१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओमिक्रोन’ बारे स्वास्थ्य मन्त्रालय भन्छ- अलि बढी संक्रामक छ भनिएपनि अनुसन्धानकै क्रममा



अ+ अ-

काठमाडौं । नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । मंसिर १९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा दुई विदेशी नागरिकहरुमा ओमिक्रोन पुष्टि भएको हो । नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पुष्टि भएको यो पहिलो केस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनु भयो । उहाँले संक्रमण पुष्टि भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरुमा कुनै लक्षण नभएको बताउनु भयो ।

सह प्रवक्ता अधिकारीकाअनुसार संक्रमित दुवैजना स्वास्थ्यकर्मीको निगरानीमा रहेको र उनीहरुको सम्पर्कमा आएकाहरुलाई मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ गरी छुट्याएर राखिएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको बताउनु भयो ।

सहप्रवक्ता अधिकारीले भन्नुभयो, ‘अहिले पछिल्लो समय नयाँ भेरियन्टका रुपमा ओमिक्रोन देखिएको छ । त्यो देखिएको भेरियन्ट अहिलेसम्म ३५ वटा देशहरुमा ५७४ जनामा पुष्टि भएको छ । यिनै कुराहरुलाई मध्यनजर गरेर नेपाल विदेशबाट आउने मानिसहरुमा स्वास्थ्य अवस्था गम्भीर हुनसक्ने, उहाँहरुले अरु व्यक्तिलाई सार्न सक्ने कुरालाई मध्यनजर गरेर हामीले निगरानी बढाएका छौँ । पछिल्लो समय विदेशबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनको कुराहरु र टेस्ट गर्ने कुराहरु, पोजेटिभ आए त्यसको सिक्वेन्सिङ गर्ने कामहरु बढाएका छौँ । पछिल्लो समय विदेशबाट आउनु भएका दुई जना नागरिकहरु जसलाई शंका लागेर परीक्षण गर्न हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका थियौँ । जसमा १९ गते राती कोरोना संक्रमण पुष्टि भयो । दुई जना विदेशी नागरिकहरुमा ओमिक्रोन नयाँ भेरियन्ट पुष्टि भएको हो । यो पहिलो संक्रमण हो । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ । उहाँहरुमा कुनै लक्षणहरु पनि छैन । उहाँहरु स्वास्थ्यकर्मीहरुको निगरानीमा हुनुहुन्छ । उहाँहरुको सम्पर्कमा आउनुभएका व्यक्तिहरु खोजतलास गरेर उहाँहरुलाई छुट्याएर राखेका छौँ । कन्ट्याक्ट टे«सिङ गरेर सबैको परीक्षण गर्दा ६६ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’

सहप्रवक्ता अधिकारीले सरकारले विभिन्न नाकाहरुमा तीव्रताका साथ निगरानी बढाएको बताउनु भयो । उहाँले यो भेरियन्टको लक्षण र असर पहिलेको भाइरससरह नै भएको बताउनु भयो । सहप्रवक्ता अधिकारीले यसबाट बच्नका लागि मास्क लगाउने, सरसफाइमा ध्यान दिने, हात धुने काम गर्नुपर्ने बताउनु भयो । उहाँले यसबाट जनस्वास्थ्यको सुरक्षाका लागि सरकारले खोपको व्यवस्थापन, स्वास्थ्यका मापदण्डहरुमा केन्द्रित भएको र आवश्यक अस्पताल, शैय्या र भेन्टिलेटर आदिको व्यवस्था पनि गरेको बताउनु भयो ।

सहप्रवक्त अधिकारीले भन्नुभयो, ‘सरकारले आफूले लिइराखेको रणनीतिअनुसार निगरानीको पाटोलाई चुस्तदुरुस्त बनाउने गरी अझ सुदृढ तरिकाले कामहरु अघि बढाएको छ । नाकाहरुमा त्यसैअनुसार निर्देशन दिइएको छ । यो नयाँ भेरियन्ट आएपनि यसका लक्षण, संक्रमण फैलिने तरिकाहरु पहिलेकै भाइरस जस्तो हो । अलि बढी संक्रामक छ भनिएपनि तर यसका धेरै कुराहरु अध्ययन, अनुसन्धानका क्रममा छन् । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हातको सरसफाइमा ध्यान दिने कुराहरु गरेमा संक्रमण फैलिनबाट रोक्न सकिन्छ । कोभिड १९ बिरुद्धको खोप अभियान जुन हामीले सञ्चालन गरिरहेका छौँ, सरकारले निःशुल्क खोप दिने जुन व्यवस्था गरेको छ, त्यसअनुसार खोप लगाउँदै गयाँै भने नयाँ भेरियन्टले पनि पार्न सक्ने स्वास्थ्य जटिलतालाई रोक्न सक्छ । सरकारले निगरानीको पाटो, जनस्वास्थ्यका मापदण्डका कुराहरु, खोप अभियान र अस्पताल व्यवस्थापनका पाटोहरुमा केन्द्रित भएर सम्बन्धित निकायहरुसँग समन्वय गरेर कामहरु गरेको छ ।’

सहप्रवक्ता अधिकारीकाअनुसार छिमेकी देश भारतमा नयाँ भेरियन्टका संक्रिमित बढीरहेकोले नेपालमा पनि संक्रमित बढ्न सक्ने सम्भाव्यतालाई मध्यनजर गरी विदेशबाट आउने नागरीकहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरेको बताउनु भयो । उहाँले नयाँ भेरियन्टबाट बच्नको लागि देशभित्रै रहेका मानिसहरुले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेमा संक्रमण बढ्नबाट रोक्न सकिने बताउनु भयो ।