काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको बताएका छन् । उनले उक्त सामथ्र्य र योगदानलाई हालको नेकपाका नेताहरुलाई अवमूल्यन नगर्न आग्रह गरे ।
प्रचण्डले भने, माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो,उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदा हुँदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ ।
तत्कालिन एमालेको युवा संगठन युवासंघ नेपालको २९ औं स्थापना दिवसमा बोल्दै प्रचण्डले केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई आफूले लाइन लाएर प्रधानमन्त्री बनाएको बताए ।
उनले आगामी दिनमा अझै नयाँ प्रयोग गरेरमात्र मर्ने चाहना रहेको भन्दै आफूलाई साथ दिन तत्कालिन एमालेका नेता कार्यकर्तालाई आह्वान गरे ।