काठमाडौं । नेपाली काँग्रेसले नेपालको संविधानको प्रावधान र व्यवस्था तथा भावनाको प्रतिकूल हुने गरी मन्त्रिपरिषदले निर्णय गरी संघीय संसदमा दर्ता गरेका विधेयक फिर्ता गर्न सरकारसँग माग गरेको छ ।
बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले तीनवटा विधेयकप्रति आपत्ति जनाउदै ती तीनवटै विधेयक संविधान विपरित रहेको ठहर गर्दै फिर्ता लिन माग गरेको हो ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सरकारले सदनमा लगेको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार, मिडिया काउन्सिल र मानव अधिकारसम्बन्धी विधेयक संविधानको मर्म र भावना विपरीत भएको जनाएका छन् ।
उनले सरकारले विधेयकहरू फिर्ता नलिए सदन र सडकबाट प्रतिवाद गर्न काँग्रेस तयार रहेको बताए ।
‘ संविधानको पालना र रक्षा गर्ने मूल दायित्व सरकारको हो । तर वर्तमान सरकारले संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी विभिन्न विधेयकहरु संघीय संसदमा दर्ता गराएको छ’ संसदीय दलको बैठकपछि काँग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।