१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले वृद्धि गरिएको हवाई भाडादर नियन्त्रण गर्छ: मन्त्री दाहाल



file photo
अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताउनुभएको छ ।

दशैँजस्ता चाडपर्वका बेला अत्याधिक मात्रामा हवाई भाडा वृद्धि गरिएको उल्लेख गर्दै उहाँले त्यसलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको हो । सोमबार काठमाडौंमा आयोजित ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री दाहालले सो भाडादर नबढाउनका लागि आफूहरुले नागरिक उड्डयनका क्षेत्रका व्यवसायीहरुसँग कुरा गरिरहेको समेत बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हाललाई सो भाडा वृद्धि नगर्न सम्बन्धित व्यवसायीहरुलाई अनुरोध गरेको स्मरण गराउदै त्यस अनुसार काम नभए सरकारले त्यसको नियमनको कामलाई कडाई गर्ने मन्त्री दाहालले बताउनु भयो ।

उहाँले भन्नुभयो,‘यो चाडबाडको बेलामा हवाई भाडा धेरै अत्याधिक वृद्धि हुनेकुरा उठेको छ । त्यस कुरालाई नियन्त्रण गर्नुपर्छ भन्ने मलाई लाग्छ । यही दशैंको बेलामा ५ हजार, ६ हजार भाडा भएका ठाउँहरुमा १७ हजार, १८ हजारसम्म भाडा वृद्धि भएको कुरा देखिएको छ । त्यसले गर्दा हामीले नागरिक उडडयन अथवा त्यो उड्डयनसँग सम्बन्धित व्यवसायीहरुलाई पनि हामीले अनुरोध गरेका छौं । हाम्रो सम्माननीय प्रधानमन्त्रीजीले नै अनुरोध गर्नुभएको छ कि यो बेलामा तपाईहरुले यसरी भाडा नबढाउनुस् भनेर । हामीले व्यवसायीसँग भाडा नबढाउन अनुरोध नै गर्ने हो । त्यो पनि नभए नियमन हुन्छ, गरिन्छ ।’

मन्त्री दाहालले बाढी, पहिरो र डुबानका कारण सिंगो मुलुक दु:खमा परेको उल्लेख गर्दै पीडितलाई राहत दिने, घाइतेहरुको उपचार गर्ने र क्षति भएका भौतिक पूर्वाधार निर्माणको काममा सरकार लागि परेको बताउनु भयो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मात्रै विपद्का कारण करिव २५ अर्ब, २५ करोड क्षति भएको अनुमानित आँकडा प्रश्तुत समेत गर्नुभयो ।

मन्त्री दाहालले भन्नुभयो, ‘यतिबेला एकदमै दु:खमा छौं हामी । १८८ जना भन्दा बढिको मृत्यु भएको छ यो बाढीको कारणले गर्दा । र ४१ जना वपेत्ता हुनु भएको छ । झन्डै ४ हजार जतिलाई हामीले उद्धार गरेका छौं । थुप्रै घाइते हुनुभएको छ । त्यसले गर्दा यो अवस्था छ अहिले निकै कठिन अवस्था छ । प्राकृतिक प्रकोपले हामीलाई यस्तो अवस्था सृजना गरिदिएको छ । र, हाम्रो मन्त्रालयसँग सम्बन्धित अहिले प्रारम्भिक अनुमान अनुसार २५ अर्ब २५ करोड बराबरको क्षति भएको छ । पुलहरु नष्ट भएका छन् । बाटाहरु नष्ट भएका छन्, झोलुंगे पुलहरु नष्ट भएका छन् । बेलिब्रिजहरु बगाएको छ । यस्तो अवस्था छ । र अरु मन्त्रालयसँग सम्बन्धित पनि धेरै ठूलो नोक्शानी भएको छ । अथवा देशको भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो नोक्शानी भएको छ । र म यही कार्यक्रममार्फत ती ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु । र घाइतेहरुको उपचारका लागि सरकारले जिम्मा लिएको छ । घाईतेहरुको पूर्ण रुपले नि:शुल्क उपचार गर्ने घोषणा पनि गरेको छ । र बेपत्ताहरुको खोजी पनि भईरहेको छ । यो अवस्थामा हामी छौं ।’

मन्त्री दाहालले मुलुकले भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो नोक्शानी व्यहोर्नु परेको भन्दै पुनर्निर्माणको कामलाई तिब्रता दिने बताउनु भयो ।