काठमाडौँ । आगामी शुक्रबार र शनिबार काठमाडौँमा हुने लगानी सम्मेलनका बारेमा सकरात्मक कुरा लेख्न उद्योगी व्यवसायीहरुले मिडियाहरुलाई आग्रह गरेका छन् । विदेशी लगानीलाई झन्झटरहित बनाउन धेरै सुधारको प्रयास भइरहेको भन्दै यो बेला नकारात्मक समाचार लेख्दा विदेशी लगानीकर्ताहरुको मनोवल घट्न सक्ने बताए
सम्मेलनका विषयमा जानकारी दिन बुधबार अर्थ मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सम्मेलन अवधिभर नकरात्मक समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गरेका हुन् ।
‘मिडियाहरुले पनि यो दुई–चार दिन साना साना नेगेटिभ कुराहरु प्रचार प्रसार नगरौं, विदेशीहरुले बडो चाखपूर्वक पढ्छन्, यतिबेला कम्तिमा राम्रा कुरा मात्रै लेखौं’, अध्यक्ष शर्माले भने, ‘लामो समयपछि यति ठूलो संख्यामा विदेशी लगानीकर्ता आउनु सुखद पक्ष हो, यसलाई हामीले सकरात्मक ढंगबाट हेर्नु पर्यो ।’
विदेशी लगानीलाई झन्झटरहित बनाउन धेरै सुधारको प्रयास भइरहेको भन्दै उनले यो बेला सकारात्मक कुरा प्रवाह गर्न सके मुलुककै लागि फाइदा पुग्ने भन्दै त्यसतर्फ सोचिदिन सञ्चार माध्यमहरुसँग आग्रह गरे ।