ती पात्र अपरोक्ष हुन्छन् । जीवनमा ती छन् र नै लेखिन्छन्, तर डाक्टरले तिनलाई मानव भएर भेट्छ । मैले परिक्रमा समूहको कार्यक्रममा औंलाको उदाहरण लिएर भने, ‘तिमी डाक्टरका औंला र बिमारीको बीचको सानो आकाशमा एउटा तरङ्ग चल्छ । बिमारी तिनै तिम्रा औंलाहरू आकाशबाट ऊसम्म ज्योतिका औंलाहरू झरेझैं देख्छ ।’ त्यो डाक्टर सञ्जीव शर्माजस्तै रहेछ भने शर्पदंश वा मिर्गौलाको पीडाबाट आराम हुँदै गएको बिमारीले अर्धचेतनामा एउटा आफ्नासामु उभिएको मानिस किम्बा देवताजस्तै देख्छ । ‘ब्लास्ट’मा प्रकाशित एउटा समाचारमा यस्तै बिमारी विजयकुमार यादवका वाणी उध्दृत गरिएको पढेंँ ।
डाक्टरहरू राज्य चलाउनेहरूको आँखामा अनौठो किसिमले प्रतिविम्बित भइरहन्छन् । डाक्टरहरू शक्ति लिएर खेल्ने मनुवा होइनन्, तर तिनले मानिसको देह र तिनको स्वास्थ्यमाथि काम गर्ने हुनाले शासकहरू तिनमाथि कठोर भएका उदाहरण भेटिन्छन् । नैतिकता र मानवतावादी पक्षको यो द्वन्द्वले मानिसले धेरै ठूला कल्याण गरेको छ र धेरै ठूला दृश्य वा अदृश्य अपराध पनि गरेको छ । मेडिकल शिक्षा दिने र यसलाई धनको निम्तिमात्रै प्रयोग गर्ने होडमा शाश्वत द्वन्द्व हावी भएको टड्कारोसँग देखिँंदैछ, नेपालमा । सामाजिक अभियन्ताले लड्ने यसैको प्रतिरोधको निम्ति हो । (कान्तिपुर दैनिकबाट साभार)