• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

पाकिस्तानमा बम विस्फोट, एकको मृत्यु र १३ घाइते



इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार साँझ भएको एक बम विस्फोटमा परी कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार बलुचिस्तान प्रान्तको नसिराबाद जिल्लाको प्रमुख कार्यालय रहेको डेरा मुराद जमाली इलाकमा सो बम विस्फोट भएको छ ।

उद्धारकर्ता र प्रहरी टोलीले बम विस्फोटमा परी घाइते भएका व्यक्तिहरुलाई नसिराबाद जिल्लामा रहेको अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

छदेखि आठ किलो विस्फोटक पदार्थले भरिएको सो बम दुर नियन्त्रित यन्त्रद्वारा विस्फोट गराइएको प्रहरीले जानकारी दिएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

बम विस्फोट भएको इलाकामा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । यस बम विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।