१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुस र भेनेजुएलाबीच महत्वपूर्ण २० सम्झौता हुँदै



अ+ अ-

काराकास । रुस र भेनेजुएलाबीच ऊर्जा र शिक्षा समेतका विभिन्न क्षेत्रमा सहयोग सम्बन्धी २० वटा विषयमा सम्झौता हुन लागेको भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बताएका छन् ।

‘अप्रिलमा रुस र भेनेजुएलाबीच अन्तरसरकारी सहयोग सम्बन्धी उच्चस्तरीय कार्यदलको बैठक बस्दैछ । बैठकले आर्थिक, व्यापारिक, सांस्कृतिक, ऊर्जा र शिक्षासम्बन्धी २० वटा दस्तावेजमा हस्ताक्षर हुनेछ,’ रुसी समाचार समिति ताससँगको अन्तर्वार्तामा राष्ट्रपति मदुरोले बताए ।

दुईवटा रुसी सैनिक विमान १०० सैनिकका साथ भेनेजुएलाको काराकास उत्रेको भोलिपल्टै राष्ट्रपति मदुरोको यस्तो भनाई सार्वजनिक भएको हो ।

राष्ट्रपति मदुरोले अमेरिकी नेतृत्वमा आएको भनिएको मानवीय सहायता ‘नक्कली’ भन्दै रुसले वास्तविक मानवीय सहायता पठाएकामा रुसलाई धन्यवाद दिए । ‘दुई साताअघि कैयौं टन सहायता सामग्री रुसबाट आइपुग्यो । सहयोगको अर्को खेप पनि प्राप्त हुने आशा गरेका छौं र हामीलाई सबैभन्दा बढी आवश्यकता औषधिको हो ।’

गत साता राष्ट्रपति मदुरोले रुसबाट औषधि प्राप्त हुने बताएका थिए । गत फेब्रुअरीमा कोलम्बियासँगको सीमामा अलपत्र परेको मानवीय सहायता सामग्री राष्ट्रपति मदुरोले रोकिदिएका थिए । उनले अर्को आदेश नभएसम्म ब्राजिलसँगको सीमा पनि बन्द गर्न आदेश दिएका छन् ।

गत जनवरीमा विपक्षी नेता हुँवा गुएइदोले आफूलाई मुलुकको आधिकारिक राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलामा आर्थिक तथा राजनीतिक सङ्कट उत्पन्न भएको छ । संयुक्तराज्य अमेरिकासहित अधिकांश युरोपेली राष्ट्रहरुले गुएइदोलाई अन्तरिम राष्ट्रपतिका रुपमा मान्यता दिएका छन् तर रुस, चीन, टर्की समेतका केही देशले मदुरोलाई समर्थन जनाएका छन् ।

राष्ट्रपति मदुरोले अमेरिकाले गुएइदोको आडमा आफूलाई सत्ताच्यूत गर्न लागिपरेको आरोप लगाउँदै आएका छन् । अन्तर्राष्ट्रिय समुदायले तत्काल भेनेजुएलामा निर्वाचन गराउनुपर्ने माग गरिरहेका छन् ।

अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्न आर्थिक प्रतिबन्धहरु घोषणा गर्नुका साथै भेनेजुएलाको राज्य नियन्त्रित तेल कम्पनी पिडिभिएसएसँग इन्धन खरिद नगर्ने जनाएको छ । –एएनआई