२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक जग्गा कब्जा गरी रिसोर्ट सञ्चालन



अ+ अ-

नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरेर सिद्धकुमार श्रेष्ठले पार्क र रिसोर्ट सञ्चालन गरेका छन् । देवचुली नगरपालिका–१ र १७ वडा नम्बरमा पर्ने नारायणी नदी किनारमा सार्वजनिक (ऐलानी) जग्गा कब्जा गरेर उनले मेघा पिकनिकपार्क सञ्चालन गरेका हुन् ।

पार्क र रिसोर्ट करिब ४० बिघा क्षेत्रफलमा फैलिएको छ । सिद्धकुमार एन्ड सन्स कम्पनीको नाममा रहेको पार्कले देवचुलीको मुकुण्डे खोलाको करिब १० बिघा सार्वजनिक जग्गा अतिक्रमण गरेको स्थानीयको आरोप छ । पार्क सञ्चालनमा आएपछि शान्ति सिर्जना युवा क्लबले लामो समयदेखि प्रयोग गर्दै आइरहेको दिव्यपुरीको सबैभन्दा पुरानो खेलमैदानसमेत मासिएको छ । यहाँ फनपार्क र पिकनिक स्पोट सञ्चालनमा आइसकेको छ भने भव्य रिसोर्ट र एक हजारजना अट्ने सभाहल निर्माणाधीन अवस्थामा छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको छ । नगर प्रमुख पूर्णकुमार श्रेष्ठले अख्तियारबाट पत्र आएको र स्थानीयबाट समेत विरोध आएपछि पार्क सञ्चालकलाई संरचना निर्माण रोक्न पटक–पटक ताकेता गरेको जानकारी दिए । नगरपालिकाभित्रका सार्वजनिक जग्गाको संरक्षणमा नगरपालिकाले चासो दिइरहेको उनी बताउँछन् । पार्क निर्माण भइरहेको स्थानमा के–कति सरकारी जग्गा छ भन्ने यकिन हुन नसक्दा समस्या भएको नगरप्रमुख श्रेष्ठले बताए ।

देवचुली नगरपालिकाकी उपप्रमुख पार्वता तिवारीका अनुसार पार्क र रिसोर्ट सञ्चालनका लागि अनुमतिसमेत लिइएको छैन । सानोतिनो व्यवसाय सञ्चालन गर्नसमेत घरेलु उद्योग कार्यालयमा दर्ता गर्नुपर्छ, तर करोडाँैको लगानीमा सञ्चालन हुन लागेको पार्क तथा रिसोर्टले नगरपालिका र घरेलुमा दर्ता नै गरेको छैन । साबिकको रजहर गाविस हुँदा एकतले घर भनी दर्ता गरेर सामान्य रेस्टुरेन्ट सञ्चालन गरेको, तर अहिले ठूलो रिसोर्ट र पिकनिक पार्क सञ्चालन गरेको उपप्रमुख तिवारीको भनाइ छ । सिद्धकुमार एन्ड सन्स कम्पनीको नाममा दर्ता गरी मापदण्डविपरीत पार्क र रिसोर्ट निर्माण गरिरहेको उनले बताइन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।