१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीमा डेढ दशक लामो मर्केल युगको अन्त्य



अ+ अ-

जर्मनीमा १६ वर्षपछि एन्जेला मर्केलको युग समाप्त भएको छ । अहिले ओलाफ शुल्ट्जले जर्मनीको नयाँ चान्सलरका रूपमा देशको नेतृत्व गर्नुभएको छ । सन् २००५ मा तत्कालीन चान्सलर हेल्मुट कोलमाथि धेरै गम्भीर आरोप लाग्दा मर्केलले जर्मनीको नेतृत्व गर्नुभएको थियो । त्यतिबेला हेल्मुट कोलले एन्जेला मर्केलको हातमा देशको कमाण्ड सुम्पिनुभएको थियो ।

मर्केललाई राजनीतिमा नयाँ पहिचान दिनमा पनि हेल्मुट कोलको हात थियो । मर्केललाई आफ्नो सरकारमा सबैभन्दा कनिष्ठ मन्त्रीका रूपमा समावेश गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो । त्यसपछि मर्केलले लगातार राजनीतिक खुड्किला चढ्दै जानुभयो । हेल्मुट कोल आरोपले घेरिएपछि मर्केललाई उहाँको पार्टी क्रिस्चियन डेमोक्र्याटिक युनियन (CDU) को नेता चुनिएको थियो। मर्केलले जर्मनीलाई खराब समयबाट मात्रै निकाल्नुभएन, विश्वव्यापी मञ्चमा नयाँ पहिचान पनि दिनुभयो ।

आफ्नो कार्यकालमा उहाँले शरणार्थीका लागि ढोका खोलिदिनुभयो । जर्मनीले सिरियासहित विश्वभरबाट सबैभन्दा धेरै शरणार्थीहरूलाई शरण दिएको थियो। इरानसँगको आणविक सम्झौता होस् वा जलवायु परिवर्तन वा अन्य विश्वव्यापी मुद्दाहरूमा उठाइएका कदमहरू, मर्केलले आफ्नो भूमिका र महत्त्व सबैमा प्रमाणित गरिसक्नुभएको छ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट बाहिरिने घोषणा गर्दा ट्रम्पलाई त्यसो नगर्न सल्लाह दिने मर्केल मात्रै हुनुहुन्थ्यो । यद्यपि ट्रम्पले उहाँको कुरा सुन्नुभएन र आफूलाई सम्झौताबाट टाढा राख्नुभयो ।

मर्केलको १६ वर्षको कार्यकाल उत्कृष्ट रह्यो र यस अवधिमा जर्मनीले पनि धेरै प्रगति गरेको थियो । जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो। यस अर्थमा पनि जर्मनी र यसको चान्सलरको राजनीतिक कद निकै ठूलो छ । यो आफ्नो अन्तिम राजनीतिक पारी हो भनेर मर्केलले पहिले नै घोषणा गरिसक्नुभएको थियो । ६७ वर्षकी मर्केलका कुनै सन्तान छैनन र उहाँ घुम्न निकै मन पराउनुहुन्छ ।

अब चान्सलर ओलाफ शुल्ट्जले आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ। शुल्ट्ज यसअघि देशको अर्थमन्त्री हुनुहुन्थ्यो । उहाँ देशको नवौं र एसडीपी पार्टीको चौथो चान्सलर हुनुहुन्छ । यसबाहेक शुल्ट्ज ह्याम्बर्गको मेयर पनि बनिसक्नुभएको छ । उहाँको सरकारमा दोस्रो उच्च कद रोबर्ट हबेकको छ, जसलाई डेपुटी चान्सलर बनाइएको छ। यसबाहेक उहाँलाई अर्थ तथा जलवायु संरक्षणमन्त्रीको जिम्मेवारी पनि दिइएको छ । साथै क्रिस्टियन लिन्डनरलाई अर्थमन्त्री, अन्नालेना बेरबाचलाई विदेशमन्त्री, न्यान्सी फासरलाई गृहमन्त्री र क्रिस्टिन ल्याम्ब्रेटलाई रक्षामन्त्री बनाइएको छ ।