१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मस्थल पुगेर चन्द्र ढकालले भने– बलेवालीको पहिचान, उद्यम र स्वाभिमान



अ+ अ-

बलेवा, ४ फागुन । बागलुङको बलेवामा बिहीबारदेखि शुरु भएको प्रथम बलेवा महोत्सवको नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा नेपालका एक उद्यमी चन्द्रप्रसाद ढकालले बिहीबार उद्घाट गरेका छन् । कृष्ण गण्डकी क्याम्पसको शैक्षिक उन्नयनको लागि रु एक करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले यो महोत्सव आयोजना भएको हो ।

बलेवा नारायणस्थानमा आयोजित विशेष समारोहबीच ढकालले सो महोत्सवको उद्घाटन गर्दै बलेवाका नागरिकहरुले यस जिल्ला र नेपालका साथै विश्वमा नै एक अलग्गै र विशिष्ट खालको पहिचान बनाएका धारणा राने । सो समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले आफू बलेवाको बृहत्तर विकासका लागि हर समय लाग्ने बाचा गरे । ढकाल बलेवा अमलाचौर निवासी हुन् ।

उनले सोही समारोहबाट बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्रका सबैै वडामा शाखारहित बैंकिङ सेवा विस्तार गर्न आफूले पहल थालिसकेको घोषणा पनि गरे । आफ्नो जन्मस्थल सो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच पु¥याउन र विस्तार गर्न सहयोग गर्ने भन्दै उनले स्थानीय तहमा आर्थिक गतिविधि सञ्चालनका लागि वडास्तरमा बैंक तथा वित्तीय संस्थाको पहुँच पुर्याइने जानकारी दिए ।

उपाध्यक्ष ढकालले नेपालको समृद्धिको बलियो आधार पर्यटन र ग्रामीण उद्यमशिलता हो भन्दै उनले भने– हाम्रो गण्डकी प्रदेश पर्यटनको भरपूर सम्भावना रहेको क्षेत्र हो, यसको सम्भावनाबाट लाभ लिन सक्यौँ भने हामी नेपालकै समृद्ध प्रदेशका नागरिक हुनेछौँ ।

बाग्लुङ जिल्लाको बलेवा क्षेत्रले आफ्नो विशिष्ट पहिचान बनाएको र नेपालमा मात्र नभएर नेपालीहरु बसिरकेका संसारकै देशमा समेत बलेवालीको छुट्टै परिचय रहेको धारणा उनले राखे । उनले भने– म आफ्नो कामको सिलसिलामा विदेश जाँदा बलेवालीहरुको समाज नरहेको कुनै पनि देश छैन र उनीहरुले आफ्नै उद्यम गरेर ती देश र क्षेत्रमा अलग्गै पहिचान बनाएका छन् । उद्यमशिलता, मेहनत र संघर्षमा बलेवालीहरु उदाहरणीय पात्र हुन् भन्दै उपाध्यक्ष ढकालले भने– यसबाट नेपालकै पनि अरु क्षेत्र र जिल्लाका नागरिक लोभ्भिने गरेको अनुभव म सँग छ । मलाई लाग्छ बलेवालीहरु उद्यमशील र स्वाभिमानी हुने गर्दछन्, त्यो हामीले भन्दा बढी हाम्रो बारेमा अरुले नै भन्ने गरेका छन् ।

उपाध्यक्ष ढकालले बलेवाको शैक्षिक उन्नयनको उद्देश्य राखेर महोत्सवको आयोजना भएकोमा आयोजकको प्रशंसा गरे । बलेवामा सफल परीक्षण भइसकेको प्याराग्लाइडिङलाई व्यावसायिकरूपमा सञ्चालन गर्न ढकालले सुझाव दिए । उक्त महोत्सवको अवसर पारेर त्यहाँ प्याराग्लाइडिङ शुरु गरिएको छ । त्यसैगरी अरु पनि साहसिक पर्यटनका क्रियाकलापहरु पनि त्यहाँ शुरु गरिएको छ । समारोहमा आएका युवाहरुलाई ढकालले कुनै न कुनै रुपमा उद्यमशीलता अपनाउन र मेहनेती र उद्यमशील बन्ने प्रेरित गरे ।

गण्डकी प्रदेशमा कृषि, पर्यटन, प्राकृतिक सम्पदा, धार्मिक र सांस्कृतिक पर्यटनका समेत अधिक सम्भावनाहरु रहेकोले तिनको यथोचित उपयोग र प्रयोगका लागि सबै क्षेत्र र बर्गबाट आ आफ्नो प्रयासका साथ लाग्नुपर्ने बेला अब भइसकेको उनले बताए । यी अधिक सम्भावना बोकेका क्षेत्रहरुमा लगानी गरी गण्डकी प्रदेश क्षेत्रलाई समृद्ध बनाउने यात्रामा लाग्न र सहकार्यका साथ अघि बढ्न उनले सबैलाई आग्रह पनि गरे ।

नेपालका एक सफल उद्यमीका रुपमाा परिचित ढकालले नेपालको संघीय भौगोलिक संरचनामा गण्डकी प्रदेशको विशिष्ठ पहिचान रहेको भनाई राखे । उत्तर र दक्षिणीका समृद्ध छिमेकी देशसँगको सीमाना यो क्षेत्रबाट मात्र नजिक छ भन्दै उपाध्यक्ष ढकालले भने– तर त्यसबाट के कति लाभ लिन सकिन्छ भन्ने विषय हाम्रा एकीकृत प्रयास र विकास निर्माणमा राजनीतिक तथा अरु सबै क्षेत्र समेतको मतैक्यतामा भर पर्दछ । उनले भने– दुई समृद्ध छिमेकी जुन विश्वकै ठूला अर्थतन्त्रमाा पर्दछन् उनीहरुबाट कसरी लाभलिने भन्ने क्षमता हामीसँगै हुनुपर्छ, आफैले गर्न नसके हुँदैन ।

अबको विकास गाउँ केन्द्रीत हुनुपर्ने भन्दै ढकालले त्यसका लागि सरकारी र निजी क्षेत्रले सहकार्य आवश्यक रहेको बताए । बलेवामा पनि केबलकार सञ्चालनको सम्भावनाको बारेमा गरिएको प्रश्नमा उपाध्यक्ष ढकालले त्यसको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिए । बलेवामा केवरकार सञ्चालन गर्न सकिने सम्भावना रहेको र सञ्चालनपछिका चुनौतीहरुको मूल्याङ्कन गरेर अघि बढिने उनले बताए ।

दश वर्ष पहिलेदेखि सञ्चालनमा रहेको कृष्ण गण्डकी क्याम्पसमा रहेको आर्थिक सङ्कट कम गर्न महोत्सवको मञ्च प्रयोग गरेर सहयोग सङ्कलन गरिने र त्यसबाट रु एक करोडको अक्षयकोष स्थापना गरिने आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले जानकारी दिए । ढकालले सो क्याम्पसको विकासका लागि आफूले पनि आर्थिक सहयोग गर्ने जानकारी दिए ।

सो महोत्सवमा उक्त क्षेत्रमा जन्मिएर नेपालको एक राष्ट्रिय उद्यमीको विशिष्ट पहिचान बनाउन सफल भएकोमा ढकाललाई बलेवालीहरुका तर्फबाट विशेष सम्मान पनि प्रदान गरिएको थियो ।

महोत्सवमा बलेवा क्षेत्रको पर्यटनलाई प्राथमिकतामा राखिएको छ । प्रसिद्ध कालभैरव, मनमोहक मुलाबारी क्षेत्र, नेपालकै अग्लो कुश्माकैया झोलुङ्गे पुल र यान्त्रिक पुललगायतका पर्यटकीय क्षेत्रमा दर्शक पु¥याउने गरी व्यवस्था मिलाइएको आयोजकले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले आर्थिक क्षेत्रको विकासका लागि सबैको साझा धारणा हुनुपर्नेमा जोड दिए । उनले अहिलेको अवस्थामा नेपालमा विमा कम्पनीहरुको नियमनको अति जरुरी रहेको भन्दै त्यसको शुद्धिकरण अभियानमा आफू लागेको बताए । चापागार्इँ पनि अमलाचौर निवासी हुन् ।

महोत्सव यही फागुन १२ गतेसम्म चल्ने बताइएको छ । यस महोत्सवमा व्यापारिक, कृषि प्रदर्शनी, शैक्षिक प्रदर्शनी, प्याराग्लाइडिङमार्फत बलेवा क्षेत्रको अवलोकनलगायतको व्यवस्था मिलाइएको छ । बाग्लुङ जिल्ला नेपालमा पर्यटनको अत्यधिक सम्भावना रहेको क्षेत्र हो । विश्वकै एक प्रमुख पर्यटनीय गन्तव्य मुस्ताङको प्रवेशद्धार रहेको यस बाग्लुङ जिल्लामा ढोरपाटन, गाजा लेक, घुम्टेको लेकदेखि लिएर अरु पनि कैयौँ चित्ताकर्षक पर्यटकीय गन्तव्यहरु रहेका छन् ।