६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रातो हाब्रे संरक्षणका लागि धामी झाँक्री नाटक



अ+ अ-

खलङ्गा । कर्णालीमा पाइने लोप हुँदै गइरहेको रातो हाब्रे (रेड पाण्डा) संरक्षणमा सरोकारवाला निकायहरु जुटेका छन् ।

रेडपाण्डा संरक्षण गरिनुपर्ने विषयमा जनचेतनामूलक कार्यक्रमसमेत अघि सार्ने र पूर्वाधार तयार गर्ने विषयमा स्थानीय सरोकारवाला निकाय र सामाजिक सङ्घसंस्थाहरु अघि बढेका हुन् । रेडपाण्डालगायत वन्यजन्तु संरक्षण अभियानमा यहाँका धामी–झाँक्री, आमा समूह र युवा जनचेतनामूलक कार्यक्रम तथा सकारात्मक प्रचार कार्यक्रमसहित जुट्ने भएका हुन् ।

सो दुर्लभ जीव संरक्षणका लागि जुम्लामा रेडपाण्डा नेटवर्कको समेत केही साताअघि गठन गरिएको छ । रेडपाण्डा नेटर्वको सहयोग तथा हातेमालो नेपाल जुम्लाको समन्वयमा मङ्गलबार जुम्ला सदरमुकाममा भएको अभिमुखीकरणमा संरक्षणमा सबै जुटेर अघि बढ्नुपर्ने प्रतिबद्धता जनाएका छन् । रेडपाण्डाको बासस्थान विनाश, खण्डीकरण, चोरी सिकारी र संरक्षित क्षेत्रमै सङ्ख्या कम हुनु संरक्षणका मुख्य चुनौती रहेकाले रेडपाण्डाको संरक्षणमा जुट्ने योजना बनाइने बताइएको छ ।

यसका साथै रातो हाब्रेको बासस्थान पहिचान गर्ने, नियमित अनुगमन गर्ने, सामुदायिक वनका पदाधिकारीहरुलाई सशक्तीकरण गरेर बासस्थानको संरक्षण गर्ने कार्यमा सरिक हुनुपर्ने सरोकारवालाहरुको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक सीताराम रिजालले वन्यजन्तुको चोरी–सिकारी गरेमा कसैलाई छुट गर्न सकिने अवस्था नरहेको जानकारी गराउनुभयो । गाउँमा रहेका धामी झाँक्रीले वन्यजन्तु संरक्षणका लागि सचेत गराउन सक्ने भएकाले सक्रिय हुन उहाँले आग्रह गर्नुभएको छ ।

कार्यक्रममा सहभागीले रातो हाब्रेका बारेमा पहिले जानकारी नपाएको भन्दै उहाँले संरक्षणका लागि पहल गर्ने प्रतिबद्धता गरेका छन् । वनमा जाँदा जथाभावी आगलागी गर्ने, खुल्ला चरिचरन गर्ने परम्परालाई कम गर्दै खाली रहेको जग्गामा बोटबिरुवा लगाउनेमा ध्यान दिनुपर्ने स्थानीयवासी जोड रहेको छ ।