१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सरकारी स्वामित्वको जग्गा किर्ते गरी पास, संगठित गिरोहका १९ जना पक्राउ १२ फरार

सरकारी स्वामित्वको जग्गा किर्ते गरी पास, संगठित गिरोहका १९ जना पक्राउ १२ फरार
अ अ+ अ-

काठमाडौं । बाँके र बर्दियामा ‘संगठित भूमाफिया गिरोह’ले मालपोतका कागजात किर्ते गरी सरकारी जग्गा नामसारी गरेको रहस्य खुलेको छ। मालपोत कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ गरी सरकारी स्वामित्वको जग्गा किर्ते कागज बनाएर आफन्तका नाममा पास गरेको फेला परेको हो।

प्रहरी अनुसन्धानले बर्दियामा ६ बिघाभन्दा बढी र बाँकेमा ११ कठ्ठाभन्दा बढी जग्गा किर्ते गरी पास गरेको फेला पारेको छ। एक जनाको अपहरणपछि हत्या भएपछि यसबारे रहस्य बाहिर आएको हो।

२१ माघ २०७५ मा भारतको बहराइच थाना मोतीपुर घर भई नेपालगन्ज–१६ जयसपुरमा डेरा गरी बस्ने जुनेद अन्सारी अपहरणमा परे। अपहरणको भोलिपल्ट भारतको उत्तरप्रदेशमा पर्नेमा नबाबगन्जमा जलाएर उनको हत्या भयो। २३ माघमा मृतककी पत्नी गौरी मल्ल अन्सारीले नेपालगन्ज उपमहानगर–३ बस्ने खैरुल भन्ने कौशल अन्सारीले पतिको अपहरण गरी हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन्। प्रहरीले हत्याबारे अनुसन्धान गर्दा भूमाफियाको रहस्य खुलेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता टीकाबहादुर कार्कीले बताए।

मालपोत कर्मचारीसँग सेटिङमा जुबेर र खैरुल मिलेर मालपोत कार्यालयका किर्ते कागज बनाई सरकारी जग्गा आफन्तको नाममा पास गरेको भेटिएको छ। जग्गाको कागजात जुबेरले राख्ने गरेका थिए। कागजका विषयमा विवाद हुँदा खैरुलसहित ५ जनाले जुबेरको हत्या गरेको प्रहरीको अभियोग पत्रमा उल्लेख छ। ३ वर्षदेखि किर्ते काम भइरहेको अभियुक्तले प्रहरी र अदालतमा दिएको बयानमा उल्लेख छ।

मालपोत कर्मचारीसँग मिलोमतोमा सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेका जग्गाका सक्कली जग्गाधनी पुर्जा र फाँटवारी निकालेर स्रेस्ता जीर्ण रहेको भनी किर्ते कागजात खडा गरी जग्गा आफन्तको नाममा ल्याउने गरेका थिए। यो कार्यमा मालपोतका पियनदेखि प्रमुखसम्म १६ जना कर्मचारी संलग्न भएको खुलेको छ।

सरकारी कागजात भर्ने, दृष्टिबन्धक पारित गर्ने, दृष्टिबन्धक लिखतको रजिस्ट्रेसन फाँटको काम गर्ने, स्रेस्ताको नक्कल दिने, स्रेस्ताको प्रतिलिपि प्रमाणित गर्ने, जग्गा हाल साविक गर्ने, तीनपुस्ते कायम गर्ने, तीनपुस्ते निर्णय कायम निर्णय सदर गर्ने, नामसारी निर्णय पर्चा खडा गर्ने, कम्प्युटरमा इन्ट्री सदर गर्ने, मोठ भिडाउने, भिडिसकेको मोठलाई पुनः रोक्का भिडाउने, राजस्व रसिद काट्ने, कम्प्युटरमा जग्गा इन्ट्री गर्ने, तोक लगाएर जग्गाको नामसारी सदर गर्ने, स्रेस्ता उतार गर्ने मालपोत कार्यालय बर्दियाका प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवालीसहित, हाल कैलाली भूमिसुधार तथा मालपोेत कार्यालयका प्रमुख दीर्घबहादुर पोखरेलसहित ३१ जना सहभागी भएको जिल्ला अदालत बाँकेमा मुद्दा विचाराधीन छ। ६ जना मालपोत अधिकृत किर्ते काण्डमा मुछिएका छन्।

१२ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश रामप्रसाद बस्यालले सरकारी कागज किर्ते गरेको अभियोगमा १६ जनालाई पुर्पक्षमा जेल चलान र ३ जनालाई जनही एकएक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए। अपहरण गरी ज्यान मारेको भन्दै खैरुलसमेत ५ जना संलग्न भएको खुलेको छ। घटनामा संलग्न भनिएका ४ सर्वसाधारण र ८ मालपोत कर्मचारी गरी १२ जना अझै फरार छन्।

बर्दियामा ६ बिघाभन्दा बढी र बाँकेमा ११ कठ्ठाभन्दा बढी जग्गा किर्ते गरी पास गरेको प्रहरी अनुसन्धानले फेला पारेको छ।

अदालतको आदेशमा भनिएको छ, ‘एउटाको मात्र संलग्नताले उक्त कार्य गर्न सम्भव हुँदैन। किर्ते गरी स्रेस्ता खडा गरी कम मूल्यमा कर्मचारी आफ्नै नाममा दृष्टिबन्धक लिखित पास गराएर राख्नेले समेत कार्यालयभित्रको बेथिति चित्रण गरेको छ। किर्ते स्रेस्ता खडा गरी आफ्ना नाममा सम्पत्ति ल्याउने कुराबाट अपहरण र हत्यासम्मको शृंखला भएको छ।’

यसरी हुन्थ्यो किर्ते

मालपोतका कर्मचारीले मोटो रकम घुस लिएर ‘भूमाफिया गिरोह’लाई सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा पास गर्न सघाएको खुलेको छ। बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका (साविक नेउलापुर गाविस ७) को कित्ता नं। १९१ (ख), ७, ८, ५०, ६१, ६३ को ६ विगाह ३ कठ्ठा १४ धुर जग्गा किर्ते कागज गरी खैरुले सुरुमा बावु मुजिबुल हसन अन्सारीको नाममा जग्गा धनी स्रेस्ता कायम गरी आमा हसरतुन निशा अन्सारीको नाममा नामसारी गरेका छन्। यस कार्यका लागि लेखनदास पप्पुमार्फत मालपोत कर्मचारीलाई १० लाख रुपैयाँ धुस दिएको उनले बयानमा बताएका छन्।

मोठका कर्मचारी र सुब्बालाई भेटेर मोठ नै झोलामा बोकेर होटलमा मोठको पाना १२३, १२८ र नलेखेको पाना १ गरी तीन पाना निकालेर खाली पानामा भित्रैबाट मालपोतका कर्मचारीले लेखी पठाएको व्यहोरा भर्न लगाए र उल्लिखित कित्तासमेत लेख्न लगाई बुवा मुजिबुल हसन अन्सारीको फोटो टाँसेको स्विकारेका छन्। त्यही जग्गा १२ पुस २०७५ मा आमाको नाममा नामसारी गरेका थिए। सोही जग्गामध्ये मालपोत कार्यालयका खरिदार भूमिराज पोखरेलसँग लिखतमा ८ लाख रुपैयाँमा लेखेर ४ लाखमा दृष्टिबन्धक गरेका थिए। खैरुलले बर्दियामा मालपोत कार्यालयका लेखनदास पप्पु धोबी, खरिदार भूमिराज पोखरेल र सुब्बा कृष्णलाल शर्मालाई पोलेका छन्।

मालपोत कार्यालय बाँकेका पियन अन्तराम चौधरीले बयानमा यस्ता काम राति हुने खुलासा गरेका छन्। ‘म राति कार्यालयमै बस्ने भएकाले खैरुल र जुनेद अन्सारी राति आएर मोहीको बारेमा हेर्नु छ भनी मोठ देखाइदिनू भन्ने गर्थे। कार्यालयका चाबी मसँगै हुने भएकाले जग्गाको मोठ देखाइदिन्थें। उनीहरूले पुरानो मोठ हेरी जग्गाको स्रेस्ता कापीमा टिप्ने र फोटोसमेत खिचेर लाने गर्थे’, उनले बयानमा भनेका छन्।

मुख्य अभियुक्त खैरुलले बाँकेमा सिक्टा सिँचाइ आयोजनाको नेपालगन्ज–१८ कारकाँदोको कित्ता नम्बर २१० नम्बरको ५ कठ्ठा १३ धुर जग्गा आमा हसरतुन निशा अन्सारीको नाममा दर्ता गरेका थिए। यही जग्गा २२ साउन २०७४ मा ५ लाखमा दृष्टिबन्धक गरी २२ साउन २०७५ मा फुकुवा भएको थियो। ३२ असारमा २०७५ मा ३० लाखमा दृष्टिबन्धक हुँदासमेत सिक्टा सिँचाइ आयोजनाले पत्तो पाएन।

नगर पञ्चायतको नाममा रहेको वागेश्वरी मन्दिर छेउको नेपालगन्ज–३ को कित्ता नम्बर १४ को ५ कठ्ठा १७ धुर जग्गा जुनेदले सासु लाली मल्लको नाममा पास गर्न खोजेका थिए। खैरुलले बयानमा भनेका छन्, ‘सरकारी जग्गाको पन्ना मोठबाट च्यातेर ल्याई नेपालगन्जको होटल दरबारमा मोठका पुराना खाली पन्नामा मालपोत कार्यालय बाँकेका कर्मचारीले लेखिपठाएको नमुना अनुसार मैले पानामा लेखी जुनेदलाई दिएँ। निजले उक्त पन्ना मोठमा राखी स्रेस्ता कायम गरेको हो।’ जग्गा लाली मल्लको नाममा दर्ता स्रेस्ता कायम गरी जग्गाधनी पुर्जा निकाल्ने अन्तिम प्रक्रियामा थियो। जग्गा पास गर्दा मालपोत कर्मचारीलाई साढे सात लाख रुपैयाँ खर्च गरेको अभियुक्तले स्विकारेका छन्।

सरकारी लापरबाहीका कारण घटना भएको अधिवक्ता विकास आचार्य बताउँछन्। ‘पुराना कागज यति भद्रगोल अवस्थामा राखिँदा पनि व्यवस्थित भएन। कार्यालयमा गैरनेपालीको घुसपेठ भयो र नेपाली सम्पत्तिमाथि हस्तक्षेप भयो। मालपोत प्रणालीमै सुधार जरुरी छ’, उनले भने। अन्नपूर्णबाट ।