६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्नेभन्दा बचाउने महान् : भगवान् गौतम बुद्ध र सारसको कथा



अ+ अ-

भगवान् गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ थियो । महाराज शुद्धोदनले उनका लागि एउटा भिन्नै ठूलो बगैँचा बनाइदिएका थिए । सोही बगैँचामा उनी एक दिन टहलिरहेका थिए । त्यसैबेला आकाशबाट एउटा सारस चिच्याउँदै भुइँमा खस्यो । राजकुमार सिद्धार्थले दौडेर त्यो पक्षीलाई समाए । कसैले सारसलाई बाणले हानेको थियो । त्यो बाण अझै पनि सारसको शरीरमा रोपिएको अवस्थामा थियो ।

राजकुमार सिद्धार्थले पक्षीको शरीरबाट बाण निकालिदिए । उनले बाण लाग्दा कस्तो हुन्छ भनेर त्यही बाण दाहिने हातले आफ्नो देब्रे हातमा घोचे । बाणले घोच्ने बित्तिकै राजकुमारको आँखाबाट आँसु आउन थाल्यो । उनलाई आफ्नो पीडाप्रति ध्यान थिएन । उनी त बिचरा पक्षीलाई कति पीडा भएको होला भन्ने सोचेर रोएका थिए ।

राजकुमार सिद्धार्थले सारसको घाउ पखालिदिए । त्यो घाउमा केही पातको रस निचोरेर काखमा राखेर प्रेमपूर्वक सुमसुम्याउँदै लगाइदिए । यतिकैमा अर्का कुमार देवदन्तको स्वर सुनियो, ‘मेरो सारस यहाँ खसेको छ कि ?’

कुमार देवदन्त राजकुमार सिद्धार्थका काकाका छोरा थिए । उनी अत्यन्त कठोर स्वभावका थिए । शिकार गर्दा उनलाई आनन्द आउँथ्यो । सारसलाई उनैले बाण प्रहार गरेका थिए । राजकुमार सिद्धार्थको काखमा सारसलाई देखर त्यहाँ दौडिँदै आएर देवदन्तले भने, ‘यो सारस त मेरो हो, मलाई देऊ ।’

सिद्धार्थले भने, ‘तिमीले यसलाई पालेका हौ ?’
देवदन्तले भने, ‘मैले यसलाई बाण प्रहार गरेको छु, त्यहाँ हेर त मेरो बाण त्यहीँ छ ।’

राजकुमार सिद्धार्थ, ‘तिमीले यसलाई बाण प्रहार गरेको ? बिचरा निरपराध पक्षीलाई तिमीले किन बाण प्रहार गर्यौ ? बाण लागेपछि अत्यन्त धेरै पीडा हुन्छ । यो मैले आफ्नो हातमा बाणले घोचेर थाहा भएको हो । म तिमीलाई यो सारस दिन्नँ । जब यो निको हुन्छ म यसलाई उडाइदिन्छु ।’

कमार देवदन्त त्यति सोझो र सरल थिएनन् । उनी सारसका लागि झगडा गर्न थाले । कुरा महाराज शुद्धोदनकहाँ पुग्यो । महाराजले दुवै भाइका कुरा सुने ।

उनले देवदन्तसँग सोधे, ‘तिमी यो सारसलाई मार्न सक्छौ ?’

देवदन्तले भने, ‘तपाइँ मलाई त्यो सारस दिनुस्, म अहिले नै त्यसलाई मारिदिन्छु ।’

महाराजले सोधे, ‘तिमी फेरि त्यसलाई जीवित बनाउन सक्छौ ?’

देवदन्तले भने, ‘मरेको प्राणी कतै फेरि जीवित हुन्छ र ?’

महाराजले भने, ‘जसले पशुपक्षीलाई मार्छ त्यसमा मार्नेको अधिकार हुन्छ भन्ने शिकारको नियम हो, त्यो ठीक छ । यदि सारस मरेको भए त्यसमा तिम्रो अधिकार हुन्थ्यो । तर मर्न लागेको प्राणीलाई जीवनदान जसले दिन्छ त्यो प्राणीमाथि उसकै अधिकार हुन्छ, मार्न खोज्नेको हुँदैन । सिद्धार्थले सारसलाई बचाए त्यसैले सारस सिद्धार्थको हो ।’

राजकुमार सिद्धार्थले घाइते सारसलाई लिएर गए । जब सारसको घाउ निको भयो उनले त्यसलाई उडाइदिए ।