१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाल्पाली ढाकाको अन्तराष्ट्रिय  ‘ब्राण्डिङ’ गरिँदै



अ+ अ-

पाल्पा । पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुआत गरिएको हो ।

लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका, युके एडको सीप नामक परियोजना र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ कार्यक्रम मार्फत ‘ब्राण्डिङ’ गरिँदैछ । ब्राण्डिङ नै गरेर प्रमाणित गरी  पाल्पाली ढाका कपडा चिनाउने अभियानमा जुटेको तानसेन नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिनुभयो । नेपाल र नेपालीको ब्राण्डका रूपमा विदेशमा समेत यसले पहिचान बनाएको उहाँले बताउनुभयो ।

जिल्लामा हस्तकलाका माध्यमबाट उत्पादित ढाका कपडा देशभर उपलब्ध गराइने छ । ढाका उद्योगी सागर महर्जनले भन्नुभयो “अब देशका ठूला सहरमा पाल्पाली ढाका कपडा सहजरूपमा उपलब्ध हुनेछ । यसका लागि पाल्पाली ढाका सङ्घले परियोजनाका माध्यमबाट उत्पादन वृद्धि गर्नेछ । ” 

सङ्घले निश्चित गुणस्तरसहित ब्राण्ड लिएर पाल्पाली ढाकाको कपडालाई बजारमा लैजाने तयारी गरेको छ ।  यसमाथि हातबाट बनेको कपडाको गुणस्तर पनि उत्कृष्ट मानिँदै आएको छ । यस्तो कपडालाई अझ बढी प्रचार–प्रसार गर्न सके उद्यमी र व्यापारीलाई मात्र होइन, नेपालकै अर्थतन्त्रमा समेत सहयोग पुग्न सक्छ । आकर्षक ढाका कपडा उत्पादन गर्ने उद्योगमा दक्ष कामदारको अभावले थियो । कामदार अभावमा ढाका कपडा उत्पादन न्यून मात्रा रहेकामा सीप परियोजनाको सहयोगमा अहिले बन्द उद्योग सञ्चालनमा छन् ।

पाल्पाली ढाका कपडा पाल्पाको मौलिक पहिचान हो । पाल्पा ढाका उद्योगी सङ्गठित भएपछि ढाका कपडा उत्पादन, विविधिकरण, तयारी पोशाक, बजारीकरणमा परियोजनाले सहयोग गरेपछि ढाका कपडाको उत्पादनमा वृद्धि भएको  ढाका उद्यमी मनोज पौड्यालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ बन्द अवस्थामा रहेका उद्योगमा अहिले धमाधम ढाका कपडा उत्पादन हुन थालेसँगै रोजगारीका अवसर सिर्जना भएको छ । ढाका कपडालाई ब्राण्डिङ गर्ने तयारी गरिएको छ । काठमाडौँमा ब्राण्डिङका लागि लोगो प्रदर्शन गरिएको छ । ” 

हस्तकलाको माध्यमबाट पछ्यौरा, टोपी, टाइ, कुर्ता, कोट तथा पर्दाका लागि ढाका कपडा उत्पादन हुन्छ । फुर्सुदका समयमा यहाँका महिला उद्योगमा  ढाका कपडा बुन्छन् । तानसेनकी लक्ष्मी थापाले ढाका कपडा बुनेर मासिक रु आठ हजारभन्दा बढी आम्दानी भएको बताउनुभयो ।  ढाका उद्योगमा ढाका कपडा, तयारी पोशाक उत्पादनबाट पाल्पामा महिलाले रोजगारी पाएका छन् । यसले घर खर्च, परिवारको लालनपालनका केही खर्चको व्यवस्थापन गर्न सहज भएको हो । महिलाहरू सामान्य खर्चका लागि अरुको भर पर्ने दिनहरु ढाका कपडा बुन्न थालेपछि हटेको हो ।

रम्भा गाउँपालिकाकी उषा सिंजालीले हस्तकलाको प्रयोग गरी ढाका कपडामा बुट्टा बनाउन खप्पिस हुनुभएको छ । ढाका कपडा उत्पादनका क्रममा हात तथा खुट्टाको एकसाथ प्रयोग गर्नुपर्छ । तानमा पहिला धागो हाल्ने र डिजाइन गर्ने हो । हस्तकलाको प्रयोग गरी विभिन्न प्रकारका बुट्टाहरु भर्ने चलन छ । मसिनो काम भएकाले एक मिटर ढाका कपडा उत्पादन गर्न झण्डै तीन–चार दिन लाग्छ । यसरी ढाका कपडा बुनेर आम्दानी गर्न पाउँदा यहाँका महिला उत्साहित बनेकाछन् ।