७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

८० प्रतिशत घटना मदिरा सेवनका कारण

८० प्रतिशत घटना मदिरा सेवनका कारण
अ+ अ-

रुकुम । त्रिवेणी गाउँपालिका– १ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले गत मङ्सिर १ गते राति श्रीमती र छोराको हत्या गरे । श्रीमती ४२ वर्षीया इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानेर तथा छोरा ११ वर्षीय स्वयंप्रकाशलाई खुकुरी प्रहार गरेर बुढाले हत्या गरेका हुन् ।

श्रीमती र छोराको हत्या गरी बुढाले खुकुरीले घाँटी रेटेर आत्महत्याको प्रयाससमेत गरेका थिए । अत्यधिक मदिरा सेवन गरी बुढाले श्रीमती र छोराको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ ।

त्यस्तै जिल्लाको आठबीसकोट नगरपालिका– १२ ठूलीबार्खुका ५२ वर्षीय रुद्रे पुनमगरले आफ्ना सहोदर भाइ ३४ वर्षीय इन्द्रे पुनको गत असार ६ गते राति हत्या गरे । चिर्पट प्रहार गरी भाइको हत्या गरेका पुन हत्याको भोलिपल्ट आफैँ जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । राति सँगै बसेर रक्सी खाएको र घरायसी विवाद हुँदा भाइको हत्या गरेको पुनले प्रहरीसामु बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमिति खड्काले जानकारी दिनुभयो ।

गत मङ्सिर २५ गते राति जिल्लाको बाँफीकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट भयो । अत्यधिक मदिरा सेवन गरेका स्थानीय युवाले आफ्नै घरमा सुतेका अध्यक्ष केसीमाथि कुटपिट गरी टाउको नै फुटाइदिए । कुटपिटबाट घाइते भएका अध्यक्ष केसीको टाउकोमा तीन टाँका लगाइएको थियो । कुटपिटबाट अध्यक्ष केसी एक महीनासम्म थलिनुभएको थियो ।

जिल्लाको मुसीकोट नगरपालिका– १२ मा गत पुस १ गते तीन जनाको मृत्यु भयो । नयाँ गाउँमा भएको एक बिहेमा सहभागी जिल्लाको सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसीकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसीकोट नगरपालिका– १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको मृत्यु भएको थियो । उनीहरूको मृत्युका प्रमुख कारण मदिरा सेवन रहेको प्रहरीको भनाइ छ ।

उनीहरूले रक्सी सेवन गरेको र शव परीक्षणको रिपोर्टमा मृत्युको अन्य कुनै कारण नदेखिएको जिल्ला प्रहरी प्रमुख खड्काले बताउनुभयो । जिल्ला अस्पतालमा भएको शव परीक्षणको रिपोर्टमा पनि उनीहरूको मदिरा सेवनकै कारण मृत्यु भएको निष्कर्ष निकालिएको थियो । थप परीक्षणका लागि भित्री अङ्ग प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो ।

त्यस्तै गत सातामात्र जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका– ४ चाँपामा अर्का एक व्यक्तिको शव फेला प¥यो । उनको पनि सम्भवतः मदिरा सेवनकै कारण मृत्यु भएको निष्कर्ष निकालिएको छ । उनले अत्यधिक मदिरा सेवन गरेको र शव परीक्षण गर्दा अन्य कुनै कारण नदेखिएको प्रहरीको भनाइ छ ।

जिल्लामा हुने आपराधिक घटनामध्ये अधिकांश मदिरा सेवनकै कारण हुने गरेको प्रहरीले जनाएको छ । असी प्रतिशत आपराधिक घटना मदिराकै कारण हुने गरेको उपरीक्षक खड्काले जानकारी दिनुभयो । “हामीले यो वर्ष भएका घटनाका कारण केलाएर हेरेका छौँ”, उहाँले भन्नुभयोे, “जिल्लामा अधिकांश घटनाको प्रमुख कारण भनेकै मदिरा सेवन हो ।” बलात्कार, हत्यालगायतका घटना त शतप्रतिशत मदिराकै कारण भइरहेको खड्काले बताउनुभयो ।

नौ महीनामा १५० घटना

जिल्लामा यो वर्षको हालसम्म करीब १५० घटना भएका छन् । वैशाखदेखि पुससम्म १३९ वटा आपराधिक घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो वर्षको जेठ र भदौमा सबैभन्दा बढी २२/२२ वटा घटना भएका छन् । वैशाखमा ११, असारमा १४, साउनमा नौ, असोजमा २०, कात्तिकमा १५, मङ्सिरमा १२ र पुसमा १४ घटना घटेका छन् ।

सबैभन्दा बढी सार्वजनिक अपराध कसुरसम्बन्धीका ३३ वटा घटना रहेका छन् । यसका साथै भवितव्य ज्यानको २१, झुण्डिएर आत्महत्या गरेको २०, जबर्जस्ती करणीको १४, सवारी ज्यानको आठ, जबर्जस्ती करणी उद्योगको सात, कर्तव्य ज्यानको पाँच, विष सेवन गरी आत्महत्या गरेको चार, ज्यान मार्ने उद्योगको चार, फुटकर ज्यानको दुई, बेवारिसे ज्यानको एक, सवारी भवितव्य ज्यानको दुई, बहुविवाहको दुई र बालविवाहको एउटा घटना छन् ।

घटनाको दर

जिल्लामा प्रत्येक दुई महीनामा एक जनाको हत्या हुने गरेको छ । त्यस्तै प्रत्येक महीना तीन जनाले विष सेवन गरी आत्महत्या गर्ने गरेका छन् । महीनामा एक जनाको सवारी दुर्घटनामा ज्यान जाने गरेको छ । यसका साथै प्रतिमहीना दुई वटा ज्यान मार्ने उद्योग, प्रतिमहीना दुई वटा भवितव्य ज्यानका र प्रतिमहीना तीन वटा सार्वजनिक अपराधका घटना हुने गरेको जिल्ला प्रहरी कार्यालयले तयार पारेको अपराध विवरणमा उल्लेख छ ।

मदिरा नियन्त्रणको तयारी

प्रहरीले आपराधिक घटनाको प्रमुख कारक तत्व मदिरालाई मान्दै यसको नियन्त्रणसम्बन्धी काम गरिरहेको जनाएको छ । पछिल्लो समय जिल्ला समन्वय समितिको अगुवाइमा जिल्लामा मदिरा नियन्त्रणको तयारीसमेत शुरु भएको छ । हाल जिल्लामा आउने मदिरा बन्द गरिएको छ भने फागुन १६ गतेदेखि जिल्लामा मदिरामा पूर्णरूपमा बन्देज लगाउने तयारी गरिएको छ ।