२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

छाउपडी प्रथा उन्मुलन गर्न आएको ४० लाख रुपैयाँ सेमिनारमै सकियो



अ+ अ-

काठमाडौं । पश्चिम नेपालमा कुरीतिका रूपमा रहेको छाउपडी प्रथा उन्मूलनको उद्देश्यले जनचेतना फैलाउनका लागि संयुक्त राष्ट्रसंघीय महिलासम्बन्धी कार्यक्रमले दिएको ४० लाख रुपैयाँ गोदावरी भिलेज रिसोर्टलगायतका तारे होटलमा सेमिनार गरेर सकिएको छ । लक्षित वर्गका लागि आएको सो रकम राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीको एकल प्रस्तावमा यूएन वुमेनले दिएको थियो ।

लक्षित वर्गमा कार्यक्रम पुग्नुको साटो ठूला तारे होटेलमा एकदिने सेमिनार गरेर बजेट सिध्याइएको पाइएको छ । राजधानीकै होटलमा छाउगोठ बनाएर कुरीति अन्त्य यसरी गरिँदै छ भनेर बजेट सके पनि पश्चिम नेपालको गाउँमा छाउपडी प्र्रथामा कुनै परिवर्तन देखिएको छैन ।

मानवअधिकार आयोग स्रोतका अनुसार सो बजेट जनचेतनामूलक कार्यक्रमका नाममा गोदावरी भिलेज रिसोर्टमा कार्यक्रम गरेको र कार्यक्रममा आउने सहभागीलाई आउने जाने भाडा खर्च र खाना खर्चमा सकिएको छ ।

आयोग स्रोतका अनुसार रिसोर्टमा छाउपडीसम्बन्धी सेमिनार गरेर बजेट सके पनि छाउपडीको प्रतिवेदन दुई महिना बित्दा पनि पेस भएको छैन । आयोग सदस्य अन्सारीले कार्यक्रम सकेपछि अहिले छाउपडीसम्बन्धी प्र्रतिवेदन बनाइरहेकी छन् ।

स्र्रोतका अनुसार सदस्य अन्सारी पश्चिम नेपालमा दुईपटक छाउपडीको विषयमा बुझ्न गएकी थिइन् । आयोगको तर्फबाट मनमाया रानामगर र मधु सुनामको टोलीले ९ मंसिरदेखि १६ मंसिरसम्म अछाम र दैलेखको भ्र्रमण गरेको थियो । दोस्रोपटक १८ मंसिरदेखि २० पुससम्म छाउपडीसम्बन्धी राष्ट्रिय तालिम गरेको देखिन्छ ।

छाउपडीलाई कानुन बनाएर नियन्त्रण गर्न खोजे पनि पश्चिम नेपालमा ५ सय छाउगोठ अस्तित्वमा रहेको यसअघिको मानवअधिकार आयोगको प्र्रतिवेदनले उल्लेख गरिसकेको छ । पश्चिम नेपालमा धार्मिक अन्धविश्वास र सामाजिक जटिलतालाई चिर्न नसक्दा छाउगोठ हटाउने अभियान निष्प्र्रभावी जस्तो बनेको छ । पश्चिम नेपालको अछाम र दैलेखमा छाउपडी प्रथाको अवस्था भयावह छ ।

सर्वोच्चले १९ वैशाख २०६२ मा गरेको फैसलाअनुसार महिलालाई छाउपडी गोठमा पठाउने प्रथालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुरीति घोषणा गर्नुपर्ने भनेको छ । सर्वोच्चको फैसलाअनुसार कुरीति घोषणा गर्दै कानुन निर्माण भयो । अब त्यस्तो कार्यमा बाध्य गराउनेलाई तीन महिनाको कैद र जरिमानाको व्यवस्था गरेको छ । सर्वोच्चको फैसलाअनुसार स्वास्थ्य मन्त्रालयले चिकित्सकसमेत भएको एक अध्ययन समिति बनाई यस प्रथाबाट महिला र बालबालिकामा पर्ने असर र समाधानका उपायको पहिचान गर्नुपर्ने जनाएको छ । छाउपडी प्रथाविरुद्ध चेतना जगाउन स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय परिचालन गर्नुपर्ने र महिला तथा बालबालिका मन्त्रालयले महिलामाथि हुने यस प्रकारको विभेद अन्त्य गर्न निर्देशिका बनाई जारी गर्न भनेको थियो ।

छाउपडी प्रथालाई पहिलोपटक फौजदारी अपराधको संज्ञासहित ‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ पारित गरेर कानुनसमेत बनाइसकेको छ । मुलुकी ऐन, २०२१ का संशोधनका आधारमा चलेको नेपालको फौजदारी कानुनलाई आधुनिक र समयसापेक्ष बनाउन नयाँ विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर कानुनका रूपमा आइसकेको छ ।

विशेषगरी नेपालको सुदूरपश्चिमका केही जिल्लामा महिनावारी भएका बखत महिलाले घरभित्र बस्न नपाउने र गाई, भैंसीको गोठ वा छाउगोठमा अलग्गै बस्नुपर्ने कुसंस्कारलाई विधेयकले दण्डनीय मानेको छ । त्यसरी गोठमा चार दिन बिताउनुपर्दा कतिपय महिलाले अकालमा ज्यान गुमाउनुका साथै बिरामी परेका र उनीहरूले अपमानबोध महसुस गरेका प्रशस्त उदाहरण छन् । राजधानी दैनिकमा खबर छ ।