इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार लिभरपुलले एभर्टनलाई ४ – १ गोल अन्तरले पराजित गरेको छ ।
बुधबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई हराएको हो ।
लिभरपुलको जितमा मोहमद सलाहले दुई गोल गरे भने जोर्डन हेण्डरसन र डिएगो जोटाले एक/एक गोल गरे । एभर्टनका लागि डेमाराई ग्रेले एक गोल फर्काए ।
यस जितसँगै लिभरपुल लिगको तेस्रो स्थानमा पुगेको छ । उसले १४ खेलमा ३१ अंक जोडेको छ भने एभर्टन १५ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
अर्को खेलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ भने पहिलो स्थानको चेल्सीले वाट्फोर्डलाई हराएको छ।
बुधबार राति भएका खेलमा सिटीले भिल्लालाई र चेल्सीले वाट्फोर्डलाई समान २ – १ गोल अन्तरले हराएका हुन् ।
भिल्लाको मैदानमा रुबेन डियासले २७ औं मिनेटमा, ४३ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरेका थिए । त्यसपछि खेलको ४७ औं मिनेटमा भिल्लाका ओली वाट्किन्सले गोल गरेपनि सिटीले २ – १ को जित निकाल्यो ।
अर्को खेलमा चेल्सीका मासन माउन्ट र हाकिम जिएचले एक – एक गोल गरे । वाट्फोर्डका इमानुएल डेनिसले एक गोल फर्काए पनि जितका लागि प्रर्याप्त हुन सकेन ।
जितसँगै चेल्सीले १४ खेलमा ३३ अंक जोडेर शीर्ष स्थान कायम राखेको छ भने सिटी १४ खेलमा ३२ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ ।