काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु भएको छ । पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिएको छ ।
आज राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया पितृतीर्थधामका साथै पशुपती क्षेत्र तथा अन्य मन्दिर तथा धाममा पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नेहरूले चार दिनदेखिको निरन्तर वर्षामा पनि श्राद्ध गराएका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।
चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
राजधानीमा डेरा लिएर बसेकाहरू यहाँ श्राद्ध गर्न आउने गरेका गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । धर्मशास्त्रविद् प्रा तोयराज नेपालका अनुसार भाडा तिरेर बसेको कोठामा पनि सोह्र श्राद्ध एवं एकोद्दिष्ट श्राद्ध गर्न शास्त्रीय रूपमा कुनै बाधा हुँदैन ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।
यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सोह्रश्राद्ध अपराह्न कालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले बताउनुभयो । जाताशौच, मृताशौच र पत्नी रजस्वला भएका अवस्थामा बाहेक सोह्र श्राद्ध छोड्नु नहुने धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।
कारणवश सोह्र श्राद्ध रोकिँदा शास्त्रमा अनेक विकल्प दिइएका छन् । सोह्र श्राद्ध कर्ताले आफ्ना पिताको तिथिमा गर्नुपर्ने विधान छ । आपत् धर्म अनुसार कुनै कारणवश अड्किएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो ।
पितृपक्षको समाप्तिसँगै दुर्गापक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने परम्परा रहिआएको धर्मशास्त्रीय मान्उता छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा छ । रासस








