काठमाडौं । वाईवाई यू–१९ पुरुष क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ ।
सुदुरपश्चिम प्रदेशलाई ११३ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।
लुम्बिनीले दिएको २१३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २८.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमा अलआउट हुन पुग्यो ।
सुदुरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनाउँदा कप्तान खडक बोहराले २१, शेर मल्लले १५ तथा नारायण जोशी ११ रन जोडे ।
लुम्बिनीका अजय चौहानले सर्वाधिक ५ विकेट लिए भने दुर्गेश गुप्ताले ३ तथा मोहम्मद हुसेनले २ विकेट लिए ।
त्यसअघि कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१२ रन बनाएको थियो।
लुम्बिनीका लागि कप्तान देव खनालले ९५ बलमा सर्वाधिक ७० रनको योगदानी दिए ।
यस्तै विशाल विक्रम केसीले ५१ रन, दुर्गेश गुप्ताले ३२ तथा प्रज्वल थापाले २४ रन जोडे भने सुदुरपश्चिमका आकाश चन्दले सर्वाधिक ३ विकेट लिए । शेर मल्ल र हेमन्त धामीले २–२ विकेट लिए ।
राउण्ड रोबिनका आधारमा लुम्बिनी र सुदूरपश्चिम शीर्ष दुईमा रहेर फाइनल खेलेका थिए ।