९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

वडा कार्यालयहरु अहेवको भरमा

वडा कार्यालयहरु अहेवको भरमा
अ अ+ अ-

बलेवा । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको स्वास्थ्यचौकीका अहेव सुनिल गुप्ता अहिले बिरामीको जाँच र उपचार मात्रै गर्नुहुन्न नजिकै रहेको वडा कार्यालयमा आउने सबै सेवाग्राहीको कामसमेत गर्नुहुन्छ ।

उहाँको काम बिरामी जाँच्ने, औषधि दिने र सल्लाह दिने हो तर गाउँपालिकाको कार्यालयले उहाँलाई वडाका कामको समेत जिम्मेवारी दिएको छ । वडासचिव नभएका कारण उहाँलाई कार्यालयको जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले जानकारी दिनुभयो । गुप्ताजस्तै बडिगाडकै वडा नं १ मा रहेको स्वास्थ्यचौकीमा कार्यरत यानबहादुर श्रेष्ठलाई पनि वडा कार्यालयको समेत जिम्मेवारी दिइएको छ ।

स्वास्थ्यचौकी र वडामा आउने सेवाग्राहीको काम उहाँहरुले पालैपालो गर्ने गर्नुभएको छ । निसीखोला गाउँपालिकाको वडा नं ६ मा अहेव जुनी घर्तीले स्वास्थयचौकी र वडा कार्यालयको काम धान्नुभएको छ भने निसीखोला–४ मा अहेव ताराकुमारी चन्दलाई खटाइएको छ । कार्यालयको कामकारवाहीका लागि सचिवको अभाव रहेका कारण स्वास्थ्य शाखामा काम गर्ने उहाँहरुलाई थप जिम्मेवारी दिएर काम चलाइएको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो । निसीखोला गाउँपालिकाको प्राविधिक काम गर्नका लागि नियुक्त हुनुभएका सहायक कम्प्युटर अपरेटर प्रकाशसिंह धामीलाई पनि दोहोरो जिम्मेवारी दिइएको छ । उहाँले वडा नं २ को कार्यालयको काम पनि गर्दै आउनुभएको छ ।

गल्कोट नगरपालिकामा पनि दुई वडा अहेवलाई नै जिम्मा लगाइएको छ । ११ वडा रहेको गलकोटमा पाँच वडा सचिवले नौ वडा हेर्ने गरेका छन् भने बाँकी दुई वडामा स्थानीय स्वास्थ्यचौकीका अहेवलाई थप जिम्मेवारी दिएर काममा लगाइएको हो । गल्कोट नगरपालिका–२ मा अहेव जमुना कार्की र गल्कोट नगरपालिका–११ मा दिबहादुर श्रीषले स्वास्थ्यचौकीसँगै वडा कार्यालयको कामसमेत गर्दै आउनुभएको छ ।

समायोजनसँगै वडामा कार्यरत कर्मचारी हिँडेपछि बागलुङका अधिकांश वडा कार्यालय सचिवविहीन भएका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका वडा कार्यालयमा काम गर्ने कर्मचारीको अभाव भएको हो । सदरमुकाममा रहेको बागलुङ नगरपालिकामा सात मात्रै वडा सचिव कार्यरत छन् । १४ वडा रहेको नगरपालिकाका बाँकी सात वडा सचिवविहीन छन् । “केन्द्र तथा प्रदेश र अन्य स्थानीय तहमा समायोजन भएका कर्मचारी हिँडे”, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भन्नुभयोे “रहेका केही वडाका सचिवसमेत हिँड्ने तरखरमा हुनुहुन्छ, नयाँ कोही आएका छैनन् ।”

पाँच वडा रहेको बरेङ गाउँपालिकामा एक मात्रै वडा सचिव कार्यरत हुनुहुन्छ । उहाँकै भरमा सबै वडामा पञ्जीकरण दर्ता, चलानीलगायतका काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताउनुभयो । नौ वडा रहेको ढोरपाटन नगरपालिकामा दुई मात्रै सचिव छन् । कर्मचारीको अभावका कारण एकलाई चार वडा र अर्का एकलाई पाँच वडाको जिम्मेवारी दिइएको छ । “वडाध्यक्षले सघाउनुभएको छ, सचिवले नै गर्नुपर्ने कामको जिम्मेवारी दुई जनालाई दिइएको छ”, प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भन्नुभयोे, “कर्मचारीको अभावमा वडा कार्यालय कतै वडाध्यक्षको भरमा छन् भने कतै कार्यालय सहयोगीले काम चलाउनुभएको छ ।”

छ वडा रहेको तमानखोला गाउँपालिकामा दुई, सात वडा रहेको निसीखोला गाउँपालिकामा दुई, १० वडा रहेको बडिगाड गाउँपालिकामा तीन सचिवले काम गर्दै आएका छन् । आठ वडा रहेको काठेखोला गाउँपालिकामा पनि एकमात्रै वडा सचिव कार्यरत छन् । प्रायःसबै वडामा सचिव रहेको यो गाउँपालिका कर्मचारी समायोजनपछि खाली भएको हो । सचिव नभएका वडामा कतै गाउँपालिकाका सहायक कम्प्युटर अपरेटर त कतै स्वास्थ्य शाखामा काम गर्नेलाई जिम्मेवारी दिइएको छ ।