१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

नारा मितव्ययी, पारा खर्चिलो

नारा मितव्ययी, पारा खर्चिलो
अ अ+ अ-

दिनेशहरि अधिकारी

काठमाडौँ — मितव्ययितासँग औचित्य, सदाचार र नैतिकता जोडिएको हुन्छ । संघीयता कार्यान्वयनसंँगै मन्त्री, सांसद, स्थानीय जनप्रतिनिधि लगायतका पदाधिकारीको संंख्यामा मात्र वृद्धि भएन । त्यसैको हाराहारीमा विभिन्न आयोग, कार्यालय, सचिवालय र निकाय गठनसंँगै कर्मचारीको संख्या व्यापक बढेको छ ।

तलब, भत्ता र सेवा–सुविधाका दृष्टिले यो ‘वृद्धि’ भयावह देखिन्छ । संघ र प्रदेशमा मात्र होइन, स्थानीय तहका जनप्रतिनिधि कोभन्दा को कमको भाँतीमा आ–आफ्नो सुविधा वृद्धिको निर्णय भटाभट गरिरहेका छन् । अर्कोतिर राष्ट्रपति लगायतका विशिष्ठ व्यक्तिलाई दिइने सेवा–सुविधाका धेरै कुरा विवादको घेराभित्र परिरहेका छन् ।

विगतमा सरकारी मोटर चढ्ने हैसियत कर्मचारीवृत्तमा ‘सहसचिव’ स्तरका व्यक्तिलाई प्राप्त थियो । मुलुकको आर्थिक अवस्थामा सुधार नआउँदा–नआउँदै अहिले ठाउँ हेरी शाखा अधिकृतदेखि नै मोटर सुविधा उपभोग गर्न पाइरहेका छन् । मन्त्रीका सल्लाहकार, स्वकीय सचिव, निजी सचिवले यो सुविधा उपभोगमात्र गरिरहेका छैनन्, ‘हुकुम’ चलाएर आसेपासेलाई अनुगृहित तुल्याइरहेका छन् । कुन हैसियतको पदाधिकारी/कर्मचारीले कस्तो सवारी साधन प्रयोग गर्ने भन्ने मापदण्ड नहुँदा दुरुपयोग अकल्पनीय रूपमा भइरहेको छ ।

बेथिति जताततै छ । उदाहरणका लागि मन्त्रीकै कुरा गरौँ । केही दिन अगाडिसम्म मन्त्री पदको सपथ लिएपछि गृह मन्त्रालयले एउटा मोटर उपलब्ध गराउँथ्यो । औपचारिक रूपमा मन्त्रीको त्यहीमात्र मोटर हुने भए पनि मन्त्रालय वा विभाग वा अन्तर्गतका निकायमा रहेका सबैभन्दा राम्रा (नयाँ र महँगा) मोटर आफ्नालागि तान्थे । सचिवले यसमा सहयोग गरेन वा सहमति जनाएन भने त्यही दिनबाट मन्त्री र सचिवबीच खटपट सुरु हुन्थ्यो । बेलैमा मन्त्रीको इच्छा अनुसार नसच्चिए सचिवको सरुवा प्राय: निश्चित मानिन्थ्यो ।

मन्त्रीकै चालाको अनुकरण धेरैजसो सचिवले गरिरहेका छन् । यो करिब एक दशक मन्त्रालय तहमा काम गर्दाको मेरो अनुभव हो ।

गोरखापत्र संस्थानका प्रकाशनहरूमा प्रकाशित लेख–रचनाको पारिश्रमिक लिन जाँदा परिचयपत्रको प्रतिलिपि दिएँ । भुक्तानी पाउनुअघि ‘मैले कुनै सार्वजनिक पदधारण गरेको छैन’ भन्ने व्यहोरा लेखेर सहीछाप गर्नुपर्दा म चकित भएँ ।

बुझ्दै जाँदा थाहा पाएँ– अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट गत वैशाख २६ मा स्वीकृत ‘सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन’को दफा ३५ मा ‘सार्वजनिक पदमा बहाल व्यक्तिले सरकारी निकाय, नेपाल सरकारको पूरा वा आंंशिक स्वामित्व भएको संस्था, समिति, बोर्ड, परिषद, प्राधिकरणको बजेट वा सरकारी कोष खर्च गरी प्रकाशन हुने पत्रिका, जर्नल, म्यागजिन आदिमा लेख–रचना प्रकाशित गरे बापत पारिश्रमिक भुक्तानी नगर्ने’ भन्ने उल्लेख रहेछ । त्यसलाई कडाइका साथ कार्यान्वयन गर्न गोरखापत्र संस्थानलाई परिपत्र गरिएको रहेछ ।

यहाँ कुरोको चुरो ‘सार्वजनिक पद’धारण गर्ने व्यक्ति देखियो । भ्रष्टाचार सम्बन्धी प्रचलित नेपाल कानुन अनुसार अरू त अरू, उदाहरणका लागि, हायात रिजेन्सी होटलमा काम गर्ने उपल्लोदेखि तल्लो तहसम्मका सबै सार्वजनिक पदमा बहाल व्यक्ति पर्छन् । तारागाउँ विकास समितिसँंग नेपाल सरकारको स्वामित्व गाँसिएको छ र समितिको लगानी हायात रिजेन्सी होटलमा छ ।

यो अवस्थामा त्यहाँ काम गर्ने व्यक्तिहरू सार्वजनिक पदमा रहेको व्यक्तिको वर्गमा पर्छन् । यसले सार्वजनिक पदधारण गर्ने व्यक्तिको दायरा अत्यन्तै व्यापक रहेकोप्रस्ट्याउँछ । लेख–रचनाको पारिश्रमिक दिने विषय यत्ति व्यापक बनाइनु आवश्यक छैन । उल्लिखित मार्गदर्शन बमोजिम चल्ने हो भने सार्वजनिक पदमा रहेका कुनै पनि व्यक्तिको विद्धता वा विज्ञता आफ्नो माध्यमबाट सरकारले पाउँदैन । पारिश्रमिक पाउनु छैन भने अतिरिक्त मिहेनत कसले गर्छ ? यो मानवीय स्वभाव हो ।

यसले सरकारसंँग जोडिएका प्रकाशनमा ‘गतिला’ सामग्री पढ्न नपाइने परिस्थिति सिर्जना भएको छ । अर्कोतिर विशेषज्ञ/विद्वानको विचार, विश्लेषण वा सुझाव सरकारका लागि आवश्यक रहेनछ भन्ने सन्देश पनि सञ्चार भएको छ । मितव्ययिताका नाममा के सरकारले यही गर्न खोजेको हो ? हो भने अरूको विचार, विश्लेषण वा सिर्जना सुन्न नचाहनुलाई कसरी लोकतान्त्रिक सरकारको चरित्र अनुसारको क्रियाकलाप मान्न सकिन्छ ? होइन भने यो कस्तो मितव्ययिता हो ?

यदाकदा सरकारका विभिन्न मन्त्रालय/विभाग/निकायका प्रकाशनमा एउटा लेख छपाएर झन्डै तलब बराबरकै पारिश्रमिक बुझ्नेहरू नभएका होइनन् । त्यस्तो विकृति रोक्न आवश्यक छ । यसका लागि अरू धेरै उपाय अपनाउन सकिन्छ । नाकमा भिंmगा बस्यो भनेर नाकै काट्नु त भएन नि !

राजनीतिकर्मीले राजनीतिलाई ‘जागिर’ ठान्ने कि ‘समाजसेवा’ ? सबैभन्दा ठूलो गाँठो यही परेको छ । यो गाँठो रातारात नफुस्केला । खर्चको मितव्ययिताका लागि अवलम्बन गर्न सकिने उपाय धेरै छन् । मन्त्रीका लागि दिइने सबै सुविधा (कतिवटा र कस्ता सवारी साधनसमेत) मन्त्रिपरिषदले तोक्नुपर्ने हो । मन्त्रालयले मन्त्रीको सचिवालयका लागि के कस्ता आवश्यकता पूरा गर्नुपर्ने हो भन्ने पनि मन्त्रिपरिषदकै निर्णय अनुसार हुनुपर्ने हो । यसो हुँदा नियन्त्रणको ठाउँ रहन्थ्यो ।

मन्त्रिपरिषदले केही दिन अगाडि ‘एकद्वार’का नाममा मन्त्रीको तलब–भत्ता, सवारी साधन लगायतका सबै सुविधा मन्त्रालयले नै व्यवस्था गर्नेगरी निर्णय गरेर ‘आफ्नो हात जगन्नाथ’को परिस्थिति सिर्जना गरिदिएको छ । मातहतका कर्मचारी वा कार्यालयले सुविधाका नाममा मन्त्रीले गर्ने ज्यादतीपूर्ण निर्णयलाई कसरी नमान्ने ? हिजो ‘जस्केलो’बाट अनुचित सुविधा लिँदै आएका मन्त्रीलाई अब मूलढोका खुलेको छ । (विगतदेखि पदीय गरिमा राखिदिएको भए यसरी सोच्नुपर्ने थिएन ।) मितव्ययिताको सरकारी नारा यहींबाट ओह्रालो लागेको छ । आशा गरौं, मन्त्रिपरिषदले आफ्नो निर्णय पुनरावलोकन गर्नेछ ।

मितव्ययी हुने हो भने सपथ लिनु नपर्ने र खासै विज्ञता पनि नचाहिने राष्ट्रपति/प्रधानमन्त्री/मन्त्रीको सल्लाहकार नियुक्तिमा औचित्य र आवश्यकताका दृष्टिले इमानदार भएर सोच्न आवश्यक छ । यसो गरे अहिलेको ‘भद्रगोल’ रोकिन्छ । स्वकीय र निजी सचिवलाई मोटर सुविधा नदिएर मितव्ययी हुन सकिन्छ ।

निवृत्तिभरण प्राप्त गरिरहेको व्यक्तिलाई अन्यत्र नियुक्त गर्दा कानुन बनाएरै नयाँ पदमा कार्यरत रहँदासम्म निवृत्तिभरण नपाउने व्यवस्था गर्न सकिन्छ । समान पदमा समान सुविधाका लागि मापदण्ड बनाएरै नेपाल ट्रष्ट वा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव र अर्थ/परराष्ट्र्र मन्त्रालयका सचिवबीच आधारभूत सुविधामा एकरूपता ल्याउन सकिन्छ ।

विभागीय प्रमुख बाहेकका अन्य कर्मचारीलाई छुट्टै मोटर सुविधा नदिएर सामुहिक रूपमा यातायात सुविधा उपभोग गर्न कम्तीमा राजधानीमा बस व्यवस्था गर्न सकिन्छ । स्थानीयदेखि संघसम्मका जनप्रतिनिधि र राजनीतिक नियुक्ति पाउने सबैका तलब–भत्ता, सुविधामा सकेसम्म कम वृद्धिको निर्णय गर्न सकिन्छ । उपचारका राम्रो व्यवस्था हुँदाहुँदै पनि देशभित्र उपचार नगर्ने जनप्रतिनिधि वा अन्य विशिष्ठ व्यक्तिलाई राज्यकोषबाट उपचार खर्च व्यहोर्ने परिपाटी तत्कालै रोक लगाउन सकिन्छ ।

जनप्रतिनिधि वा कर्मचारीले प्रयोग गर्ने मोटर–सुविधाका लागि स्तर निर्धारण गर्न सकिन्छ । नैतिकतामा टिकेको अवस्थामा सार्वजनिक बस वा रेलमा यात्रा गर्दा पनि सुरक्षित रहेका प्रधानमन्त्री/मन्त्री संसारमा धेरै छन् । स्वयम्ले असुरक्षित अनुभव गर्नु भने आफ्नै अपवित्र कर्मको उपज हो भनेर स्वीकार्न आवश्यक छ ।

आफ्नै मन्त्रालय वा विभागका मन्त्री, सचिव वा महानिर्देशकले अध्यक्षता गर्ने जुनसुकै र जतिबेला पनि बस्ने बैठकमा ‘बैठक–भत्ता’ दिने परिपाटी तत्काल रोक्न सकिन्छ । तलब–भत्ता बुझ्ने मन्त्री वा उच्चपदस्थ कर्मचारीको सचिवालयमा चिया–खाजामा हुने खर्च सानो छैन । मितव्ययिताको दृष्टिले यसतर्फ ध्यान जाने हो भने जनताले तिरेको करको दुरुपयोग रोक्न सकिन्छ । यी अनावश्यक खर्च कटौती गर्न सकिने केही ठाउँमात्र हुन् ।

बाबुराम भट्टराई अर्थमन्त्री छँदा मितव्ययिताको यस्तै एउटा पुलिन्दा आएको थियो । पेन ड्राइभ किन्न विभागीय प्रमुख वा सचिव (सचिव पनि विभागीय प्रमुख हो) को निर्णय चाहिन्थ्यो । सुुरु–सुरुमा मन्त्रीसहित धेरैले वाहवाही गरेको मितव्ययिताको त्यो पुलिन्दा थाहै नपाई सडेर गयो । वर्तमान सरकारले जारी गरेको ‘सार्वजनिक खर्चका मितव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन, २०७५’ पनि त्यही हाल नहोला भन्न सकिँंदैन ।

सरकार हामी सबैको हो । यसका क्रियाकलाप हामी सबैको समान चासोका विषय हुन् । योगी नरहरिनाथले कुनै दिन भन्नुभएझैं ‘छाते’हरूले छाता ढल्काइदिएकाले म त निथु्रक्कै रुझेँ भन्ने परिस्थितिमा सरकार नपुगोस् । लेखक नेपाल सरकारका पूर्वसचिव हुन् । 

साभार कान्तिपुर दैनिक