२२ भाद्र २०८३, सोमबार
,
Latest
रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान



photo: rss
अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीलगायत प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनालाई उच्च प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेका छन्।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले २०८३ भदौ १० गते हिमनदीको बरफ र चट्टानसहित आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको बताए।

बाढीका कारण मानव जीवन, घरपरिवार र जीविकोपार्जनका आधार गुम्नुका साथै सडक, पुल, जलविद्युत्आयोजनालगायत महत्वपूर्ण पूर्वाधारमा गम्भीर क्षति पुगेको उनले उल्लेख गरे।

राष्ट्रपति पौडेलले विपत्तिमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरे। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य यथाशीघ्र सफल बनाउन आग्रह गरे।

उनले उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक तथा विभिन्न संघसंस्थाको योगदानको प्रशंसा गरे। कठिन भौगोलिक अवस्था, क्षतिग्रस्त सडक र जोखिमपूर्ण परिस्थितिलाई बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य अवरुद्ध हुने कारण बनाउन नहुनेमा उनले जोड दिए।

राष्ट्रपति पौडेलले विपत्तिमा परी ज्यान गुमाएका विदेशी नागरिकप्रति पनि दुःख व्यक्त गर्दै उनीहरूका परिवारप्रति नेपालका तर्फबाट समवेदना प्रकट गरे। प्रभावित विदेशी नागरिकका सम्बन्धित देशका सरकार तथा कूटनीतिक नियोगसँग आवश्यक सहकार्य गरिने उनले बताए।

खोज तथा उद्धारका लागि जनशक्ति, प्राविधिक विशेषज्ञ, चिकित्सकीय टोली तथा आवश्यक उपकरण उपलब्ध गराउँदै सहयोग गर्ने छिमेकी मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति राष्ट्रपति पौडेलले आभार व्यक्त गरे।

उनले उद्धार गरिएका प्रत्येक व्यक्तिका लागि खाद्यान्न, स्वच्छ खानेपानी, सुरक्षित आश्रय, औषधोपचार तथा मनोसामाजिक सेवाको पहुँच सुनिश्चित गर्नुपर्ने बताए। बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा विशेष संरक्षण आवश्यक पर्ने नागरिकप्रति थप ध्यान दिनुपर्ने उनको भनाइ छ।

अस्थायी आश्रयस्थल सुरक्षित र मर्यादित हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले नेपाली तथा विदेशी नागरिकका परिवारलाई यथार्थ र विश्वसनीय सूचना उपलब्ध गराउन तथा आफन्तलाई घर फर्काउन आवश्यक सहजीकरण गर्नुपर्ने बताए।

मृतकको पहिचान सावधानी, संवेदनशीलता र जिम्मेवारीका साथ गर्नुपर्ने उल्लेख गर्दै उनले आवश्यकताअनुसार डीएनए नमुना तथा अन्य अभिलेख सुरक्षित राखी पहिचान प्रक्रियालाई विश्वसनीय र व्यवस्थित बनाउन सरकारको ध्यान जानुपर्ने बताए।

प्राकृतिक विपत्तिका कारण घरबारविहीन, विस्थापित, आफन्त गुमाएका तथा जीविकोपार्जनका आधार गुमाएका नागरिकलाई अहिले राज्यको साथ र भरोसा आवश्यक रहेको राष्ट्रपति पौडेलले बताए। पीडितका गुनासा र मागलाई आलोचनाका रूपमा नभई समाधानका लागि महत्वपूर्ण संकेतका रूपमा ग्रहण गर्न सरकार तथा सम्बन्धित निकायलाई उनले आग्रह गरे।

राष्ट्रपति पौडेलले विपत्तिले नेपालको हिमाली पर्यावरणको नाजुक अवस्था तथा विश्वव्यापी तापक्रम वृद्धिबाट सिर्जित जोखिमलाई पुनः उजागर गरेको बताए। उनले नेपाललगायत पारिस्थितिकीय रूपमा प्रभावित राष्ट्रका लागि जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग ठोस र प्रभावकारी कदम चाल्न आह्वान गरे।

उनले प्राकृतिक विपत्तिको सामना गर्न राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, नागरिक समाज, मानवीय सहायता तथा उद्धारमा संलग्न संघसंस्था, निजी क्षेत्र, व्यवसायी समुदाय र सम्पूर्ण नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।

‘यो विभाजनको समय होइन, राष्ट्रिय एकता तथा ऐक्यबद्धता प्रदर्शन गर्ने समय हो,’ राष्ट्रपति पौडेलले भने, ‘अब पुनर्निर्माण, पुनःस्थापना र आर्थिक पुनरुत्थानसँगै नेपालको विकास मोडेलमाथि पनि पुनर्विचार गर्न आवश्यक छ।’

राष्ट्रपति पौडेलले अप्रत्याशित विपत्तिबाट पार पाउन सम्पूर्ण नेपालीलाई शक्ति, साहस र धैर्य प्राप्त होस् भन्ने कामना गर्दै आफ्नो सम्बोधनको अन्त्य ‘जय नेपाल’ बाट गरेका छन्।