
वासिङ्टन । भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ ।
बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो ।
संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राज्य नियन्त्रित पेट्रोलिओस डी भेनेजुएला (पीडीभीएसए) वा भेनेजुएला सरकारको ५० प्रतिशतभन्दा बढी लगानी रहेका कुनै पनि निकायबाट तेल आयात गर्नेहरुमाथि कारर्बाही गर्नेछ ।
सङ्कट आउनुअघि भेनेजुएलाले प्रतिदिन पाँच लाख ब्यारेल तेल संयुक्तराज्य अमेरिका निकासी गरिरहेको थियो । अमेरिका नै भेनेजुएलाको सबैभन्दा ठूलो तेलको ग्राहक मुलुक हो ।
तर पनि प्रतिबन्धको असर भेनेजुएलाको अर्थतन्त्रमा पर्नेछ । भेनेजुएलासँग तेलको कारोबार गर्ने अरु कम्पनीमाथि पनि अमेरिकाले निगरानी गर्नेछ जसबाट भेनेजुएलामाथि थप दबाब सिर्जना हुनेछ ।
तर भारतीय कम्पनीहरुले अमेरिकी प्रतिबन्धसँगै तेल खरिदमा कमी गर्न थालिसकेका छन् । मदुरोको शासनलाई समर्थन जनाएका चीन र रुसले भेनेजुएलालाई आर्थिक तथा राजनीतिक मद्दत गरिरहेका छन् ।
भेनेजुएलाको लडखडाएको अर्थतन्त्रमा तेल नै जीवनरक्षक हो । भेनेजुएलाको कूल निर्यातको झण्डै ९६ प्रतिशत तेल निकासीबाट आम्दानी हुने गर्दछ ।










