९ पुष २०८२, बुधबार
,
Latest
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्पदाको संरक्षणबाट मानव हितमा धेरै काम गर्न सकिन्छ : राष्ट्रपति



अ+ अ-

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताउनुभएको छ ।

हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा पोखराको बिन्ध्यवासिनी मन्दिर परिसरमा निर्मित लिफ्टको आज यहाँ उद्घाटन गर्दै सम्पदाको संरक्षणले देशको दिगो विकासका साथै भावी पुस्ताको भविष्य निर्माण र पुण्य आर्जन पनि हुने बताउनुभयो ।

धर्मको महत्वपूर्ण पक्ष सेवा भएको चर्चा गर्दै उहाँले सेवाभावबाट अभिप्रेरित हुँदै बिन्ध्यवासिनी क्षेत्र विकास समितिको सक्रियतामा मन्दिर दर्शनका लागि इच्छुक तर भौतिक एवम् शारीरिक रुपमा मन्दिरमा पुग्न नसक्ने भक्तजनलाई लक्षित गरी लिफ्ट निर्माण गरेकोप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

सुन्दर प्रकृति र विविधताले भरिपूर्ण पर्यटकीय नगरी पोखराको बिन्ध्यवासिनी मन्दिर ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको पवित्र अनुपमस्थल भएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

स्वतःस्फूर्त जागरण, श्रद्धा एवम् आस्थाको भावनाले हाम्रो इतिहास एवम् सांस्कृतिक धरोहरको संरक्षण जनस्तरबाट हुँदै आएको उल्लेख गर्दै उहाँले बिन्ध्यवासिनीमा धार्मिक क्षेत्र विकास समिति गठनपश्चात् समितिका माध्यमबाट गरिएका संरक्षण र विकासका कामको प्रशंसा गर्नुभयो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लिफ्ट निर्माणमा सहयोग गर्ने हुण्डाई मोटर कम्पनी दक्षिण कोरियाका प्रतिनिधि उपप्रमुख जोनसोन र लक्ष्मी ग्रुप नेपालका निर्देशक सुनील श्रेष्ठलाई सम्मान गर्नुभयो ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले धर्मबाट अनुशासन हुने र अनुशासन विधि भएको चर्चा गर्दै विधिबाट शासन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्तलाई लक्षित गरी लिफ्ट निर्माण गरिनु महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश प्रकृति र संस्कृतिले सम्पन्न भएको चर्चा गर्दै त्रिवेणीदेखि देवघाट हुँदै मुक्तिनाथसम्मका धार्मिक सांस्कृतिक एवम् पर्यटकीयस्थललाई समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । प्रदेशमा धार्मिक, सांस्कृतिक भावनाका साथै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै प्रदेशको समृद्धिसँग जोड्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विश्वका १० महत्वपूर्ण प्राकृतिक शहरमध्येको पोखरालाई पर्यटकीय महानगरपालिका बनाउन माग गरिएको बताउँदै राष्ट्रपतिमार्फत सङ्घ सरकारको ध्यानाकर्षण गराउनुभयो । मन्दिरको व्यवस्थापनका साथै स्रोत पहिचान र परिचालनमा बिन्ध्यवासिनी क्षेत्र विकास समितिले चालेको कदमको उहाँले प्रशंसा गर्नुभयो ।

बिन्ध्यवासिनी क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले २४० वर्षको इतिहास बोकेको बिन्ध्यवासिनी मन्दिर यस क्षेत्रको अत्यन्त श्रद्धा एवम् विश्वासयुक्त धार्मिकस्थल भएको बताउनुभयो । कास्कीका अन्तिम राजा सिद्धिनारायण शाहले निर्माण गरेको यस मन्दिरको संरक्षण र विकासका लागि २०४६ सालमा समिति गठन भई समितिमार्फत काम भइरहेको उहाँले जानकारी गराउनुभयो । मन्दिरलाई पूर्वाधारयुक्त बनाउने गरी काम अघि बढिरहेको बताउँदै उहाँले परिसरमा विभिन्न भौतिक निर्माणका साथै बिन्ध्यवासिनी एम्बुलेन्स सेवा, गुरुकुल, ज्येष्ठ नागरिक मिलन केन्द्र आदि सञ्चालनमा आइरहेको जानकारी दिनुभयो । रासस