१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियामा बन्ने भयो पृथ्वीको ‘ब्ल्याक बक्स’



अ+ अ-

मेलबर्न । विमानको ब्ल्याक बक्सका बारेमा तपाईंले प्रायः सुन्नु भएको होला तर अब पृथ्वीको पनि ब्ल्याक बक्स बन्न गइरहेको छ । पृथ्वीको यो ब्ल्याक बक्सले जलवायु परिवर्तन र अन्य मानव निर्मित खतराहरू रेकर्ड गर्नेछ। यससँगै मानव सभ्यताको पतनको कथा पनि लेखिनेछ । यो ब्ल्याक बक्स करिब ३२ फिट लामो हुनेछ र कहिल्यै टुट्न नसक्ने स्टीलको बनाइनेछ। यो अस्ट्रेलियाको तस्मानियामा बन्नेछ ।

यो स्टिलको ब्ल्याक बक्सलाई हार्ड ड्राइभले भरिनेछ जसमा पृथ्वीको विनाशको पूर्ण विवरण ‘बिना पूर्वाग्रह’ रेकर्ड गरिनेछ। यो ब्ल्याक बक्सले जलवायुको तापक्रम, समुद्रको सतह, जलवायुमा कार्बनडाइअक्साइडको मात्रा र अन्य धेरै कुराहरूबाट तथ्याङ्क सङ्कलन गर्नेछ, जसले मानवजातिले जलवायु प्रकोपलाई रोक्न कसरी असफल भयो भन्ने कुराको दस्तावेजीकरण गर्नेछ। यो विमानमा जडान गरिएको ब्ल्याक बक्सजस्तै हुने अनुसन्धानकर्ताहरूले बताएका छन् । विमानमा भएको ब्ल्याक बक्सले विमानको स्थिति रेकर्ड गर्छ र दुर्घटना भएमा आवश्यक जानकारी दिन्छ।

सौर्य ऊर्जाबाट चल्ने 

यसैबीच यदि पृथ्वी ध्वस्त भयो र यसमा कोही बाँचे भने, त्यो व्यक्तिले यो ब्ल्याक बक्स कसरी प्रयोग गर्ने हो भन्नेबारेमा  वैज्ञानिकहरू अझै  काम गरिरहेका छन् । मानवको सानो समूह मात्र बाँच्न सक्छ र उनीहरूले कसरी ठूलो आगो, बाढी र खडेरीले मानव सभ्यताको अन्त्य ल्यायो भन्नेबारेमा थाहा पाउन सक्षम हुनेछन् भन्ने विश्वास गरिन्छ । सौर्य ऊर्जाबाट चल्ने यो बक्सको मूल्य कति पर्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

यो ब्ल्याक बक्सको निर्माण सन् २०२२ को मध्यबाट सुरु हुँदैछ । यो सन् १९६८ को फिल्म  ‘२००१ : ए स्पेस ओडिसी’ मा देखाइएको ब्ल्याक मोनोलिथसँग मिल्दोजुल्दो हुने बताइएको छ । यो परियोजनालाई मार्केटिङ कम्पनी क्लेमेन्जरले बीबीडीओ युनिभर्सिटी अफ तस्मानियाको सहयोगमा बनाइरहेको छ । पृथ्वीमा आगामी वर्षहरूमा मानव सभ्यता समाप्त भएमा बाँच्नेहरूले यसबाट के भयो भन्ने थाहा पाउन् भन्ने आफ्नो उद्देश्य रहेको कम्पनीले बताएको छ । 

ब्ल्याकबक्सका लागि तस्मानिया छनोट गर्नुपर्ने कारण

माल्टा, नर्वे र कतारमा पनि यो ब्ल्याक बक्स राख्ने विषयमा छलफल भएको थियो तर तस्मानियाको भूराजनीतिक र भौगोलिक स्थिरता राम्रो रहेको पाइएको थियो । तस्मानियामा सूर्य उदाउँदा सौर्य ऊर्जाको सहायताले वैज्ञानिक डाटा रेकर्ड गरिने बताइएको छ । यसमा समुद्री सतह, तापक्रम, महासागरको अम्लीयकरण, कार्बन डाइअक्साइड, जीवहरूको विलुप्तता, विश्वका विभिन्न ठाउँमा भू–उपयोगमा हुने परिवर्तन आदि पर्छन्।