
काठमाडौँ । नयाँ वर्षको नयाँ बिहानीसँगै प्रधानमन्त्री निवास बालुवाटारबाट जनताको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारप्रति आफू कठोर रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सुशासनको शत्रु भ्रष्टाचार भएको बताए । ‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा ‘मुखमा पानी हालेर नबोल्ने– भ्रष्टाचारीलाई कार्वाही गर्दा त्यसको मुख नहेर्ने’ मेरो दृढ सार्वजनिक घोषणा हो,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन । परम्परा हैन । हामी नेपाली मिहेनत र पसिनाको कमाइमा विश्वास गर्छौं ।’
तामो–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, बर–पिपल वा दोबाटाको चुच्चे ढुङ्गालाई साक्षी राखी गर्दिनँ भनेको काम/कुरा नगर्ने इमान भएको जाति नेपाली हो । तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन, हुनै सक्दैन, उनले भने ।
सुशासन, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्दति, सवल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान’ ‘सुखीपन’का सूचक भएको प्रधानमन्त्री ओलीले बताए ।
उनले जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै जाने बताए । ‘राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिने छैन’,प्रधानमन्त्री ओलीले भने,’ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक नै छ ।’
हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ









