१४ आश्विन २०८१, सोमबार
,
Latest
कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशेष छुट सम्झौता नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोल नियुक्त उसु टोली बंगलादेश जाने एभरेस्ट महिला भलिबल लिगमा ललितपुरले काठमाडौँलाई हरायो बाढीबाट इमाडोलका उद्योगहरुमा क्षति जतिसक्दो चाँडो नयाँ नेता चयन गर्ने हिजबुल्लाहको घोषणा प्रभावित क्षेत्रबाट सात सय १३ को हवाई उद्धार सरकारले पीडितहरुको उद्धार, राहत र पुनर्निर्माण अझै प्रभावकारी ढंगले अघि बढाउँछः प्रधानमन्त्री ओली कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बस्ने विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कथा अल्काट्रेजको…



अ+ अ-

विश्वको एक सुन्दर शहर सानफ्रान्सिस्को धेरैका निम्ति आकर्षक शहर हो । विश्वका थुप्रै देशबाट आउनेहरुका निम्ति यो शहर स्वर्गको एक सानो टुक्रा बराबर नै छ । समुद्री किनारको शहर, सदाबहार एकै रहने मौसम अनि सुन्दर अग्ला होचा पहाडमा बसेको मानव बस्ती । तर त्यही पेनिन्सुलाबाट साढे दुई किलोमिटरमा रहेको अर्को दुनिया यो भन्दा बिलकुल फरक रहेको भन्दा सायदै कमैले विश्वास गर्लान् । एउटा टापु जहाँबाट सानफ्रान्सिस्को शहर नजिकै देखिन्छ ।

लाग्छ मानौं पौडी खेलेरै छिनभरमै पारि पुगिन्छ तर अल्काट्रेज टापुको कथा भने बेग्लै छ । एउटा यस्तो टापु जसले करिव २९ वर्षसम्म सङ्घीय कारागारका रुपमा अपराधीहरुलाई राख्यो । सन् १९३४ देखि १९६३ सम्म करिव २९ वर्षमा टापुमा अमेरिकाका कुख्यात अपराधीहरुले अग्ला पर्खालभित्र दशकौँ समय बिताए । ल्हासामा सुन छ कान मेरो बुच्चै भने जस्तै छेवैमा रहेको सानफ्रान्सिस्को जस्तो सुन्दर शहरलाई ती कैदीहरुले केवल टाढाबाट हेर्न मात्र पाए, कतिले त हेर्नसम्म पनि पाएनन् ।

अल्काट्रेज टापु कुनै समयको सबैभन्दा सुरक्षित र कठोर कारागारका रुपमा प्रख्यात रह्यो ।अहिले कारागारलाई केही हदसम्म परिवर्तन गरेर र केही हिस्सा जस्ताको तस्तै राखेर सङ्गााहलय बनाइएको छ । ४१ अमेरिकी डलर तिरेर करिव १५ मिनेटको पानीजहाज यात्राबाट यस स्थान पुग्न सकिन्छ । यहाँ पुग्दा विगतका ती लामा अनि पट्ट्यार लाग्दो दिनहरुको कल्पना गर्न सकिन्छ ।

यस स्थलामा पुग्दा मनमा कतिपयका निम्ति कालो इतिहास र कतिपयका निम्ति अध्ययनको रुचिसहित मनमा छुट्टै आभास हुने गर्छ । वरिपरिको समुन्द्रबाट आउने एकैनास अनवरत चल्ने चिसो हावा अनि त्यो जेलका अग्ला अग्ला पर्खाल, सासाना झ्यालबाट चियाएर हेर्दा देखिने सानफ्रान्सिसको शहरको बाहिरी दृश्य तर त्यसबाट साढे दुई किलोमिटरको विलकुलै अलग दुनियाँ । हत्या, चोरी, डकैतीदेखि आर्थिक अनियमितताका आरोपीहरुले दशकौँ त्यहाँको करिब छ फिटको कोठाभित्र आफ्नो जीवन बिताएको त्यो पल सम्झिँदा मनमा अचम्मको अनुभूति हुन्छ ।

कुनै पनि मानिसले अपराध कल्पनासम्म पनि गर्न सक्दैन भन्दा फरक नपर्ला । कतिपय कैदीहरुको त्यो जमानाको अश्वेत फोटो अनि उनीहरुका नाम, लाग्थ्यो मानौँ उनीहरु व्यक्ति नभएर कुनै वस्तु हुन् । हो उनीहरु अपराधी नै थिए तर त्यहाँ केवल अहिले चासोका पात्र भएर तस्बिरमा झुन्डिएका छन् । ती कसैका आफन्त थिए तर कर्मको फल उनीहरु अपराधी भएर त्यहाँ पुगे र अहिले अन्यका निम्ति इतिहासको एक पात्र भएर बसेका छन् ।

ती तस्विरहरु मात्रै हेर्ने हो भने लाग्छ कुनै चलचित्रका नायकहरु हुन् उनीहरु । २९ वर्षको समयमा त्यहाँ राखिएका करिव १६ सय कैदी बन्दीमध्ये थुप्रैको अहिलेसम्म त निधन भइसकको छ भने कतिजना कहीँ कतै आफ्नो मृत्यु पर्खिरहेका छन् । आजीवन कारावासको सजाय सुनाइएका हुन् वा केही वर्षको समय कटाइरहेका हुन्, कतिपयले त्यहाँ आफ्नो समय व्यतित गर्न तस्बिर कोर्ने गरेको देख्न सकिन्छ । ती तस्बिर तिनै कैदीको खाली कोठाभित्र राखिएका छन् । तस्बिर बनाउन प्रयोग गरिएका सम्र्पूण सामान उनीहरुको कोठामा जस्ताको तस्तै राखिएको छ ।

त्यहाँभित्र पुग्दा सुनाइने रेकर्डेड आवाजमा त्यस समयका कैदीहरु बोलेको सुन्दा लाग्छ उनीहरु त्यहीँ कतै आफ्नो मुक्ति कुरिरहेका छन्, कुनै भित्ताबाट आप्mनो लामो पट्ट्यार लाग्दो समयको वर्णन गरिरहेका छन् । चिसो हावाको एकोहोरो आवाज अनि समुन्द्रको छालसँंग आफ्ना भावना अर्थहीन रुपमा पोखिरहेका छन् । त्यहाँभित्र पुगेपछि गराइने अडियो टुरमा सुनाइने आवाजका टुक्राहरुमा कैदीहरु भनिरहेका हुन्छन्, हरेक शुक्रवार र शनिवार उनीहरु सानफ्रान्सिस्को शहरको रात्रि कार्यक्रमको रमाइलोबाट आएका मसिना आवाज, सङ्गीतको धुन र हाँसो सुनेर समय बिताउने गर्थे । कैदीहरुकै आवाजमा त्यस समयको अनुभव सुन्दा स्वतन्त्रताभन्दा प्यारो अरु केही हुन्न भन्ने बुझ्न केही सेकेण्ड पनि लाग्दैन । कैदीहरुका निम्ति रहेको अग्ला पर्खालबीचको खेलमैदान अनि काम गर्न बनाइएका ठूला कोठाहरु, फलामै फलामको ढोकाभित्रको पुस्तकालय अनि चिसो ओसिलो ससाना फलामे कोठाहरु । शौचालय अनि बस्नलाई फलामे कुर्सी र त्यसको आडैमा फलामको पलङ ।

कति कैदीलाई त २४ सै घण्टा वर्षौँसम्म एकै स्थानमा राखिएको कथा सुन्दा जीवनको एक घण्टा पनि बर्षौँभन्दा लामो लाग्थ्यो । त्यहाँ फोनमा आइरहने आवाजको रेकर्ड सुनिइरहँदा लाग्थ्यो ती कैदीहरु पनि त्यहीँ छन् । उनीहरु हामीसँगै त्यो लामो समयको कहानीबाट आफ्नो अपराधको प्रायश्चित गर्दैछन्, मिल्ने भए सायद अपराधको कल्पनासम्म गर्ने थिएनन् होला ती अपराधीहरुले । त्यहाँ रेकर्डेड आवाजमा सुनाइएका मध्येका एक कैदी जेम्स कोलिनको आजावले भन्छ, ‘हाम्रो कुनै नाम थिएन, हामी मानव थिएनौँ हाम्रो केवल नम्बर थियो र मेरो नम्बर ५८६ थियो ।’

नयाँ कैदीहरु ब्रोडवे नामक सेलमा राखिन्थ्यो । त्यहाँ उनीहरुले प्रयोग गरेका तन्ना, सिरानी, डस्ना अझै पनि कतिपय सेलमा उस्तै अवस्थामा राखिएको छ । कैदीहरुले गर्ने व्यवहारले उनीहरु खेलमैदानमा जान पाउनेदेखि उनीहरुले खाने खानासम्म फरक पर्ने मात्रै नभएर कतिपयले आफ्नो पढाइसमेत पूरा गर्ने अवसर पाएका थिए । अत्यधिक चिसो हुने भए पनि अतिरिक्त क्रियाकलापमा भाग लिन पाउने कैदीहरु घण्टौँ बाहिरै बसेर खुसी हुने गरेको अनुभव कैदीकै आवाजबाट सुन्न सकिन्छ । अमेरिकाका सबैभन्दा प्रख्यात र कुख्यात कैदीहरु राखिने गरे पनि अहिले सम्झँदा भने तिनै कैदीमाथि पनि दया लागेर आउँछ । सुरक्षाका रुपमा अत्यन्तै कडा र समुद्रको बीचमा रहेको टापु नै भए पनि थुप्रै पटक कैदीहरुले भाग्ने प्रयास नगरेका पनि होइनन् ।

त्यस क्रममा सन् १९४६ मा भएको असफल प्रयास रोक्ने क्रममा तीन जना प्रहरीले आप्mनो ज्यान गुमाएका थिए । दुई कैदीको पनि ज्यान गएको थियो । पानीको बीचमा रहेको जेल भए पनि जेलको एक हिस्सामा पर्ने घामको मसिनो किरणले गर्दा त्यो सेल सबैको प्रिय कोठा रहेको बताइन्छ । त्यही कोठामा हुनेले हो सानफ्रान्सिस्कोको आवाज, सङ्गीत अनि हाँसो सुन्न पाउने अवसर ।

भौगोलिक रुपमा कठिन र सुरक्षाका हिसाबले कडा जेल भए पनि सन् १९६२ को जुन १२ को बिहान सम्पूर्ण अमेरिकानै अचम्म पर्ने घटना अगाडि आयो । कैदीहरुको गणना गर्दै हिँडेका सुरक्षाकर्मीले ११ तारिख राति जेलबाट तीन जना कैदी भाग्न सफल भएको थाहा भोलिपल्ट पाए । चम्चाको सहायताले भित्तामा खोपेर उनीहरुले आफ्नो भाग्ने योजना सफल बनाएका थिए । आजसम्म पनि उनीहरुको अवस्था के छ र कस्तो छ भन्ने पुष्टि हुन सकेको छैन । यो घटनाले पनि अल्काट्रेज आजसम्म पनि रहस्यको जेल बनेको छ । त्यसैले पनि यस जेलमा घुम्न जानेको सङ्ख्या बर्षको ११ लाखभन्दा धेरै रहेको छ ।

त्यस समय जेलबाट भाग्न सफल हुनेमा दाजुभाइ जोन एग्लिन, क्लेरेन्स एग्लिन र फ्र्याङ्क मोरिस रहेका छन् । उनीहरु भागेर स्वतन्त्र जीवन बिताउन सफल भए वा पानीको छाल र चिसोले ज्यान गुमाए अझैसम्म पनि एकिन भएको छैन । अल्काट्रेजको यो घटना अझै पनि सबैका निम्ति उत्तिकै चासोको विषय बनेको छ । आआफ्ना दावी, अनुमान भए पनि यी ती कैदी कहाँ छन् कसैले भेउ पाउन सकेको छैन ।

अमेरिकी प्रहरीले उनीहरुको खोजतलास बन्द गरे पनि अर्को निकाय मार्सलले उनीहरुको खोजी जारी नै रहेको बताएको छ । सन् २०३० मा त्यस कारागारबाट भागेका कैदीको उमेर १०० वर्ष पुग्ने भएपछि भने आधिकारिकरुपमा उनीहरुको खोजी बन्द हुने बताइएको छ । स्वच्छ खानेपानीदेखि अन्य आधारभूत अधिकारबाट कैदीहरु वञ्चित रहेको आरोप लागेपछि सन् १९६३ मा न्यायाधीश रोबर्ट एफ केनेडीले कारागार बन्द गर्र्ने फैसला सुनाए । कारागार आफैँमा रमाइलो स्थान भने होइन तर अल्काट्रेजको कथा आफैँमा अन्य कारागा भन्दा फरक र रोचक रहेको छ ।

कुनै जमानाको महत्वपूर्ण हिस्सा रहेको यस स्थान सङ्ग्रहालय बनेर नयाँ पुस्तालाई आफ्नो कथा सुनाइरहेको छ । कैदीहरुको झझल्को दिइरहेको छ । आफ्नो कर्मले मानिस कसरी स्वर्ग जस्तो स्थानको एकदमै नजिक भएर पनि नर्कमा बस्न पर्छ भन्ने सन्देश दिइरहेको छ भने अर्कोतिर भागेका तीन कैदीको उत्तर खोजिरहेको छ ।

– अमेरिकाको क्यालिफोर्नियामा रहेका लेखक पूर्व टेलिभिजन पत्रकार हुन् ।