काठमाडौं । भक्तपुरको इन्जिनियरिङ कलेजको छानबिन रोक्न ७८ लाख घुस लिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक अदालतमा हाजिर भएका छन् ।
पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् । अहिले अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान भइरहेको छ ।
यस मुद्दामा पाठकसँगै नेपाल इन्जिनियरिङ कलेका सञ्चालक लम्बोदर न्यौपानेलाई पनि विपक्षी बनाईएको छ । पाठकसँग अनुसन्धान अधिकृतले यसअघि झन्डै ६ घण्टा बयान लिएको थियो ।
राष्ट्रिय जनता पार्टी नेपालका नेता ज्ञानेन्द्र झाले कलेजका अध्यक्ष न्यौपानेले ७८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त पाठकलाई बुझाएको स्वीकार गरेका छन् ।
आयोगका तत्कालीन आयुक्त पाठकको रकम लेनदेनसम्बन्धी अडियो–भिडियो प्रकरणमा मुछिएका झाले अख्तियारसँगको बयानमा आफूले पाठकलाई उक्त रकम बुझाएको स्वीकार गरेका हुन्।
पाठक र उनका परिवारको सम्पत्ति विवरण खोज्ने काम पनि भइरहेको छ। अख्तियारका सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली पाठकको हरेक क्रियाकलापको निगरानी गर्दै अनुसन्धानमा तल्लीन छ।
पाठकले घुस लिएको सार्वजनिक भएपछि फागुन ३ गते राजीनामा दिएका थिए।