
काठमाडौं । संयुक्तराज्य अमेरिका र जापानबीच वासिङ्टन डिसीमा सोमबारदेखि व्यापार वार्ता शुरु हुँदैछ । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीबीच दुई दिने वार्ता हुन लागेको हो ।
गत साता टोकियोमा अर्थमन्त्री मोटेगीले सोमबारको वार्तामा दुई देशबीच देखिएका व्यापार सम्बन्धी मुख्यमुख्य विषयमा छलफल हुने बताएका थिए । उनले वार्ता मुख्यतः जापान र अमेरिकाका सामानका विषयमा केन्द्रित हुने जानकारी दिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका परम्परागत व्यापार साझेदारसँग पनि नयाँ सम्झौता गर्ने घोषणा गरिसकेका छन् । उनले अमेरिकी निर्यात वृद्धि गर्ने तथा वासिङ्टनको बढ्दो व्यापार घाटा कम गर्ने उपायका रुपमा अरु मुलुकमाथि करवृद्धि र चेतावनी दिए ।
गत वर्ष मे महिनामा राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनलाई विदेशी कार र जगेडा पार्टपूर्जामा २५ प्रतिशतसम्म करवृद्धि गर्ने सम्भावनाको खोजी गर्न आदेश दिएका थिए ।









